भोटेकोशी वितण्डामा अकल्पनीय क्षति : कम्तीमा ९५ जनाको मृत्यु, हजारौं बेपत्ता
annapurnapost.com · Thu Aug 27 01:52:07 GMT 2026

भोटेकोशीमा अप्रत्याशित रूपमा आएको बाढीका कारण अकल्पनीय क्षति भएको छ। भीषण बाढीले रसुवा, नुवाकोट र धादिङका रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, बेत्रावती, त्रिशूलीबजार, देवीघाटलगायतका बस्तीहरूमा ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ। हालसम्म मानवीय र अन्य क्षतिको यथार्थ विवरण प्राप्त भइनसके पनि प्रभावित क्षेत्रका धेरै नागरिक, सुरक्षाकर्मी र कर्मचारी सम्पर्कविहीन भएका छन्।
बुधबार राति अबेरसम्ममा कम्तीमा ९५ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ। प्रभावित क्षेत्रमा कार्यरत ४४ जना नेपाली सेना, २८ नेपाल प्रहरी र १३ सशस्त्र प्रहरी सम्पर्कविहीन छन्। प्रभावित क्षेत्रमा ३ सय ९१ जना विदेशी र ९३ जना स्वदेशी पर्यटक सम्पर्कविहीन छन्। प्रभावित क्षेत्रका विद्युत् आयोजनामा कार्यरत ६० जना कर्मचारी सम्पर्कविहीन छन्। रसुवागढी भन्सार, अध्यागमन कार्यालय, स्थानीय पालिकामा कार्यरत कर्मचारी पनि सम्पर्कविहीन छन्। बाढीले १९ वटा मोटरेबल पुल र ४० किलोमिटर पक्की सडक क्षतिग्रस्त बनाएको छ। ठूलो संख्यामा स्थानीय बासिन्दाहरू सम्पर्कमा छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
