निर्वाचन बारे यसो भन्छन् कलाकार
merolifestyle.com · Fri Nov 11 08:32:36 GMT 2022
यति बेला देश निर्वाचनमय बनेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब ९ दिन मात्रै बाँकी छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू आ–आफ्नो चुनावी एजेन्डा लिएर धेरै मतदातासम्म पुग्ने प्रयास गरिरहेका छन् ।
यसैबीच निर्वाचन आयोगले आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा कलाकारसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गराउने वातावरण सिर्जनाका लागि अभियन्ताको भूमिका निर्वाह गरिदिन कलाकारहरूसँग आह्वान गरेका छन्।
आयोगले कलाकारबाट मुख्यतः सात वटा अपेक्षा राखेको बतायो । चुनावी माहौल बनाउने, सामाजिक सञ्जालमार्फत आयोगका सन्देश पुर्याउन मद्दत गर्ने, मतदाता शिक्षाका सन्देश प्रवाह गर्ने, निर्वाचन सम्बन्धी झुटा र गलत समाचारप्रति सजग रहन, आचारसंहिताको पूर्ण पालना गर्न मद्दत गर्न आयोगको आग्रह थियो ।
कलाकारले बोलेका कुरामा आम मानिसको जिज्ञासा र चासो अलि बढी हुने हुँदा निर्वाचन प्रचार प्रसार र मतदाता शिक्षा सम्बन्धी सूचना कलाकारमार्फत सम्प्रेषण गर्दा जनतासामु छिटो सूचना प्रवाह हुन्छ ।
कलाकारहरू सार्वजनिक व्यक्तित्व भएको कारण कलाकारहरूले निर्वाचन सम्बन्धी सूचना सम्प्रेषण गर्दा प्रभावकारी हुने र निर्वाचन आयोगलाई सहयोग गर्ने आफ्नो दायित्व पनि भएको अभिनेत्री दिपाश्री निरौला बताउँछिन् । उनी भन्छिन् ‘कलाकारले बोलेका कुरामा आम मानिसको जिज्ञासा र चासो अलि बढी हुने हुँदा निर्वाचन प्रचार प्रसार र मतदाता शिक्षा सम्बन्धी सूचना कलाकारमार्फत सम्प्रेषण गर्दा जनतासामु छिटो सूचना प्रवाह हुन्छ ।’
खास गरी निर्वाचनमा राजनीतिक दल र दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुन्छ । तर प्रजातान्त्रिक शासन व्यवस्थामा स्वतन्त्र रूपमा समेत उम्मेदवारी दिन कसैलाई पनि रोक नलगाएकाले यस पटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको लहर नै चलेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभामा एक–तिहाइ भन्दा धेरै स्वतन्त्र उम्मेदवारहरू प्रतिस्पर्धा गर्दै छन् । दुवै तहका संसद्का लागि अघिल्लो आमनिर्वाचनमा भन्दा यस पटक उल्लेख्य रूपमा स्वतन्त्र उम्मेदवारहरू बढेका छन्।
सङ्घतर्फ २०७४ सालको निर्वाचनमा भन्दा यस पटक झन्डै १० प्रतिशतले बढेर ३६ प्रतिशत स्वतन्त्र उम्मेदवार खडा भएका छन्। प्रदेशतर्फ पछिल्लो आम चुनावभन्दा झन्डै १८ प्रतिशत उम्मेदवार बढेका हुन्।
दलहरूले सबै खालका हैसियत पाए, दलहरूको मनोमानीलाई चेक एण्ड ब्यालेन्स गर्न सक्ने खालको स्वतन्त्र उम्मेदवारले जित्यो भने पनि प्रजातान्त्रिक पद्धतिका लागि फाइदाजनक नै हुन्छ ।
पछिल्लो समय स्वतन्त्र उम्मेदवारको लहर नै चलेको छ । चाहे स्वतन्त्र होस् वा जुनसुकै राजनीतिक दलको व्यक्ति, उसले आफ्नो व्यक्तिगत स्वार्थ र दलगत स्वार्थ भन्दामाथि उठेर देश र जनताको हितमा काम गर्नुपर्ने उम्मेदवार हुनु पर्ने कलाकारहरू बताउँछन् ।
हास्यकलाकार
मनोज गजुरेल
भन्छन्, ‘हामी बहुदलीय पद्धतिमा छौँ । दलगत प्रतिनिधिको अपेक्षा त हुन्छ नै ! दलभित्र पनि उमेरले मात्र युवा नभएर ऊर्जाशील, योग्य र क्षमतावान् युवाहरूले जितुन् भन्ने अपेक्षा छ ।’ उनी भन्छन् ‘हिजो दलहरूले बहुमत, अल्पमत सबै खालका हैसियत पाए, दलहरूको मनोमानीलाई चेक एण्ड ब्यालेन्स गर्न सक्ने खालको स्वतन्त्र उम्मेदवारले जित्यो भने पनि प्रजातान्त्रिक पद्धतिका लागि फाइदाजनक नै हुन्छ ।’
निर्वाचन, जनताका लागि योग्य र सक्षम जनप्रतिनिधि छान्ने सुनौलो अवसर हो । नेतृत्व चुन्ने मतदाताको भूमिका निकै महत्त्वपूर्ण हुन्छ । मतदाता नै निर्णायक हुन् । मतदाताको एक–एक मतमा प्रतिस्पर्धीको विजय र पराजयमा ठूलो हलचल ल्याइदिने तागत हुन्छ । त्यसैले, अत्यधिक मात्रामा मतदानमा सहभागी भएर आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्ने बताउँछन् गायक पशुपति शर्मा ।
जोसँग नयाँ भिजन छ, देश र जनताको लागि केही गर्न सक्छ त्यस्तो उम्मेदवारलाई जिताउनु पर्छ । अबको चुनावमा देश र जनताले जित्नुपर्छ ।
‘कुनै पनि पार्टीको अन्धभक्त भएर जस्तोसुकै उम्मेदवार उठे पनि त्यही पार्र्टीलाई मतदान गर्नुपर्छ भन्ने मानसिकता जनतामा छ । त्यस्तो हुनुहुँदैन । जोसँग नयाँ भिजन छ, देश र जनताको लागि केही गर्न सक्छ त्यस्तो उम्मेदवारलाई जिताउनु पर्छ । अबको चुनावमा देश र जनताले जित्नुपर्छ ।’ शर्मा भन्छन् ‘कति जना त भोट नदिए पनि हुन्छ भन्ने पनि हुनुहुन्छ, त्यसो होइन आफ्नो मताधिकारको प्रयोग गर्नुपर्छ । हाम्रोलाई होइन राम्रो उम्मेदवारलाई जिताउनु पर्छ ।’ उनी उत्साहित सुनिन्छन् ‘मैले त गीतबाट पनि मङ्सिर ४ मा भोट दिन जानुस् है भनेको छु, म आफै पनि स्याङ्जा गएर मतदान गरेर फर्किन्छु ।’
यो पनि…
‘मौका पाए कलाकारले राष्ट्र हाँक्न सक्छन्’
राजनीतिमा हाम्रा कलाकार
Leave a Reply Cancel reply
Your email address will not be published. Required fields are marked *
प्रतिकृया *
Save my name, email, and website in this browser for the next time I comment.
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)