इन्टर्न चिकित्सकको श्रम शोषण भएको छ, समान कामका लागि समान पारिश्रमिक सुनिश्चित गरियोस् : खुस्बु ओली
annapurnapost.com · Mon Jul 06 07:18:05 GMT 2026

काठमाडौं : राप्रपाका प्रमुख सचेतक खुस्बु ओलीले स्वास्थ्य सेवा योगदान गर्ने इन्टर्न चिकित्सकलाई समान कामका लागि समान पारिश्रमिक सुनिश्चित गर्न माग गरेकी छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नीतिगत कमजोरी र विद्यमान व्यवस्थाका कारण उदाउँदा चिकित्सकहरूको श्रमको निरन्तर शोषण भइरहेको उल्लेख गरेकी हुन्। चिकित्सकहरूको श्रमको निरन्तर शोषण हुँदा ठूलो संख्यामा दक्ष चिकित्सकहरू विदेश पलायन भइरहेको उनको भनाई छ।
‘नेपालका विभिन्न चिकित्सा शिक्षण संस्थाहरूमा अध्ययनरत एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूलाई न्यूनतम मापदण्डभन्दा कम इन्टर्नशिप भत्ता प्रदान गरिएको भन्ने गुनासाहरू निरन्तर प्राप्त भइरहेका छन्। साथै, उनीहरूलाई अत्यधिक लामो समयसम्म काम गर्न बाध्य पारिएको विषय पनि बारम्बार उठिरहेको छ। विशेषगरी सरकारी मेडिकल कलेजहरूको तुलनामा निजी मेडिकल कलेजहरूमा यस्ता समस्याहरू बढी रहेको पाइएको छ।’ उनले जोड दिँदै भनिन्, ‘अघि बढाइएका नीतिगत कमजोरी र विद्यमान व्यवस्थाका कारण उदाउँदा चिकित्सकहरूको श्रमको निरन्तर शोषण भइरहेको छ। यसको प्रत्यक्ष परिणामस्वरूप ठूलो संख्यामा दक्ष चिकित्सकहरू विदेश पलायन भइरहेका यथार्थ हामी माझ छ। यदि यस अवस्थालाई समयमै सम्बोधन गरिएन भने निकट भविष्यमै नेपालले चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूको गम्भीर अभावको सामना गर्नुपर्ने जोखिम बढ्दै जाने निश्चित छ। त्यसैले यो विषय चिकित्सकहरूको पेशागत हितसँग मात्र सम्बन्धित छैन, यो देशको समग्र स्वास्थ्य प्रणाली र जनस्वास्थ्यसँग गाँसिएको अत्यन्त गम्भीर राष्ट्रिय सरोकारको विषय हो।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)