भैरहवामा ‘लुम्बिनी राष्ट्रिय महोत्सव’ मङ्सिर २३ देखि
abhiyandaily.com
भैरहवा । ‘पर्यटन, कृषि र उद्योगको बृहत्तर विकास, राष्ट्रिय समृद्धिको आधार’ नाराका साथ भैरहवामा आठौं लुम्बिनी राष्ट्रिय महोत्सव हुने भएको छ । सिद्धार्थनगर उद्योग वाणिज्य संघको आयोजनामा यही मङ्सिर २३ गतेदेखि पुस ४ गतेसम्म मेला हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले स्वदेशी, गुणस्तरीय वस्तु तथा सेवाहरूको उपभोगप्रति उपभोक्तालाई जागरुक बनाउन मेलाको आयोजना गरिएको बताए । साथै आर्थिक गतिविधि बढाउने पनि मेलाको उद्देश्य रहेको न्यौपानेको भनाइ छ ।
विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठान, स्थानीय घरेलु तथा साना उद्योग, महिला उद्यमी व्यवसायीले भाग लिने लुम्बिनी महोत्सव, २०७९ मा दुई सय ५० स्टल रहनेछन् । मेलामा आउने दर्शकलाई लुम्बिनीसँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राममा अवस्थित पुराताŒिवक पर्यटकीय क्षेत्रहरूमा विशेष प्याकेज बनाई भ्रमणको व्यवस्था गराइने न्यौपानेले बताए ।
‘महोत्सवबाट आन्तरिक एवं बाह्य पर्यटकको आगमनमा वृद्घि हुने तथा भारतीय सीमावर्ती शहरबाट पनि सहभागिता हुने अपेक्षा रहेको छ,’ मेला आयोजक मूल समितिका संयोजकसमेत रहेका न्यौपानेले भने, ‘यसले पर्यटन प्रवद्र्धन एवं आर्थिक गतिविधि चलायमान हुने विश्वास लिइएको छ ।’
संघका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले उपभोक्ता र उत्पादक एवं किसानहरूको प्रत्यक्ष भेटघाट हुने महोत्सवबाट यस भेगमा उत्पादित कृषिजन्य वस्तु माछा तथा यस क्षेत्रका कुटिर, घरेलु एवं राष्ट्रियस्तरका उद्योगबाट उत्पादित उत्पादनको विशेष प्रदर्शनी गरिने जानकारी दिए । करीब दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको १० दिने मेलामा करीब रू. १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको श्रेष्ठले बताए । महोत्सबाट थप अर्थिक गतिविधि चलायमान हुने उनको भनाइ छ ।
विसं २०६१ देखि दुई वर्षको अन्तरालमा उद्योग वाणिज्य संघको आयोजनामा भैरहवामा लुम्बिनी पर्यटन महोत्सव हुँदै आएको छ । भूकम्प गएको वर्ष, मधेश आन्दोलनका बेला र गतवर्ष कोभिडका कारण हुन नसके पनि अबका वर्षमा नियमित आयोजना हुने अध्यक्ष न्यौपानेले जानकारी दिए । भैरहवाको अञ्चलपुरमा सञ्चालन गरिने मेलाको प्रवेश शुल्क रू. ५० तोकिएको छ । विद्यार्थीसँग रू. ३० मात्र शुल्क लिइने आयोजकले बताएको छ । रासस
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)