जब घरको ढोकामा सदाका लागि ताला लाग्यो…
janaaastha.com · Sat Feb 13 17:26:38 UTC 2021
मिना वाइबा
सानै उमेरमा दिमागले थेग्न र बोक्नै नसक्ने भारी क्रान्ति र आन्दोलनले सुम्पिएको छ । मैले कसरी बोक्न सक्नु ? मलाई स्मरण हुन्छ, २०५७ साल मंसिर ५ गते म आठ कक्षामा पढ्थे । झोलामा किताब च्याप्दै म विद्यालय पढ्न जाँदै थिएँ । एक्कासी पूर्व क्षितिजबाट हावा वेगवान गतिमा हुँइकिँदै आएको अनुभूति भयो । केही समयपछाडि महान योद्धा नुवाकोटको भूमिमा ढलेको सन्देश छोडेर गयो । एक्कासी आएको दुःखद सन्देशले मभित्र भुकम्प चल्यो । सारा जमिन भासिएको अनुभूति भयो । घरमा खैलाबैला सँगै रुवाबासी चल्न थाल्यो । मेरो स्वच्छ र पवित्र हृदयभित्र कालो र अँध्यारो संसारले जन्म लियो भने आमाको छोरासँग पहिलो विछोडले जलेर खरानी भएको हृदय देख्दा मन पीडाले छटपटी चल्यो । त्यसबेला परिवारको पहिलो सदस्यको बलिदान स्वीकार्न कति गाह्रो भयो । त्यो क्षणको स्मरण गर्दा पनि कहाली लाग्छ । मेरो परीक्षा चलिरहेको थियो । परीक्षाको बिचमा प्रिय दाजु गुमाउनुपर्दाको त्यो क्षणले क्रान्ति र विद्रोहप्रति मेरो ध्यान केन्द्रित भयो । क्रान्तिको परिभाषा बुझ्न मन उत्सुक भयो । समयले नै मलाई विद्रोह गर्न सिकायो । त्यसपछि बदलाभावले कसिएका मुठ्ठीहरु उठाउँदै २०५८ साल मंसिर ५ गतेदेखि महान् मुक्तिको बाटोमा आबद्ध भएँ म ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)