डढेलो र अत्यधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ्दै
hamrakura.com · Mon Sep 07 00:00:00 GMT 2026

काठमाडौँ । विश्व मौसम संगठन (डब्ल्युएमओ) ले डढेलो र अत्यधिक गर्मीका कारण विश्वभर वायु प्रदूषणको जोखिम लगातार बढ्दै गएको चेतावनी दिएको छ। संगठनद्वारा हालै सार्वजनिक वार्षिक ‘वायु गुणस्तर तथा जलवायु बुलेटिन’ मा वायु प्रदूषण र जलवायु परिवर्तनबीच गहिरो अन्तरसम्बन्ध रहेको औंल्याइएको छ। जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मी तथा डढेलोको घटना र तीव्रताले मानव स्वास्थ्य एवं प्राकृतिक वातावरणमा गम्भीर खतरा उत्पन्न गराएको छ।
डढेलोका कारण उत्पन्न हुने धुवाँमा २.५ माइक्रोमिटरभन्दा कम आकारका अत्यन्त सूक्ष्म कणहरू हुन्छन्। यी हानिकारक कणहरू श्वासप्रश्वासका माध्यमबाट फोक्सोको गहिरासम्म पुग्नुका साथै रक्तसञ्चार प्रणालीमा समेत प्रवेश गर्न सक्ने भएकाले स्वास्थ्यका लागि अत्यधिक जोखिमपूर्ण मानिन्छन्। यस्तो धुवाँ हावाको बहावसँगै टाढा-टाढासम्म फैलिने हुनाले आगलागी भएको क्षेत्रबाट टाढाका मानव बस्ती र वन्यजन्तुहरू समेत प्रभावित हुने गरेका छन्। विभिन्न अध्ययनले सन् १९९० को दशकयता अत्यधिक डढेलोबाट सिर्जना हुने धुवाँका घटनाहरू तीन गुणासम्म वृद्धि भएको देखाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)