विश्वकपबाट बाहिरिएसँगै नेयमारले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
nepalviews.com · Mon Jul 06 01:01:05 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ को खेलमा नर्वेसँग पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएसँगै स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। यस हारसँगै राष्ट्रिय टोलीबाट उनको १६ वर्ष लामो यात्राको अन्त्य भएको छ।
अमेरिकाको न्यु जर्सीमा सम्पन्न खेलमा नर्वेले ब्राजिललाई २–१ गोल अन्तरले स्तब्ध पारेको थियो। नर्वेलाई ऐतिहासिक जित दिलाउने क्रममा स्टार स्ट्राइकर एर्लिङ हालान्डले दुई गोल गरे। उता, बेन्चबाट मैदान प्रवेश गरेका नेयमारले इन्जुरी समयमा पेनाल्टीमार्फत एक गोल फर्काए पनि पाँच पटकको विश्वविजेतालाई प्रतियोगितामा जोगाउन त्यो पर्याप्त भएन। ३४ वर्षीय नेयमारले खेल सकिएलगत्तै भावुक हुँदै ब्राजिलियन जर्सीमा आफ्नो यात्रा टुंगिएको पुष्टि गरेका थिए। उनले भने, ‘मैले प्रयास गरें, धेरै प्रयास गरें । मेरो यात्रा यही स्टेडियमबाट सुरु भएको थियो र यहीँ अन्त्य भयो । अब सबै सकियो ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)