१४औं चितवन महोत्सवको तयारी शुरू
abhiyandaily.com
चितवन । नेपालकै ठूलो महोत्सवमध्ये परिचित चितवन महोत्सवको तयारी शुरू गरिएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले पुस २५ देखि माघ ४ गतेसम्म नारायणी नदी किनारस्थित प्रदर्शनी मैदानमा महोत्सव हुनेछ । महोत्सवका लागि मैदान सम्याउने, चौर व्यवस्थापन तथा स्टल बुकिङलगायतका काम शुरू गरिएको जिल्ला उद्योग वाणिज्य संघले जानकारी दिएको छ । संघका अध्यक्ष चुननारायण श्रेष्ठले हरेक दुई वर्षमा हुने महोत्सवको तयारी शुरू गरिएको बताए । उनका अनुसार यसपटकको महोत्सवमा करीब पाँच सय स्टल रहनेछन् ।
महोत्सवले देशको आर्थिक गतिविधिलाई चलायमान बनाउने र व्यवसायीलाई राहत पुग्ने विश्वास संघले लिएको छ । यसपटकको महोत्सव पर्यटन प्रवद्र्धनमा केन्द्रित रहने अध्यक्ष श्रेष्ठले बताए । ‘पर्यटनले हरेक आर्थिक क्षेत्रलाई छुने गर्छ,’ श्रेष्ठले भने, कोरोनापछि चितवन पर्यटकका लागि सुरक्षित छ भन्ने सन्देश पनि जान्छ ।’
कोरानापछि चितवनमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा कमी आएकोले यसको प्रवद्र्धन गर्न पनि पर्यटनलाई बढी प्राथमिकता दिएको उनको भनाइ छ । महोत्सवका लागि शुरुआतमा गरिने काम भइरहेको र निर्वाचनपछि प्रचारप्रसारलगायत अन्य व्यवस्थापनमा लागिने उनले बताए ।
संघका निर्देशक निलबहादुर केसीले मङ्सिर १ गतेदेखि स्टल बुकिङको काम शुरू गरिएको बताए । हालसम्म १७५ स्टल बुकिङ भइसकेको उनले जानकारी दिए । ‘ल्याण्ड अफ डाइभर्सिटी’ मूल नाराका साथ शुरू गरिने महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनका स्टललाई प्राथमिकता दिइने बताइएको छ । यसबाहेक, सूचनाप्रविधि, अटोमोबाइल, होटेल, रेष्टुराँ, फेन्सीलगायतका स्टलहरू रहनेछन् । स्टलमा ‘मेड इन नेपाल’ र ‘मेड इन चितवन’का उत्पादनलाई बढी प्रवद्र्धन गरिने उनको भनाइ छ । संघका सदस्यहरूका लागि स्टल बुकिङमा २० प्रतिशत छूट गरिएको छ । महोत्सव सम्पन्न गर्न प्रायोजक तथा सहप्रायोजकको खोजी संघले गरिरहेको छ ।
भरतपुर महानगरपालिका र जिल्ला समन्वय समितिको सहकार्यमा हुन लागेको महोत्सवको बाँकी काम निर्वाचनपछि गरिनेछ । गतवर्ष कोरोनाका कारण १३औं चितवन महोत्सव ३ दिन सञ्चालन भएर बन्द गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)