एकै गाउँका पचास जना अझै सम्पर्कविहीन
gorkhapatraonline.com · Sat Sep 05 03:41:30 GMT 2026

रसुवाको भोटेकोशी नदीमा विध्वांसात्मक बाढी आएको १० दिन बितिसक्दा पनि आफन्तको सम्पर्कमा नआएका जुम्लाको पातारासी गाउँपालिकाका ५० जनाको परिवारमा चिन्ता र अत्यास बढेको छ । विभिन्न काम र रोजगारीका लागि रसुवा पुगेका उनीहरूको अवस्था अझै अज्ञात रहँदा परिवारका सदस्यको भोक निद्रा सबै हराएको छ । कतिपय परिवार आफ्नै खर्चमा रसुवा पुगेर आफन्तको खोजी गरिरहेका छन् । सम्पर्कविहीन भएका आफन्तमध्येका भक्तबहादुर बुढाले आफूहरूले अझै आशा नमरेको बताउनुभयो । सम्पर्कविहीन आफन्तको खोजीका लागि आफ्नै खर्चमा परिवारका सदस्य रसुवा पुगे पनि अहिलेसम्म उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको उहाँले बताउनुभयो ।
आफन्त नजिकैका स्थानीय तह तथा सम्बन्धित निकायमा पुगेर खोजी तथा उद्धारका लागि हारगुहार गरिरहेका छन् । पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढाका अनुसार उक्त वडाका २५ जनामध्ये नौ जना सम्पर्कमा आएका छन् भने १६ जना अझै सम्पर्कविहीन छन् । यस्तै वडा नं. ४ का २४ जना सम्पर्कविहीन रहेको र १० जना सम्पर्कमा आएको वडाध्यक्ष कालीबहादुर ऐडीले जानकारी दिनुभयो । वडा नं. ६ का १० जना पनि सम्पर्कविहीन अवस्थामा रहेको बताइएको छ । सम्पर्कविहीन नागरिकका परिवार तथा आफन्त बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेर खोजी गरिरहेका छन् । उनीहरूले आफन्त जीवितै उद्धार हुने आशा अझै मारेका छैनन् ।यसै गरी गुठीचौर गाउँपालिका–२ का छ जना र वडा नम्बर १ का दुई जना गरी गाउँपालिकाभित्रका नौ जना नागरिक सम्पर्कविहीन रहेको वडा नम्बर १ का वडाध्यक्ष अर्जुनकुमार महताराले बताउनुभयो । यस्तै चन्दननाथ नगरपालिका–१ का धनबहादुर रावत, चन्दननाथ नगरपालिका–१० का भानुप्रकाश देवकोटा, सिँजा गाउँपालिका–४, बारेगाउँका विमल बुढा र दर्शन बुढा पनि रसुवाको बाढीपहिरोपछि सम्पर्कविहीन रहेका छन् । नेपाली सेनामा कार्यरत सिँजा गाउँपालिका–३, पिँगीका नरेन्द्रबहादुर शाही पनि सम्पर्कविहीन रहेको जनाइएको छ । जुम्लाका ६४ जना रसुवाको बाढीपहिरोपछि सम्पर्कविहीन अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले जानकारी दिनुभयो । यसैबिच जुम्ला चन्दननाथ नगरपालिका–३ निवासी रसुवामा कार्यरत स्वास्थ्यकर्मी ३२ वर्षीय ललिता कुमाई, उहाँकी नाबालिका छोरी र गुठीचौर गाउँपालिका–५ का प्रकाश आचार्यलाई आफन्तले मृत घोषणा गरिसकेका छन् । पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले रसुवाको बाढीपहिरोमा पातारासी क्षेत्रका धेरै नागरिक सम्पर्कविहीन रहेको बताउनुभयो । उनीहरूको खोज तथा उद्धारका लागि स्थानीय सरकारका तर्फबाट आवश्यक समन्वय भइरहेको अध्यक्ष बोहोराले बताउनुभयो । उहाँले सम्पर्कविहीन नागरिकको खोज तथा उद्धार कार्यलाई सरकारले थप तीव्र बनाउनुपर्ने माग पनि गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)