हेलिकप्टरकै भरमा उद्धार र शव संकलन
annapurnapost.com · Fri Sep 04 02:10:37 GMT 2026

काठमाडौं/रसुवा/ नुवाकोट : उत्तरगया गाउँपालिका–५ नौबिसेका सुरक्षाकर्मीहरूले बाढीले बगाएर ल्याएको एउटा शवको अंग भेट्टाए।विधि पुर्याएर प्याकिङ गरियो, ट्याग झुन्ड्याइयो र आकाशतिर हेरेर बस्न थाले।‘हेलिकप्टर आउँदै छ’ भन्ने सूचनाका आधारमा टोली दुई घण्टाभन्दा बढी समय आकाश हेरेरै बसिरह्यो, तर न हेलिकप्टर आयो, न त शव उठ्न नै सक्यो।विपद्पछि रसुवामा जारी खोजी तथा उद्धार कार्यमा खटिएका सुरक्षा निकायबीच प्रभावकारी समन्वय नहुँदा फिल्डमा यस्तो भद्रगोल दृश्य दैनिकजसो दोहोरिने गरेको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोलीहरू फिल्डमा खटिए पनि माथिल्लो तह र उद्धार टोलीबीच सही र समयमै सूचना आदानप्रदान हुन नसकेको फिल्डमा खटिएका सञ्चारकर्मी तथा सुरक्षाकर्मीहरू बताउँछन्।उत्तरगयाको खाल्टे र नौबिसे क्षेत्रमा अझै धेरै शवहरू पुरिएको अनुमान छ।कालिका इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर रमेश रायको नेतृत्वमा टोली उत्खननमा खटिए पनि उद्धारको पूर्वतयारी र सूचना संयन्त्र चुस्त नहुँदा खोज कार्य प्रभावित बनेको छ।स्थलगत रूपमा रसुवा पुगेका पत्रकार गणेश पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत आर्मीलाई अनुरोध भन्दै स्टाटस लेखे।उनले ‘बेत्रावती नजिक एउटा शव भेटिएको दुई घण्टा भयो।सेना, प्रहरी, सशस्त्र र हामी सञ्चारकर्मी हेलिकप्टर शव लिन आउँछ भनेर बगरमा बसेको दुई घण्टा भयो, कति बेला आउला’ भनेर उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)