दक्षिण कोरियाका विदेशमन्त्री र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
annapurnapost.com · Sun Sep 06 09:03:12 GMT 2026

काठमाडौं : दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन र परराष्ट्रमन्त्री शिशिर खनालबीच भेटवार्ता भएको छ। आइतबार मन्त्रालयमा भएको भेटवार्तामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यबारे छलफल भएको छ। भेटमा मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा द्रुत उद्धार टोली र कोरियाली विपद् राहत टोली पठाउनुका साथै मानवीय सहायता र राहत सामग्री उपलब्ध गराएकोमा दक्षिण कोरिया सरकारप्रति आभार व्यक्त गरेको मन्त्रालय स्रोतले जनाएको छ।
मन्त्री खनालले विपद्पछि दिगो र जोखिमप्रतिरोधी पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै आगामी पुनर्निर्माणमा समेत कोरियाको निरन्तर सहयोगको अपेक्षा गरेको बताए। दक्षिण कोरियाका विदेशमन्त्री ह्युनले विपद्पछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्न कोरिया सरकार इच्छुक रहेको बताएको मन्त्रालले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)