युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी
gorkhapatraonline.com · Sun Aug 23 11:32:26 GMT 2026

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका बेला देशमा चुनाव गराउनु निकै जोखिमपूर्ण हुने बताउनुभएको छ । पूर्वरक्षामन्त्रीले चुनाव गराउनुपर्ने माग गरेपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । “यस्तो युद्धका बेला चुनाव गराउनु आफैँमा ठूलो जोखिम हो । अहिलेको अवस्थामा चुनाव गराउनु देशका लागि सुनामी सरह हुनेछ, जसले युक्रेनलाई विभाजित गर्नेछ”, जेलेन्स्कीले भन्नुभयो ।
रुसी सेनाविरुद्ध युद्धमा केन्द्रित युक्रेनले ‘मार्शल ल’ लागू भएपछि चुनाव स्थगित गरेको छ । जनताले पनि अहिले चुनाव नगराउने निर्णयलाई व्यापक समर्थन गरेको बताइएको छ । “यदि हामी देशलाई ध्वस्त पार्न चाहन्छौँ भने मात्रै युद्धका बेला चुनाव गराउने दिशामा अघि बढ्न सक्छौँ”, ४८ वर्षीय जेलेन्स्कीले भन्नुभयो । उहाँले शनिबार एएफपीलगायत सञ्चार माध्यमका पत्रकारसँग ब्रिफिङ गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)