हतुवागढीले प्रशासनिक भवन बनाउँदै
barnanmedia.com · Mon Jul 15 03:08:36 UTC 2024

भोजपुरको हतुवागढी गाउँपालिकामा प्रशासनिक भवन निर्माणको कामले तीव्रता पाएको छ । भवन नहुँदा नागरिकलाई सेवा प्रवाहमा देखिएको समस्यालाई ध्यानमा राख्दै यहाँ करिव रु सात करोड ५२ लाख लागतमा प्रशासनिक भवन निर्माणको काम थालिएको हो । भवन निर्माण सुरु भएको सात महिना करिब ३६ प्रतिशत काम सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो । प्रशासनिक भवन गाउँपालिकाको ४० प्रतिशत र सङ्घ सरकारको ६० प्रतिशत लगानीमा निर्माण भइरहेको उहाँको भनाइ छ ।
“सेवा प्रवाहमा देखिएको समस्यालाई ध्यानमा राख्दै प्रशासनिक भवन निर्माण गरिरहेका छौँ”, प्रशासकीय अधिकृत निरौलाले भन्नुभयो, “हालसम्म करिब ३६ प्रतिशत काम सम्पन्न भएको अवस्था छ । भवन निर्माण सम्पन्न भएपश्चात् नागरिकलाई दिने सेवा प्रवाहमा थप सहजता हुनेछ ।” निर्माण सुरु भएको सात महिनाको अवधिमा हालसम्म दुई तला ढलानको काम सम्पन्न भइसकेको प्रशासकीय अधिकृत निरौलाले जानकारी दिनुभयो । लिफ्टसहित चार तलाको बन्ने भवन २४ महिनाभित्र सम्पन्न गर्ने सम्झौता रहेको छ । गाउँपालिकाको आफ्नो भवन नहुँदा विगतको प्राथमिक स्वास्थ्य चौकीको पुरानो कच्ची भवनबाट सेवा प्रवाह भइरहेको छ । जनतालाई सेवा दिने व्यवस्थित भवन हुँदा भोग्नुपरेको समस्यालाई ध्यानमा राखेर सङ्घ सरकारसँगको लागत साझेदारीमा प्रशासनिक भवन निर्माण थालिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । भवन निर्माणपश्चात् सेवा प्रवाहमा सहजता हुने अध्यक्ष राईको भनाइ छ । भवन निर्माणको कामलाई गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गराउन भूमिका खेलिरहेको उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)