मोरङमा सिल गरिएका आँखा अस्पतालहरुको ताला खुल्यो, कारबाही सिफारिस भने अलपत्र
annapurnapost.com · Tue Aug 25 14:04:21 GMT 2026

विराटनगर : कानुन तथा मापदण्डविपरीत सञ्चालन गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङको अगुवाइमा सिल गरिएका विराटनगरका आँखा अस्पतालहरुको ताला मंगलबार खोलिएको छ। कोशी प्रदेश स्वास्थ्य मन्त्रालयको पत्राचारपछि प्रशासनले सिल खोलेको हो।
ताला खुलेसँगै सम्बन्धित आँखा अस्पतालमा बिरामीको उपचारसमेत सुरु भएको छ। साउन २७ र २८ गते जिल्ला प्रशासन कार्यालय मोरङ र कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले विराटनगरका ६ वटा आँखा अस्पताल र एउटा प्रयोगशालामा सिलबन्दी गरेको थियो। सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाको नेतृत्वमा भएको अनुगमनमा स्वास्थ्य संस्थाहरूले कानुनी तथा प्राविधिक मापदण्ड पालना नगरेको भेटिएको थियो ।अनुगमनपछि तयार पारिएको प्रतिवेदनमा ती संस्थामाथि कानुनी प्रक्रिया अघि बढाउन सिफारिस गरिएको थियो। सामान्य ‘आँखा उपचार केन्द्र’को अनुमति लिएर अस्पताल सञ्चालन गरिएको, स्वीकृति नलिएका सेवा सञ्चालन गरिएको, जटिल शल्यक्रिया गरिएको, अस्पतालको नाममा व्यापारिक प्रचारप्रसार गरिएको तथा नवीकरण नभएका संस्थासमेत सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)