खाना पकाउन ग्यासभन्दा सस्तो र सजिलो हुन्छ इन्डक्सन चुल्हो, तर किन बढेन प्रयोग?
bizmandu.com · Fri Apr 01 05:27:48 GMT 2022
काठमाडौं। खाना पकाउन एलपीजी ग्यासभन्दा इन्डक्सन चुल्हो प्रयोग गर्नु सस्तो र छिटो हुने विभिन्न अध्ययनहरुको निष्कर्ष छ। तैपनि अपेक्षा गरिए अनुसार इन्डक्सनको प्रयोग बढ्न भने सकेको छैन।
प्रणालीमा पर्याप्त विद्युत रहेको भन्दै खपतका बढाउन इन्डक्सन चुल्हो प्रयोग गर्न विद्युत प्राधिकरण र ऊर्जा मन्त्रालयले सार्वजनिक रुपमै आह्वान गरिरहेका छन् । तर अपेक्षाकृत रुपमा इन्डक्सन चुल्होको प्रयोग प्रभावकारी हुन सकेको छैन। खाना पकाउँदा पकाउँदै ग्यास सकियो भने फोन गरेका भरमा घरमा सिलिण्डर आइपुग्छ, बत्ती गए के हुन्छ?
त्यसैले इन्डक्सन पत्यारिलो बन्न सकेको छैन। तर हिजोआज बिजुली गइहाले पनि लामो समय काटिँदैन। उद्योगलाई कम दिएर भए पनि विद्युत प्राधिकरणले घरायसी उपभोक्तालाई सजिलोसँग बिजुली दिएको छ। इन्डक्सनले हिटर जस्तो धेरै बिजुली खपत गर्दैन। भान्सामा राख्न र चलाउन सजिलो छ। यसमा उपभोक्तालाई ग्यास चुल्होभन्दा कम खर्च पर्छ।
विद्युतीय चुल्हो प्रवर्द्धनका लागि सरकारले भन्सार शुल्क घटाएर १ प्रतिशत मात्रै लिदै आएको छ। आर्थिक वर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रममा विशेष योजना समावेश गर्न लागेको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। एलपीजी ग्यास मात्र भारतबाट बर्सेनि ३४ अर्ब बराबरको आयात भइरहेका बेला विद्युतीय इडक्सन चुल्होलाई विशेष महत्व दिएर योजना ल्याउन लागिएको छ।
सरकारले तयार पारेको राष्ट्रभर निर्धारित योगदान (एनडीसी) ले सन २०२५ भित्र ५ लाख विद्युतीय चुल्हो र सन् २०३० भित्र २५ प्रतिशत घरधुरीमा चुल्हो पुर्याउने लक्ष्य राखेको छ। सन् २०३० भित्रै दिगो विकास लक्ष्यले ९९ प्रतिशत घरधुरीमा विद्युत पुर्याउन र हाल करिब ७० प्रतिशत रहेको दाउराको उपयोगलाई घटाएर ३० प्रतिशतमा झार्ने लक्ष्य राखेको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका नायब उप-कार्यकारी निर्देशक नवराज ढकाल विद्युतीय चुल्हो प्रवर्द्धनका लागि केन्द्रले विशेष जोड दिएर विभिन्न पालिकाहरुमा विशेष योजना सञ्चालन गरिरहेको बताउँछन ।
नेपाल विद्युत प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालय प्रमुख मनोज सिलवालले बाहिर नभएपनि शहरी एरियाहरुमा भने इन्डक्सन चुल्हो प्रयोगकर्ता बढिरहेको बताए। ’हामीले विद्युत आपूर्तिमा गुणस्तर बढाउनै पर्नेछ। त्यस अनुसारको हामी कामहरु गरिरहेका छौं,’ उनले भने, 'बिजुली गुणस्तरीय र नियमित छ भन्ने विश्वास भयो भने विद्युतको खपत बढ्न थाल्छ। इन्डक्सन प्रयोग पनि बढ्न थाल्छ।’ उनले अहिले विद्युतीय चुल्होको प्रयोग अपेक्षाकृत नहुनुमा त्यसमा प्रयोग हुन भाँडाकुँडाहरु पनि हुन सक्ने बताए। ग्यासमा प्रयोग हुने र इन्डक्सनमा प्रयोग हुने भाडाकुडा फरक खालको हुन्छ। शहरी क्षेत्रमा घरभाडामा बस्ने धेरै हुन्छन्। सोही कारण कोठामा धेरै थरिका भाडा राख्न समेत असहज हुन्छ।
सिलवालले प्राधिकरणले मागे जति विद्युत दिन तयार अवस्थामा रहेको दाबी गरे। ’हामी प्रणाली अपग्रेड गर्नुपर्ने कुरामा सहमत छौं। चरणबद्ध रुपमा काम गरिरहेका छौं,’ उनले भने,’इन्डक्सन प्रयोग गर्दा खर्च र समय दुवै बच्छ, यसैमा जानुपर्छ।’
विद्युत प्राधिकरणका अनुसार, वर्षामा विद्युत खेर जाने तथा हिउँदमा भने भारतबाट आयात गरेर व्यवस्थापन गर्नुपर्ने बाध्यात्मक अवस्था छ। भारतबाट ३० देखि ४० प्रतिशतसम्म विद्युत आयात गरेर माग पुरा गर्नुपरेको प्राधिकरणले जनाएको छ।
कति पर्छ सस्तो ?
त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ संस्थान, ऊर्जा अध्ययन केन्द्रका प्रमुख प्राडा. जगन्नाथ श्रेष्ठले गरेको अध्ययनले एलपीजी ग्यासभन्दा इन्डक्सनमा खाना पकाउदा धेरै सस्तो हुने देखिएको छ। अध्यययन अनुसार, ६ प्रकारका ऊर्जाबाट खाना पकाउँदा सबैभन्दा छिटो र सस्तो हुनेमा इन्डक्सन नै देखिएको छ। अध्ययनमा आधा किलो चामललाई एलपीजी ग्यासमा पकाउँदा करिब १२ मिनेट समय लाग्ने देखिएको भने इन्डक्सनमा करिब ८ मिनेटमै पकाउन सकिने देखिएको छ। त्यस्तै ग्यासमा पकाउँदा ०.३२ किलोवाट आवर ऊर्जा खपत भएकोमा इन्डक्सनमा ०.१४ किलोवाट आवर मात्रै ऊर्जा खपत भएको देखाइएको छ।
अध्ययन हुने समयमा विद्युतको मूल्य प्रति युनिट १२ रुपैयाँ र ग्यासको मूल्य प्रतिसिलिण्डर १३ सय रुपैयाँ हुँदा पनि ग्यासमा पकाउँदा २.५ रुपैयाँ खर्च लाग्ने परिमाणलाई इन्डक्सनमा १.५ रुपैयाँ भन्दा कम खर्च लाग्ने देखिएको थियो।अहिले बिजुलीको मूल्य प्रतियुनिट १० रुपैयाँ भन्दा तल झरेको छ भने ग्यासको मूल्य बढेर १५७५ सय रुपैयाँ पुगेको छ। यसको अर्थ ग्यासबाट खाना पकाउँदा लाग्ने लागत उक्त परिमाणमा थपिएको छ भने इन्डक्सनको लागत भने घटेको छ।
सुरक्षा निकायमा इन्डक्सन
केही समय अघि ऊर्जामन्त्री पम्फा भुसालले सुरक्षा निकायसँग इन्डक्सन चुल्होबारे छलफल गरेकी थिइन। नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरीसँग संस्थागत चुल्होमा इन्डक्सन प्रयोग गर्ने विषयमा छलफल उनले गरेकी हुन्।
छलफलमा सुरक्षा निकायले इन्डक्सन चुल्हो प्रयोग गर्न रहेका समस्याहरुबारे जानकारी गराएका थिए। तीनवटा सुरक्षा निकायले मात्रै करिब ५० करोड रुपैयाँको ग्यास प्रयोग गर्ने गरेका छन्। त्यसका लागि खाना पकाउन हाल प्रयोग भइरहेका भाडाकुडा हटाउनुपर्ने, विद्युत प्रसारणलाइन र भरपर्दो बिजुलीको व्यवस्था लगायत हुनुपर्ने बताएका थिए। मन्त्रालय र विद्युत प्राधिकरणले सरकारी निकायमा ग्यासको सट्टा विद्युतीय चुल्हो प्रयोगबारे छलफल भने गरिरहेको छ।
’प्राधिकरणका कर्मचारीले ग्यास छाडेर इन्डक्सन जोड्न सुरु गर्नुपर्छ’
विद्युत प्राधिकरण र ऊर्जा मन्त्रालयका अधिकारीहरुले इन्डक्सन चुल्हो प्रयोग गर्नका लागि आग्रह गरिरहे पनि आफैंले भने प्रयोग नगरेको गुनासो धेरैको छ। प्राधिकरणका कर्मचारीले आ–आफ्नो घरमा रहेको एलपीजी ग्यास छाडेर इन्डक्सन चुल्हो प्रयोग गरे सर्वसाधारणको पनि विश्वसनीयता बढ्ने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का उपाध्यक्ष गणेश कार्कीको भनाइ छ।
’प्राधिकरणका कर्मचारीले ग्यास छाडेर विद्युतीय चुल्हो प्रयोग गर्नुपर्छ। उनीहरुले त्यसो गर्न सके भने सबैले प्रयोग गर्न थाल्छन,’ उनले भने, ’ऊर्जा मन्त्री, सचिव लगायत सबै सरकारी कर्मचारीबाट यो सुरुवात गर्नुपर्छ।'
खपत बढाउन इन्डक्सन चुल्होलाइ प्राथमिकता दिनुपर्नेमा उनको जोड छ। त्यसका लागि निम्न आय भएकाहरुलाइ अनुदान दिने, भन्सार शुल्क हटाउने लगायत गर्नुपर्ने उनको भनाइ छ। हाल ग्यासमा सरकारले ६६५ रुपैयाँ बराबरको अनुदान दिइरहेकाले इडक्सन चुल्होमा समेत अनुदान दिन सकेमा यसले पनि चुल्हो प्रवर्द्धनमा सहयोग पुग्ने उनको तर्क छ।
'विद्युत महसुल भान्सामैत्री छैन’
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालका अध्यक्ष नारायण ज्ञवालीले अहिलेको विद्युत महसुल भान्सामैत्री नभएको बताएका छन्। उनका अनुसार भान्सामा इन्डक्सन चुल्हो मात्रै नभएर अन्य उपकरणहरु समेत प्रयोग हुन्छ।
खाना पकाउन इलेक्ट्रिक राइस कुकर प्रयोग हुन्छ भने ओभन खाना तताउनका लागि प्रयोग हुन्छ। यसैगरी फ्रिज खाना नबिग्रियोस् भनेर प्रयोग गर्ने गरिएको छ। जुन २४ सैं घण्टा चल्छ। ’धेरै सामानहरु भान्छामा प्रयोग हुन्छ, ५ एम्पियरले थाम्दैन, १५ एम्पियर गराउनपर्छ,’ उनले भने, ’१५ एम्पियर प्रयोग गर्दा उपभोक्ता महसुल धेरै आउँछ।’ सोही कारण भान्सा मैत्री हुनेगरी सेवा शुल्क खारेज गर्नुपर्ने उनले तर्क छ।
सरकारले १ देखि २० युनिट निःशुल्कसहित २१ देखि ३० युनिट, ३१ देखि ५० युनिट, ५१ देखि १०० युनिट र १०१ देखि २५० युनिटसम्मका लागि छुट्टाछुट्टै महसुल निर्धारण गरेको छ। इडक्सन चुल्हाको लागि उपयोग हुने १०१ देखि २५० युनिट प्रयोग गर्नेले ९.५० रुपैयाँ प्रति युनिट र १२५ रुपैयाँ सेवा शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ। धेरै महसुल तिर्नुपर्ने भएकाले धेरैले विद्युतीय सामाग्री प्रयोग नगर्ने उनको भनाइ छ।
ज्ञवालीका अनुसार, इन्डक्सन प्रयोग बढाउनका लागि विद्युत महसुल भान्सामैत्री र उपभोक्तालाइ यसको प्रयोग र सुरक्षाबारे चेतना दिनुपर्छ। इन्डक्सन बिग्रियो भने त्यसको मर्मतको व्यवस्था स्थानीय रुपमै हुनुपर्ने भए पनि कम्पनी खोज्दै हिड्नुपरे अर्को समस्या हुने उनी बताउँछन्। घरहरुका वाइरिङका दरिलो हुनुपर्ने साथै प्राधिकरणले बत्ती बल्ने मात्रै सिस्टम बनाएकाले इन्डक्सन समेत चलाउन मिल्नेगरी अपग्रेड गर्नुपर्ने उनको भनाइ छ।
पछिल्लो समय नेपाली बजारमा चिनियाँ र भारतीय विभिन्न खालका इन्डक्सन चुल्होहरु देखिन थालेका छन्। ८२ प्रतिशत माथि इनर्जी इफिसेन्सी भएका चुल्हो प्रयोग गर्न उपयुक्त हुने विज्ञहरुको भनाइ छ। ८२ प्रतिशतभन्दा कम इनर्जी इफिसेन्सी भएका चुल्होहरु किन्नु हुँदैन। ३५ सय देखि १२ हजारसम्म पर्ने चुल्होहरु बजारमा उपलब्ध छन्। त्यसमा प्रयोग गर्ने भाडाहरु फलाम र स्टीलबाट बनेको हुनुपर्छ। अथवा बजारमा इन्डक्सन प्लेट भनेर किन्न पाइन्छ।
महासंघले काभ्रेको तिमालमा ५७० वटा घरमा विद्युतीय चुल्हो प्रवर्द्धन गरेको छ। नमुना प्रोजेक्टका रुपमा काभ्रेको तिमालमा जर्मन संस्था जीआइजेड, अजम्बरी विकास फाउण्डेसन र महासंघ मिलेर बिजुली चुल्हो प्रवर्द्धन गरिएको हो। चुल्हो किन्दा १२५० रुपैया अनुदान, ६ महिनासम्म बिजुली बिलमा १५० का दरले ९ सय रुपैयाँ सहयोग, २१५० रुपैयाँ वाइरिङ अपग्रेडका लागि सहयोग दिएर प्रवर्द्धन गरिएको हो। उनीहरुलाइ चुल्हो प्रयोग सम्बन्धी तालिम समेत दिइएको महासंघले जनाएको छ।
एक्स्पोमा विद्युतीय चुल्हो प्रवर्द्धन
शनिबारदेखि राजधानीमा हिमालय हाइड्रो एक्स्पो आयोजना हुँदैछ। उक्त एक्स्पोमा विद्युत उत्पादनका लागि चाहिने प्रविधि, मेसिन, सामाग्रीहरु राखिदैछ।
एक्स्पोमा विद्युत उत्पादनका लागि चाहिने प्रविधि, मेसिन, सामाग्रीहरु राखिदैछ। उत्पादनपछि वितरणका लागि आवश्यक ट्रान्सफर्मर, प्रसारण प्रणाली र वितरणका सामाग्रीहरु राखिनेछ। संगै वितरण भएको विद्युत प्रयोग गर्ने सामाग्री समेत राखिनेछ।
तीन दिनसम्म चल्ने एक्स्पोमा इन्डक्सन चुल्होसम्बन्धी जानकारीमुलक सामाग्री र त्यहा उठेका प्रश्नहरुको जवाफ दिन ’टक सो’ समेत आयोजना हुने आयोग स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ले जनाएको छ।
’त्यहाँ धेरैवटा इन्डक्सन चुल्हो लगायत विद्युतीय उपयोगका सामाग्रीहरु राखिन्छ। हाम्रो मुख्य उद्देश्य त्यसबारे बढीभन्दा बढी जानकारी दिने हो,’ इप्पान उपाध्यक्ष कार्की भने,’ताकि मानिसले इन्डक्सनले चुल्होबारे सबै खालका जानकारी पाऊन र उनीहरुको भ्रम हटोस्।’ यो पटकको एक्स्पोमा आन्तरिक खपत बढाउन इप्पानले इन्डक्सन चुल्होको प्रयोग सम्बन्धी जनचेतना बाँड्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (bizmandu.com)