बढ्दो सवारी चाप
gorkhapatraonline.com · Mon Aug 24 02:49:28 GMT 2026

काठमाडौँ उपत्यकामा सवारी चाप प्रमुख समस्या बनेको छ । साना सवारीसाधनको सङ्ख्या बढेसँगै सडकमा सवारीसाधनको चाप बढेको हो । सडक जामले भनेको समयमा निर्धारित दुरी पार गर्न कठिन भएको छ । विकासशील मुलुकका कतिपय सहर जस्तै राजधानी काठमाडौँमा पनि केही दशकमै सवारीसाधनको चाप बढोत्तरी भइरहेको छ । अहिले नेपालभरि कुल ५८ लाख सवारीसाधन दर्ता छन् । तीमध्ये ठुलो सङ्ख्या काठमाडौँ उपत्यकामै मात्र केन्द्रित छ । देशभर एक लाख किलोमिटरभन्दा बढी सडक सञ्जाल भए पनि सवारीको चाप सहरकेन्द्रित छ । मोटरसाइकल तथा साना चारपाङ्ग्रे सवारीसाधनको चाप बढी जसो राजधानीकेन्द्रित हुँदा धेरै सहर बहुसमस्याले घेरिएको छ । सवारी चाप बढिरहेको छ । वायु तथा ध्वनिप्रदूषण बढिरहेको छ । सहरी जीवन कोलाहलपूर्ण हुँदै छ । घरबाहिर निस्किएपछि धेरै समय सडकको जाममा बिताउनु पर्दा समय खेर गइरहेको छ । एक जना मानिसले सडकमा दिनमा एक घण्टा बिताउनु भनेको उसको श्रम पनि खेर जानु हो । एक जनाको एक घण्टा समय सामान्य लाग्न सक्छ तर दिनमा लाखौँ मानिस हरेकको एक घण्टाले दिनमै लाखौँ घण्टा खेर जान्छ । अर्थशास्त्रले श्रम सञ्चय गर्न सकिँदैन भन्छ । दिनमै लाखौँ घण्टा श्रम खेर जाँदा त्यसले उत्पादनमा के कति असर गर्ला ?
आखिर समय भनेको पुँजी हो । समयको व्यवस्थापनबाटै कतिपय मुलुकले आर्थिक सम्पन्नता हासिल गरेका छन् । जापान तथा पश्चिमा देशमा कुनै पनि कार्यव्रmम निर्धारित समयभन्दा एक÷दुई मिनेट पनि यताउता हुँदैन तर नेपालमा समयमा काम भए आश्चर्य हुन्छ । निर्धारित समयमा काम बिरलै हुन्छ । यसमा अहिले सडक जाम पनि थप कारण बनेको छ । सहरी क्षेत्रमा सवारीसाधन तीव्र रूपमा बढ्दै जाँदा प्रदूषण र ट्राफिक जाम मुख्य चुनौती बनिरहेको छ । यसले मानव स्वास्थ्य र दैनिकीमा गम्भीर असर पार्दै छ । उपत्यका तथा ठुला सहरको वायु गुणस्तर सूचकाङ्क हानिकारक तहमा पुगेको पाइनु पनि आगामी दिनमा अझ ठुलो चुनौती हो । सवारी चापभित्र अनेक आयाम छन् । पुराना र अत्यधिक सवारीसाधनका विषाक्त धुवाँले श्वासप्रश्वास, मुटुरोग र मानसिक तनावका बिरामी बढेका छन् । सहर कोलाहलपूर्ण बन्दै छ । सडकको क्षमताभन्दा बढी सवारीसाधन हुँदा दैनिक घन्टौँ जाम नियति बनेको छ । काठमाडौँ उपत्यकामा अहिले दुईदेखि तीन किलोमिटर यात्रा गर्दा करिब १० मिनेट जाममा बस्नुपर्ने बाध्यता विडम्बनासमेत हो । यसबाट समय र इन्धन दुवैको बर्बादी हुन्छ । सवारी जाम र चाप घटाउन के कस्ता नीति, योजना र कार्यव्रmम ल्याउने ? यसमा गम्भीर हुने बेला आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)