पलेँटीमा शाहका गीत गुन्जिने
gorkhapatraonline.com · Thu Aug 27 04:16:35 GMT 2026

गीतकार तथा अभिनेता नीर शाहका गीत मीना पोखरेल र रूपक चौधरीको स्वरमा ‘पलेँटी’ मा गुञ्जायमान हुने भएका छन् । हरेक अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’ शालामा आयोजना हुँदै आएको साङ्गीतिक ‘पलेँटी’ कार्यक्रममा शाहद्वारा रचित गीत सुन्न पाइने भएको हो । शाह लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील रहँदै आएका अभिनेता तथा निर्देशक हुनुहुन्छ । उहाँले रचना गर्नुभएका गीतले लामो समयदेखि नेपाली सङ्गीत क्षेत्रलाई तरङ्गित बनाउँदै आएको छ ।
उहाँका ‘पर्खी बसेँ आउला भनी’, ‘कहिलेकाहीँ म हाँस्छु’, ‘गहिराइमा डुब्दै नडुब’, ‘अधरको मुस्कान त केही होइन’, ‘बादल बनाइदेऊ’, ‘हिउँभन्दा चिसो’ लगायतका कालजयी गीत रहेका छन् । शाहद्वारा रचित चलचित्रका गीतमा ‘आँखैमा कसैको तस्बिर बसेछ’, ‘जति निर्मल’, ‘छोरी मलाई भागी भागी’, ‘यो साँझ यो सुवास’ पनि लोकप्रिय छन् । सङ्गीतकार नातिकाजी, शम्भुजित बाँस्कोटा, सिके रसाइली र दीप श्रेष्ठले धुन भरेका शाहका गीत ‘पलेँटी’ मा प्रस्तुत हुन लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)