डायस्पोराको योगदान संसद्मा नसमेटिएकोमा एनआरएनए सचिव खत्रीको आपत्ति: ‘सहयोग गर्दा किन लुकाइयो ?’
ratopati.com · Wed Sep 02 17:24:03 GMT 2026

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सचिव दिपेश खत्रीले बाढी तथा पहिरो प्रभावितका लागि विदेशमा रहेका नेपाली र एनआरएनएबाट प्राप्त सहयोगलाई सरकारले संसद्मा सार्वजनिक गरेको विवरणमा नसमेटेको भन्दै गम्भीर प्रश्न उठाएका छन् । प्रधानमन्त्रीले हालै प्रतिनिधिसभामा बाढीपीडितका लागि विभिन्न मित्रराष्ट्रबाट प्राप्त सहयोग र रकमको विवरण सार्वजनिक गरे पनि त्यसमा डायस्पोराको योगदान कतै नदेखिएको भन्दै सचिव खत्रीले सरकारको ध्यानाकर्षण गराएका हुन् । विपद्का बेला सरकार आफैँले विदेशमा रहेका नेपालीसँग सहयोगको अपिल गर्ने र सोही आह्वान अनुसार ठुलो परिमाणमा सहयोग हस्तान्तरण हुँदा पनि राज्यको आधिकारिक अभिलेख र सम्बोधनमा त्यसको चर्चा नहुनु दुःखद भएको उनको भनाइ छ ।
सचिव खत्रीले सरकारको यस्तो व्यवहारप्रति कडा असन्तुष्टि जनाउँदै सङ्कटका बेला ‘देशका लागि सहयोग गर्नुस्’ भन्ने तर सहयोग प्राप्त भइसकेपछि उनीहरूको योगदानलाई बेवास्ता गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारेका छन् । विश्वभर छरिएर रहेका करिब ८० लाख नेपाली डायस्पोरालाई राज्यले कसरी हेरिरहेको छ भन्ने कुरा यस घटनाले गम्भीर प्रश्न उठाएको उनले बताएका छन् । डायस्पोराको योगदानलाई केवल आर्थिक सहयोगको रूपमा मात्र सीमित गरेर हेर्न नहुने तर्क गर्दै खत्रीले विदेशमा रहेका नेपालीसँग आर्थिक स्रोतका साथै ज्ञान, सीप, प्रविधि, लगानी र विश्वव्यापी सञ्जाल जस्तो अमूल्य ‘मानव पुँजी’ रहेको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)