रूपन्देहीको सीमामा सुरक्षा कडा
abhiyandaily.com
भैरहवा । आइतवार हुने मतदानलाई लक्षित गरी रूपन्देहीको सीमा नाका बेलहियालाई कडा बनाइएको छ । सीमामा कडाइ गरिएसँगै दुवैतर्फ मालवाहक गाडीको लामो लाइन लागेको छ । नेपालबाट भारत जाने खाली गाडीका साथै नेपाल भ्रमणमा आएका भारतीय पर्यटक र नेपालमा मतदानका लागि आउँदै गरेका नेपाली पनि रोकिएका छन् ।
मङ्सिर १ गते राति १२ बजेदेखि नेपाल–भारत सीमा बन्द हुने भनिए पनि व्यावहारिक रूपमा त्यो सम्भव नहुने देखेपछि कडा जाँच गरी सुरक्षाकर्मीले दुवैतर्फका सर्वसाधारणलाई आवागमन गर्न दिएका छन् । सीमामै भेटिएका रूपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठले बिरामी, बिरामी बोकेको गाडी, अत्यावश्यक सामान बोकेका मालवाहक गाडी, नेपालमा रहेका भारतीय र भारतमा रहेका नेपाली मतदातालाई केही बेर ‘होल्ड’ गरी आवागमन गर्न दिइएको बताए ।
सीमामा नेपालबाट भारत फर्किने मालवाहक ट्रकको लामो लाइन लागेको छ । नेपाल र भारतका सुरक्षाकर्मीसँगै भारतीय उच्च अधिकारीले पनि सीमामा निगरानी गरिरहेका छन् । भारत महाराजगञ्जका सहायक डिस्ट्रिक्ट मजिष्ट्रेट दिनेशकुमार मिश्रले पनि नेपालमा हुने निर्वाचनका क्रममा भारतबाट पूर्ण रूपमा सहयोग र समन्वय रहने बताए । रूपन्देहीमा नेपाल र भारतबीच करीब ६० किलोमिटर खुला सीमा रहेको छ । यी सीमा नाकामा अहिले सशस्त्र प्रहरीसँगै नेपाल प्रहरी पनि खटेको छ ।
रूपन्देहीका सात सय दुई मतदान केन्द्रमा सबै कर्मचारी पुगिसकेको जिल्ला निर्वाचन अधिकृत अयोध्याप्रसाद भण्डारीले जानकारी दिए । फिल्डमा सुरक्षाकर्मीसहित पुगेको मतदान अधिकृतको टोलीले निर्वाचनलाई सफल बनाउन विभिन्न मुचुल्का बनाई टाँस गरेको छ । मतदान अधिकृतको टोलीले स्थानीय राजनीतिक दलहरूसँग शुक्रवार सर्वदलीय छलफलसमेत गरेको बेलहिया माविमा खटेका मतदान अधिकृत जगतबहादुर बस्नेतले बताए । रासस
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)