कांग्रेसको चुनावी घोषणाः ‘प्रत्येक घरमा बिजुली, प्रत्येक घरमा पक्की छाना’
nepalhomes.com · Sun Oct 30 08:25:53 GMT 2022
काठमाडौं । ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि नेपाली कांग्रेसले ५ पेजको घोषणापत्र सार्वजनिक गरेको छ । महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा डा. गोबिन्दराज पोखरेल, डा. स्वर्णिम वाग्ले लगायतको टिमले ५२ पेजको घोषणापत्र तयार पारेको हो ।
चुनावपछि बन्ने कांग्रेस नेतृत्वको सरकारले ‘प्रत्येक घरमा बिजुली, प्रत्येक घरमा पक्की छाना’ भन्ने नारासहित गरिब तथा विपन्न वर्गका परिवारका लागि सुरक्षित आवासको व्यवस्था गर्ने भएको छ ।
यस्तै, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गका नयाँ शहरहरुलाई आधुनिक सेवा सुविधा सम्पन्न बनाइने पनि घोषणापत्रमा उल्लेख छ । शहरी विकास मन्त्रालयले मध्यपहाडी लोकमार्गका आसपासमा एक दर्जन नयाँ शहर परियोजना निर्माण सुरु गरिसकेको छ ।
पुराना र सरकारी तथा निजी भवनहरुलाई प्रवलीकरण गरी भूकम्प प्रतिरोधी बनाइने पनि घोषणापत्रमा प्रतिवद्धता जनाइएको छ । यस्तै, सबै स्थानीय सरकारहरुलाई सरकारी र निजी आवास निर्माण गर्दा भूकम्प प्रतिरोधी मापदण्ड लागू गर्न लगाइने पनि घोषणापत्रमा उल्लेख छ ।
कांग्रेसले तराई–मधेश समृद्धि कार्यक्रम अन्तर्गत डुवानमा पर्ने दलित तथा पिछडिएको समुदायलाई सुरक्षित आवासको कार्याक्रमहरु सञ्चालन गर्ने भएको छ ।
सडक दुर्घटना न्यूनीकरण गर्न सबै सडकहरुमा योजना, डिजाइन र निर्माण गर्दा नै पैदलयात्री मैत्री मार्ग, आकाशे पुल, अपांगमैत्री बस विसौनीजस्ता पूर्वाधारहरुको निर्माण तथा सम्बद्र्धन गर्ने परिपाटीलाई व्यापक सुधार गर्ने कांग्रेसले घोषणा गरेको छ ।
शहरी क्षेत्रमा ठूल्ठूला सार्वजनिक यातायातका साधन (मास ट्रान्जिट) प्रवद्र्धन गरिने भएको छ । यस्तै, उपत्यकाको सार्वजनिक यातायातलाई संघीय सरकार र सबै पालिकाको एक संयुक्त संयन्त्रमा स्थापना गरी उपत्यका यातायात प्राधिकरण मार्फत् सुलभ र सुरक्षित यातायातको सुविधा उपलब्ध गराउने पनि घोषणापत्रमा उल्लेख छ ।
सडक पूर्वाधारलाई अझ बढी प्रभावकारी बनाउन सुरुङमार्ग र नदी तथा गहिरा खोँचहरुमा बढी लम्बाई भएका विशिष्ट प्रकारका पुल बनाउने पनि कांग्रेसको घोषणा छ ।
पूर्व–पश्चिम राजमार्गको कोशी, नारायणी, तिनाउ–कर्णाली लगायत ठूला राजमार्गका नदीमा थप पुलहरु निर्माण गरिने भएको छ । नदी किनाराका तटबन्धलाई सम्भव भएका ठाउँमा वैकल्पिक सडकको रुपमा विकास गरिने छ ।
गतिशील घना बस्तीहरुलाई आधुनिक सेवा सुविधा सम्पन्न भूकम्प प्रतिरोधी बस्तीको रुपमा विकसा गरी विपदबाट सुरक्षित घरमा बसोबास गर्ने परिवारको संख्या ५५ प्रतिशत पुर्याउने कांग्रेसले घोषणा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalhomes.com)