चुनावका लागि गाउँ फर्किएनन् मजदूर
abhiyandaily.com
बागलुङ । सिन्धुपाल्चोकका २७ वर्षीय भीम पगरी दुई महीनादेखि मध्यपहाडी लोकमार्गको घोँडाबाँधे–गलकोट खण्डमा काम गर्दै आएका छन् । यसपटक चुनावको अघिल्लो दिन पनि उनी काममै व्यस्त छन् ।
यसअघिका चुनावमा मतदान गरेका पगरी यसपटक भने मत हाल्न गाउँ फर्किएनन् । ‘गाउँमा काम पाइएन, मेरो परिवार निकै गरीब छ, विगतमा नेताहरूले रोजगारी दिन्छौं भनेर गरेको वाचा पूरा गरेनन्, त्यही भएर यसपालिको चुनावमा भोट हाल्न गएनौं,’ उनले भने, ‘यहाँबाट गाउँ पुग्दा सात हजार खर्च हुन्छ, यति धेरै खर्च गरेर भोट हालेर जिताए पनि नेताहरू हाम्रो मुखमा फर्किएर हेर्दैनन्, बरु यहाँ काम गरियो भने दुई–चार हजार कमाइ हुन्छ ।’ गाउँमा कुनै काम नपाएपछि बागलुङ आएका पगरीलाई आइतवार प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन हुँदै छ भन्ने थाहा छ । तर उनी मतदान गर्न गाउँ गएनन् । पटकपटक मतदान गर्दै आएका उनले भोट दिएर जिताएका नेताले गरीब, दु:खी र मजदूरका लागि काम गर्न नसक्दा आफूहरू भौतारिएर काम खोज्दै बागलुङ आउनुपरेको बताए ।
काभ्रेका २१ वर्षीय दिपेश मगर पनि पगरीकै समूहमा काम गरिरहेका छन् । गाउँमा चुनावी रौनक शुरू भएपछि बागलुङ आएका उनलाई निर्वाचनबारे कुनै चासो छैन । परिवारमा आर्थिक समस्याका कारण मजदूरीका लागि बागलुङ आएको बताउने उनीसँग पनि दुईपटक मतदान गरेको अनुभव छ । नेताका आश्वासनका कारण विदेश जानबाट रोकिएका मगर बाध्यताले बागलुङसम्म आएको बताउँछन् ।
‘म रहरले बागलुङमा काम गर्न आएको होइन, मेरो परिवार निकै गरीब छ, राम्रोसँग खानलाउन पुग्दैन, स्थानीय तहको निर्वाचन आउनुभन्दा केही दिन अगाडि म विदेश जाने तयारी गरेको थिएँ, गाउँका एक जना नेताले काम दिलाइदिन्छु भने, तर चुनाव जितेको यतिका महीना बितिसक्दा पनि काम नपाएपछि यहाँ आएको हुँ,’ मगरले भने, ‘विदेश जान लागेको मान्छेलाई यही काम दिलाउने भनेर आशा देखाए, अहिले यति टाढा आएर काम गर्नुपरेको छ, गाउँमा एउटा सामान्य काम मिलाइदिएको भए म किन यहाँ आउनुपथ्र्यो र ?’ एक दिन काम नगरे खान नपुग्ने भन्दै उनले धेरै खर्च लाग्ने भएकाले पनि गाउँ नगएको बताए ।
रामेछापका २३ वर्षीय दिनेश खत्री दुई महीनादेखि यही सडक खण्डमा ढुंगा बोक्ने र गिट्टी, बालुवा मुछ्ने काम गर्दै आएका छन् । उनले पनि आफू रामेछापबाट बागलुङसम्म रहरले नभई बाध्यताले आउनुपरेको बताए । चुनावका लागि गाउँबाट भोट हाल्न नेताहरूको फोन आए पनि वास्तै नगरी काम गरिरहेको उनको भनाइ छ ।
खत्रीले भने, ‘हामी रहरले होइन, बाध्यताले यहाँ आएका हौं, घरमा स–साना छोराछोरी छन्, काम नगरेसम्म उनीहरूको लालनपालन गर्न समस्या हुन्छ, गाउँ नजिक केही काम पाइएन, अहिले यहाँ बाटोको काम गरिरहेका छौं, चुनाव आयो भोट हाल्न आउनुपर्यो भनेर गाउँबाट फोन आउँछ, भोट हालेर हामीहरूले गाउँमै रोजगारी पाउने भए त जान हुन्थ्यो, तर काम पाइन्न ।’
गाउँबाट धेरै युवा रोजगारीका लागि देश–विदेशमा भौतारिँदा जनप्रतिनिधिले यसतर्फ ध्यान नदिएको उनको गुनासो छ । चुनावका बेला रोजगारीका मुद्दालाई नेताहरूले बढी जोड दिए पनि काम भने गर्न नसकेको उनले बताए । उनले भने, ‘नेताले हामीलाई भोटका लागि मात्रै प्रयोग गरिरहेका छन्, हाम्रा लागि कुनै काम गरेका छैनन्, गाउँमा राम्रोसँग विकास पनि हुन सकेको छैन, भाषणमात्रै ठूला–ठूला काम भने गर्दैनन्, दिनदिनै युवाहरू रोजगारीका लागि गाउँ छोडिरहेका छन्, तर जनप्रतिनिधिले भने यसतर्फ ध्यान दिन सकेका छैनन्, चुनावका बेला रोजगारीका बारेमा ठूला भाषण गर्छन्, चुनाव सकिएपछि कहाँ हराउँछन्, पत्तो हुँदैन ।’ रासस
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)