भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो
khabarhub.com · Sat Sep 05 13:49:14 GMT 2026

काठमाडौं – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेको छ। यस्तो अवस्थामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवा र नुवाकोटमा उद्धार, राहत, समन्वय तथा विद्युत् आपूर्ति पुनःसुचारु गर्ने कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। मन्त्रालयले शनिबार बाढी आएको ११औँ दिन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको २१६ मेगावाट क्षमताको सुरुङबाट एक चिनियाँ नागरिकको सकुशल उद्धार गरिएको जनाएको छ।
नेपाली सेना र दक्षिण कोरियाली विपद् विशेषज्ञ टोलीले उनको उद्धार गरेको मन्त्रालयले जनाएको छ। बाँकी सम्पर्कविहीन व्यक्तिहरूको खोज तथा उद्धारका लागि मन्त्रालयको समन्वयमा उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन गरिएको छ। जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य भग्नावशेषमा विज्ञहरूको परामर्शमा खोज तथा उद्धार जारी रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै, प्रतिकूल मौसम, विकट भौगोलिक अवस्था र सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध हुँदा पनि चिलिमे जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धारका लागि नेपाली सेना र भारतीय सेनाका २१ जना उद्धारकर्मी सुरुङभित्र म्यानुअल रूपमा भग्नावशेष हटाउने काममा खटिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)