हेलिकप्टर प्रयोग गरी डढेलो नियन्त्रण
mahendranagarpost.com · Wed Mar 09 14:33:41 GMT 2022
सोलुखुम्बु-सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ। आइतबार दिउँसोबाट लागेको डढेलो चार दिनपछि नियन्त्रणमा आएको वडा नं २ का वडाध्यक्ष आङ फुर्वा शेर्पाले जानकारी दिए। हेलिकप्टर, स्थानीयवासी, नेपाल प्रहरी र नेपाली सेनाको सक्रियतामा चार दिनपछि उक्त डढेलो नियन्त्रणमा लिन सफल भएको गाउँपालिकाले जनाएको छ। स्थानीयवासीले आगो नियन्त्रणमा लिन नसकेपछि सोमबारदेखि अग्निनियन्त्रक सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको वडाअध्यक्ष शेर्पाले बताए।।
गाउँपालिकाको पहलमा ल्याइएको उक्त हेलिकप्टरले आगो नियन्त्रणका लागि ९५ हजार लिटर पानी प्रयोग गरेको थियो।आगो तीव्र गतिमा फैलिँदा धुवाँका कारण सोमबार बिहान करिब एक घण्टा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला बन्द गर्नुपरेकोे थियो।आगोका कारण सल्ला, उत्तीसलगायत विभिन्न प्रजातिका बोटबिरुवा नष्ट भएको भए पनि के कति क्षति भयो भन्ने यकीन गर्न बाँकी रहेको गाउँपालिकाले जनाएको छ।
आगलागीका कारणबारे अनुसन्धानसँगै क्षतिको यकीन विवरण तयार गर्ने काम भइरहेको वडाध्यक्ष आङफुर्वा शेर्पाले बताए। आगोका कारण नाक्चुङ गाउँका १३ घर उच्च जोखिममा परेका थिए। बस्ती जोगाउनका लागि सबै संयन्त्र प्रयोग गरी काम गरेको गाउँपालिका कार्यवाहक अध्यक्ष टासील्हामु शेर्पाले जानकारी दिए। रासस
स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)