देशभर पेट्रोलियम आपूर्ति ठप्प पार्ने व्यवसायीको चेतावनी
mahendranagarpost.com · Tue Mar 08 04:37:59 GMT 2022
काठमाडौं-राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले सरकारसमक्ष ६ बुँदे मागपत्र पेश गर्दै माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ। समितिले नेपाल आयल निगमसमक्ष मागपत्र पुनः पेश गर्दै सो माग पूरा नभए चैत ५ गतेबाट आन्दोलन गर्ने जनाएको छ।
नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन तथा नेपाल पेट्रोलियम दुवानी व्यवसायी महासंघ आवद्ध व्यवसायीहरु सम्मिलित उक्त समितिले आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ।
समितिले पेट्रोलियम ऐन बनाई तत्काल लागू गर्नुपर्ने तथा एलपीजी विनियमावली, बिक्रेता विनियमावली तथा दुवानी नियमावली सम्बन्धित व्यवसायीक संस्थाको प्रतिनिधि सहितको सहभागीतामा परिमार्जनसहित संशोधन गर्नुपर्ने लगायतका माग राखेको छ।
मागपत्रमा आयल निगममार्फत पेट्रोलियम व्यवसायिक प्रतिष्ठानको कारोबारमा हालको अवस्था तथा भविष्यमा गरिनुपर्ने सुधार तथा योजनाबारे अध्ययन गरी लागू गर्नुपर्ने, सरकारले यातायात क्षेत्रमा लागू गरेको वैज्ञानिक भाडादर पेट्रोलियम ढुवानी साधनमा समेत लागू हुनुपर्ने तथा पेट्रोलियम बिक्रेताले प्रतिशतमा पाउदै आएको कमिशन स्थगन भएकोमा फागुन १९ गतेबाट नै पाउनुपर्ने माग गरिएको छ। यस्तै, एलपी ग्यास ढुवानी गर्ने साधनको भाडादर स्वचालित हुनुपर्ने माग समेत राखेको छ।
माग पूरा नभए समितिले चैत ५ देखि १५ गतेसम्म गर्ने गरी आन्दोलनका कार्यक्रमहरू पनि घोषणा गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)