नेपालगन्ज भन्सारमा ६ महिनामा १३०% राजस्व असुली
karobardaily.com · Sun Jan 24 18:12:09 UTC 2021
नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा १३०.५५ प्रतिशत राजस्व असुली गरेको छ । चालु आर्थिक वर्षको पुस मसान्तको लक्ष्य ७ अर्ब ५८ करोड रहेकोमा ९ अर्ब ९० करोड अर्थात १३०.५५ प्रतिशत राजस्व असुली गरेको हो । यो रकम लक्ष्य भन्दा २ अर्ब ३२ करोड रुपैया बढी भएको कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले बताए ।
गत आर्थिक वर्ष २०७६-०७७ मा लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको कार्यालयले यस वर्ष भने उत्साहजनक रुपमा राजस्व असुली गरेको हो । गत आर्थिक वर्षको पुस मसान्तमा ७ अर्ब ९८ करोड लक्ष्य रहेकोमा ५ अर्ब ९१ करोड असुली प्रगती गरेको थियो । चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको सोही अवधीको तुलनामा करिव ४ अर्ब बढी असुली भएको कार्यालयले जनाएको छ । गत आर्थिक २०७६-०७७ मा ११ अर्ब ७७ करोड अर्थात लक्ष्यको ७६ प्रतिशत मात्रै राजस्व असुली गरेको थियो । कार्यालयको यस वर्ष १५ अर्ब १८ करोड ९२ लाख ८५ हजार राजस्व असुली गर्ने लक्ष्य रहेकोमा ६ महिनामा करिव १० अर्ब राजस्व संकलन भइसकेकोले सो लक्ष्य सजिलै पूरा हुने संकेत देखिएको प्रमुख भन्सार अधिकृत भण्डारीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)