पालिकामार्फत लाइसेन्स वितरण
gorkhapatraonline.com · Mon Aug 24 04:04:54 GMT 2026

महोत्तरीको बर्दीबासस्थित यातायात व्यवस्था कार्यालयले सेवाग्राहीको सहजताका लागि स्थानीय तहमै पुगेर सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको छ ।
लामो समयदेखि कार्यालयमा छापिएर थन्किएका लाइसेन्स सम्बन्धित पालिकामार्फत वितरण गर्न थालिएको हो । लाइसेन्स लिनकै लागि बर्दीबासस्थित कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले पालिकासँग समन्वय गरी वितरणको व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख राकेश यादवका अनुसार तयार अवस्थामा रहेका लाइसेन्सको स्टक सम्बन्धित पालिकासम्म पु-याइएको छ । पालिकाले वडा कार्यालयमार्फत सम्बन्धित सेवाग्राहीलाई लाइसेन्स हस्तान्तरण गर्ने व्यवस्था मिलाउने छन् । “सेवाग्राहीले आफ्नै गाउँठाउँबाट लाइसेन्स पाउन सकुन् भन्ने उद्देश्यले पालिकासँग समन्वय गरी वितरणको व्यवस्था मिलाएका हौँ,” यादवले भन्नुभयो । कार्यालयका अनुसार पिपरा गाउँपालिकाबाहेक महोत्तरीका सबै स्थानीय तहमा पालिकामार्फत लाइसेन्स वितरणको काम सम्पन्न भइसकेको छ । यसबाट लामो समयदेखि कार्यालयमै थन्किएका लाइसेन्स सम्बन्धित सेवाग्राहीको हातसम्म पु-याउन सहज भएको कार्यालयको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)