क्षणभरमै बाढीमा बिलायो ढुङ्गे बजार
gorkhapatraonline.com · Thu Aug 27 00:25:21 GMT 2026

किस्पाङ–५, नयाँपुल नुवाकोटस्थित ‘त्रिशूली थ्री बी’ मा कार्यरत ३२ वर्षीय सुरज श्रेष्ठ बिहान ९ बजे विद्युत् आयोजना निर्माणस्थलबाट निस्किँदा बाढी आउने कुनै सङ्केत पाएका थिएनन् । करिब तीन किलोमिटरमुनि ढुङ्गे बजारतर्फ नपुग्दै बाढीले पछ्याएको दृश्य देखेपछि उहाँ सहकर्मी गणेश प्रसाईंसँगै उकालो लाग्नुभयो । बाढीको दृश्य र आवाजले त्रसित बनेका उहाँहरू दुवै जना करिब चार किलोमिटर वनै वनको यात्रा गरेपछि बट्टार बजार आइपुग्नुभयो ।
उहाँहरू दुवै जना त्रिशूली थ्री ‘बी’ मा कार्यरत अन्य सहकर्मीको अवस्थाबारे बुझ्न विदुरस्थित श्री नं. १ मैथली ब्यारेकअगाडि अपराह्न १ बजेदेखि नै पर्खिनुभएको थियो तर साँझ ७ बजेसम्म पनि उहाँहरूले आशाका कुनै खबर पाउनुभएन । चार दर्जनभन्दा बढी व्यक्ति राति करिब ८ बजेसम्म ब्यारेकअगाडि सम्पर्कमा नरहेका आफन्त तथा परिवारजनबारे नेपाली सेनाका अधिकारीसमक्ष जानकारी गराएका छन् । मैथली ब्यारेकका अनुसार त्रिशूली बजार वरिपरिका क्षेत्रबाट बुधबार साँझ ६ बजेसम्म ३९ जनाको उद्धार गरिएको छ । उनीहरूको गणमै प्राथमिक उपचार गरिएको छ । सघन उपचारको आवश्यकता भएकालाई काठमाडौँ पठाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)