देशभर बदली र वर्षाको सम्भावनाः कोशी, वागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी
emountaintv.com · Thu Aug 27 04:16:48 GMT 2026

काठमाडौं । जल तथा मौसम विज्ञान विभागकाअनुसार आज देशभरको मौसममा साधारणतया बदली रहने देखिएको छ । देशका विभिन्न प्रदेशहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । विभागले सार्वजनिक गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका पहाडी भू–भागका धेरै स्थानहरूमा र हिमाली क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । तराई क्षेत्रतर्फ वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेस र कोशी प्रदेशका थोरै स्थानहरूमा वर्षा हुने देखिएको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली एवं पहाडी भू–भागका साथै लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । त्यसैगरी, आज राति पनि देशभर साधारणतया बदलीकै अवस्था रहनेछ । कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षाको पूर्वानुमान गरिएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानहरूमा पनि वर्षा र हिमपात हुन सक्ने देखिएको छ । रातिको समयमा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Share this:
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)