आवश्यकताका योजना प्राथमिकतामा
gorkhapatraonline.com · Thu Aug 27 04:42:28 GMT 2026

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आवश्यकताका आधारमा छनोट भएका योजनालाई सरकारले प्राथमिकता दिने बताउनुभएको छ । उहाँले धनगढीमा पत्रकारसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । मुख्यमन्त्री भट्टले पूर्वाधार क्षेत्रका टुक्रे योजनाको बेथितिलाई सकेजति घटाउँदै लगिने र रुग्ण योजनालाई सम्पन्न गरिने पनि बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसका लागि हामीले नीतिगत, संरचनागत, प्रक्रियागत सुधार गरेर अगाडि बढ्छौँ । जनताको विश्वास गुम्न दिने छैन ।”
मुख्यमन्त्रीले विगतका सबै बेथिति, विसङ्गति रोक्न सरकार केन्द्रित हुने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विगतमा बेथिति कसरी भयो भन्ने विषयमा समीक्षा गरेर त्यसलाई निराकरण गर्न कानुनी र प्राविधिक तयारी पनि गरिने छ ।” उहाँले प्रदेशमा बजेटको सङ्कट हल गर्न छिटोभन्दा छिटो राम्रो बजेट ल्याउने उपाय अपनाइने पनि बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)