आकाशे पानीको भरमा खेती, लमजुङमा धान रोपाइँ प्रभावित
himalpress.com · Mon Jul 13 09:19:00 GMT 2026

लमजुङ- कुनै समय असार लागेसँगै खेतमा रोपाइँको चहलपहल बढ्थ्यो। असारभित्रै अधिकांश खेतमा धान रोपाइँ सकिन्थ्यो। साउन लाग्दा नलाग्दै रोपाइँ भएको खेत हरियाली छाएको देखिने किसानको परम्परागत क्यालेन्डर थियो। तर पछिल्ला वर्षमा मौसममा आएको परिवर्तनसँगै रोपाइँ हुने समय असारमा वर्षाद् नहुँदा पानीको अभावमा किसानको विगतको ‘क्यालेन्डर’ फेरिन थालेको छ।
यो वर्ष असार सकिन लाग्दा खोला र खोल्सामा पानी नहुँदा अहिलेसम्म लमजुङका धेरै खेतमा रोपाइँ हुन सकेको छैन। अझै पनि किसान पानी पर्ने आशामा आकाशतिर हेरिरहेका छन्। धान रोपाइँको मुख्य समय मानिने असारको अन्त्यसम्म पनि जिल्लामा अपेक्षित रूपमा रोपाइँ हुन नसक्दा कतिपय किसान चिन्तित छन्। समयमा पर्याप्त वर्षा नहुँदा सिँचाइ सुविधा नभएका क्षेत्रका किसान बढी प्रभावित भएका छन्। कतिपय स्थानमा खोलाको पानी, कुलो तथा अन्य वैकल्पिक स्रोत प्रयोग गरेर रोपाइँ भइरहेको छ भने धेरै किसान अझै वर्षाको प्रतीक्षामा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)