जेलेन्स्कीको चेतावनी लगतै किभमा रुसको आक्रमण, कम्तीमा आठको मृत्यु
annapurnapost.com · Thu Jul 02 04:51:59 GMT 2026

रुस : रुसी मिसाइल र ड्रोन आक्रमणमा युक्रेनको राजधानी किभमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । यो आक्रमण युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले मस्कोबाट ‘ठूलो आक्रमण’ हुन सक्ने चेतावनी दिएको केही घण्टापछि भएको हो । किभ सैन्य प्रशासनका प्रमुख तिमुर तकाचेन्कोका अनुसार बिहीबार राति र बिहान भएको आक्रमणले सहरभरका करिब तीन दर्जन स्थानलाई निशाना बनाएको थियो । किभका मेयर भित्ताली क्लिच्कोले टेलिग्राममार्फत ३४ जना घाइते भएको जानकारी दिएका छन् ।
क्लिच्कोले सुरुमा नै ‘किभमाथि ब्यालिस्टिक मिसाइल र ड्रोनबाट आक्रमण भइरहेको छ’ भन्दै जानकारी दिएका थिए । उनले प्रत्यक्ष आक्रमणमा परेको ९ तले आवासीय भवनमा मानिसहरू फसेको र एउटा अग्लो अपार्टमेन्ट भवनको ठूलो भाग भत्किएको पनि बताएका छन् । समाचार संस्था एएफपीका पत्रकारहरूले किभको मध्य र पूर्वी क्षेत्रमा एक दर्जनभन्दा बढी विस्फोटको आवाज सुनेका थिए । त्यसैबेला युक्रेनी वायुसेनाले ब्यालिस्टिक मिसाइलहरू किभतर्फ आइरहेको चेतावनी दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)