इरानको चेतावनीः ‘आक्रामक पक्ष’को शर्तमा युद्ध अन्त्य हुन दिँदैनौँ
emountaintv.com · Tue Aug 25 04:23:26 GMT 2026

इरानले आफ्नो मुलुकविरुद्ध आक्रामक देखिएका पक्षहरूको शर्तमा युद्धको अन्त्य हुन नदिने स्पष्ट पारेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सोमवार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा यस्तो धारणा राखेका हुन् । प्रवक्ता बाघेईले इरानले कहिल्यै पनि युद्धको सुरुवात नगरेको स्मरण गराउँदै आक्रामक पक्षले राखेका सर्तहरूका आधारमा युद्ध टुङ्ग्याउन नदिने बताए । उनले इरान आफ्नो क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको रक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै ‘आक्रामक पक्ष’सँग कुनै पनि सम्झौता नगर्ने र उनीहरूको ’अत्यधिक माग’सामु नझुक्ने दृढता व्यक्त गरे । अमेरिकाले स्ट्रेट अफ हर्मुज खुला रहेको र त्यहाँबाट दैनिक लाखौँ ब्यारेल तेल आपूर्ति भइरहेको भनी गरेको दाबीलाई बाघेईले खारेज गरिदिएका छन् । उनले यसलाई अमेरिकाको ‘मनोवैज्ञानिक र सञ्चार युद्ध’को संज्ञा दिए । यसैगरी, वासिङ्टनले हालै घोषणा गरेको इरानविरोधी आर्थिक अभियानको कडा आलोचना गर्दै प्रवक्ता बाघेईले अमेरिकी प्रतिबन्धलाई स्वतन्त्र व्यापार र राष्ट्रिय सार्वभौमसत्तामाथिको प्रहारका रूपमा चित्रण गरे । उनले अमेरिकी प्रतिवन्धको सामना गर्न इरानले आफ्ना सबै ‘बहुपक्षीय क्षमता’को उपयोग गर्ने समेत जानकारी दिए ।
इरानले अमेरिकी सैन्य अपरेसनमा सहयोग पु¥याउने अन्य मुलुकहरूलाई समेत चेतावनी दिएको छ । बाघेईले अमेरिकी नौसैनिक नाकाबन्दीलाई ‘आक्रमणको कार्य’ भन्दै, यदि कुनै मुलुकले आफ्नो सैन्य आधार इलाका, सुविधा वा उपकरण इरानविरुद्ध प्रयोग गर्न दिएमा, इरानले त्यस्ता आक्रमणको स्रोतलाई निशाना बनाउने अधिकार सुरक्षित राख्ने स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)