प्रशासनिक संरचना पुनर्संरचना
gorkhapatraonline.com · Fri Jun 05 03:08:08 GMT 2026

मकवानपुरगढी, जेठ २२ गते । बागमती प्रदेश सरकारले प्रशासनिक संरचनामा पुनर्संरचना गर्दै प्रदेश अन्तर्गतका कार्यालयको सङ्ख्या २०१ बाट घटाएर १९१ मा झारेको छ । बिहीबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले आठ मन्त्रालयमातहत १९१ कार्यालय रहने गरी नयाँ सङ्गठनात्मक संरचना स्वीकृत गरेको हो ।
सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको प्रस्तावमा प्रदेशभर सञ्चालनमा रहेका अस्थायी, दोहोरो तथा कम प्रभावकारी कार्यालयको पुनरवलोकन गरी केही कार्यालय गाभ्ने, केही खारेज गर्ने र आवश्यकता अनुसार नयाँ कार्यालय स्थापना गर्ने निर्णय गरिएको हो । “प्रशासनिक खर्च नियन्त्रण, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा संस्थागत संरचनालाई व्यवस्थित गर्ने उद्देश्यले पुनर्संरचना गरिएको हो,” मन्त्री तामाङले बताउनुभयो । बैठकले स्वास्थ्य सेवातर्फ कार्यरत उपसचिवस्तरका दुई कर्मचारीलाई ११ औँ तहमा बढुवा गर्ने निर्णय पनि गरेको छ । बढुवा हुनेमा सागरप्रसाद घिमिरे र सतीश विष्ट रहनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)