वैध नागरिकता नभएको स्वीकार गरे रवि लामिछानेले
nepalghatana.com · Thu Nov 17 08:30:47 GMT 2022
नागरिकता विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूसँग वैध नागरिकता नभएको स्वीकार गरेका छन्। उनको नागरिकताको वैधताबारे निर्वाचन कार्यालयले छानबिन गरिरहेको छ।
आयोगको छानबिन नटुङ्गिँदै उनी आफैँले’ अध्यागमनमा निवेदन दिएपछि अन्य प्रक्रियामा नगएको’ स्वीकार गर्दै आफूले प्रयोग गरिरहेको नागरिकता अवैध भएको पुष्टि गरेका छन्।
विदेशी नागरिकता लिँदा खारेज भएको नेपाली नागरिकता लिन अध्यागमनमा निवेदन दिनु पहिलो चरणको प्रक्रिया मात्र हो।
खारेज भएको नागरिकता ब्युँताउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गएर नयाँ नागरिकता लिन अपनाउनुपर्ने सबै प्रक्रिया अपनाएपछि मात्रै खारेज भएको नागरिकता ब्युँतन सक्छ।
उकेराले यसबारे उनीसँग कुरा गर्न प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेका छैनन्। बिहीबारको कान्तिपुर दैनिकमा उनको भनाई छापिएको छ जसमा उनले खारेज भएको नागरिकता ब्युँताउन अपनाउनुपर्ने प्रारम्भिक प्रक्रिया सुरु भएको तर नटुङ्गिएको पुष्टि भएको छ।
‘अमेरिकाको नागरिकता फिर्ता गरेपछि र अध्यागमनसँगको समस्या समाधान भएपछि अरू प्रक्रियामा गइएन,’ कान्तिपुर दैनिकसँग रवि लामिछाने भन्छन्’त्यसपछि कतै पनि प्रश्न उठेन।’
उनले कानुनी दायित्व अनुसार अमेरिकी नागरिकता लिए पनि नेपालमा जानकारी नदिएको स्वीकार गरिसकेका छन्। जब उनीसँग दोहोरो नागरिकता भएको पोल खुल्यो उनले गल्ती भयो भन्दै अमेरिकी नागरिकता त्याग्ने प्रक्रियामा गए। उनी विदेशी नागरिक रहेको पुष्टि भएसँगै उनले नेपालबाट लिएको २०५० को नागरिकता खारेज भयो।
उनले खारेज भएको नागरिकता ब्युँताउन निवेदन दिए पनि प्रक्रिया पूरा गरेनन्। उनले नै यो स्वीकार गरेकाले उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचित भए पनि खारेज भएर उप-निर्वाचनमा जाने सम्भावना बढेको छ।
उकेराडटकमबाट साभार
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)