रु १५ अर्ब २४ करोड बराबरको विद्युत् भारततर्फ निर्यात
ajakoartha.com · Fri Dec 08 14:35:00 GMT 2023
काठमाडौँ - यस वर्षको वर्षायाममा रु १५ अर्ब २४ करोड बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।प्राधिकरणले यस वर्षको जेठदेखि २० मङ्सिरसम्ममा एक अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी रु १५ अर्ब २३ करोड ८० लाख आर्जन गरेको हो । प्राधिकरणले यस अवधिमा दैनिक रुपमा अधिकतम सात सय मेगावाटसम्म विद्युत् निर्यात गरेको थियो । निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ७७ पैसा छ ।चालु आर्थिक वर्ष २०८०र८१ को साउनदेखि २० मङ्सिरसम्ममा रु १३ अर्ब २३ करोड ६७ लाखको विद्युत् निर्यात गरिएको छ । यस अवधिमा एक अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको छ । निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ९६ पैसा छ ।
सुक्खायाम सुरु भएसँग खोला तथा नदीहरुमा पानीको बहाव घटी देशभित्रका जलविद्युत् गृहहरुबाट उत्पादन घट्न सुरु भएको छ । तर जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत् आयात सुरु भएको छ । शुक्रबार रातिबाट विद्युत् निर्यात बन्द हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)