जेनजी आन्दोलनको राप र बालेन्द्र सरकार : कता जाँदैछ नेपाली लोकतन्त्र ?
ratopati.com · Mon Sep 07 18:22:00 GMT 2026

गत भदौ २३ गते भएको सरकारविरोधी आन्दोलनलाई ‘जेनजी आन्दोलन’ भनियो । किनभने, सरकारविरोधी त्यस आन्दोलनको पहिलो दिन स्कुले विद्यार्थीहरूले उल्लेख्य रूपमा भाग लिएका थिए । तर, वास्तवमा नेपाली समाज केही समयअघिदेखि नै ठूलो असन्तुष्टिबीच यात्रा गरिरहेको थियो । केपी ओली नेतृत्वको सरकारप्रति आम मानिसमा प्रस्ट आक्रोश र निराशा थियो । त्यो आक्रोश र निराशाका मुख्यतः तीन कारण थिए । पहिलो, देशको निरन्तर खस्कँदो अर्थतन्त्र । दोस्रो, बेरोजगारीको अवस्था र तेस्रो, आम असन्तुष्टिलाई बुझ्न तथा जनतासँग सकारात्मक रूपमा संवाद गर्न नचाहने राजनीतिक पार्टी र सरकारको नेतृत्व ।
नयाँ संविधान लागु भए पनि ‘राजनीति यस्तै रहेछ’ भन्ने ठूलो जमातलाई तत्कालीन राजनीतिले सम्बोधन गर्न सकेको थिएन । विगत १०–१२ वर्षमा नेपाली समाजमा तात्विक भिन्नताका धर्साहरू पनि देखिन थालेका थिए । इन्टरनेटमा सामान्यजनको पहुँच पुगेसँगै उनीहरूले देश–विदेशमा तथा छिमेकमा भइरहेको प्रगतिको कथा पनि मनग्गे रूपमा हेर्न र अनुभूत गर्न पाएका थिए । त्यसले पनि आमजनमा ‘विदेशी राष्ट्र प्रगतिपथमा छन्, तर नेपाल भने निरन्तर पछाडि परिरहेको छ’ भन्ने भावलाई स्थापित गराइदिएको थियो । त्यो छटपटी सबैमा देखिन्थ्यो । जेनजी आन्दोलनका लागि त्यही ‘ट्रिगर प्वाइन्ट’ भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)