एघार सांसदका जवाफ दिँदै प्रधानमन्त्री
gorkhapatraonline.com · Tue Aug 25 01:18:03 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहसँग भदौ १० गतेका लागि तय भएको प्रश्नोत्तरमा ११ सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन् । १५ वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले प्रश्न दर्ता नगराएका हुन् । रास्वपाका सांसदले सात वटा प्रश्न दर्ता गर्न पाउने भए पनि तीन वटा मात्र दर्ता गरेका छन् । अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन् ।
सभामुख डोलप्रसाद अर्यालले प्रश्नोत्तरको समय तोक्दै भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देश गर्नुभएको थियो । तोकिएको अवधिमा ११ वटा प्रश्न दर्ता भएका छन् । प्रश्नमाथि औपचारिक रूपमा भदौ १० गतेको बैठकमा प्रधानमन्त्री शाहले जवाफ दिनुहुने छ । संसद् सचिवालयका अनुसार रास्वपाबाट अमरेशकुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बाँस्कोटाले प्रश्न दर्ता गराउनुभएको छ । यस्तै प्रश्न दर्ता गर्ने अन्य सांसदमा नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरुङ हुनुहुन्छ । यस्तै नेकपा (एमाले) का ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न दर्ता गर्नुभएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वर्षमान पुन र प्रमेश हमालले प्रश्न दर्ता गर्नुभएको छ । श्रम संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुश्बु ओलीले प्रश्न दर्ता गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)