युएईको परमाणु ऊर्जा केन्द्रमा ड्रोन आक्रमण
gorkhapatraonline.com · Tue May 19 00:29:59 GMT 2026

संयुक्त अरब इमिरेट्स (युएई) को एक मात्र परमाणु ऊर्जा केन्द्रमा ड्रोन आक्रमण भएपछि पश्चिम एसियामा तनाव थप चर्किएको छ । युएईका अधिकारीहरूले यसलाई आतङ्कवादी हमला भन्दै कडा निन्दा गरेका छन् । आक्रमणपछि आणविक केन्द्रको बाहिरी क्षेत्रमा आगलागी भएको थियो । यद्यपि कुनै मानवीय क्षति वा रेडियोधर्मी पदार्थ चुहावट नभएको अधिकारीहरूले बताएका छन् ।
यो घटना अमेरिका र इरान दुवैले पुनः युद्धका लागि तयार रहेको सङ्केत दिइरहेका बेला भएको हो । पछिल्ला दिनमा फारसको खाडी क्षेत्रमा तनाव तीव्र बन्दै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै सामाजिक सञ्जालमार्फत इरानका लागि समय सकिँदै गएको बताउनुभएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ । उहाँले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँग फोनवार्ता गरेपछि यस्तो प्रतिक्रिया दिनुभयो । इरानका सर्वोच्च नेताका सैन्य सल्लाहकार मोहसेन रेजाईले भन्नुभयो, “हाम्रा सशस्त्र बलहरू युद्धका लागि पूर्ण तयारी अवस्थामा छन् तर कूटनीतिक प्रयास पनि जारी छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)