चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो
rajdhanidaily.com · Sun Jul 25 23:25:00 GMT 2021
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको सरकार भएकाले पनि मन्त्री माग्नेहरूको रोइलो देखिएको हो । यसका पछाडि प्रतिपक्ष गठबन्धनको सरकार बनेपछि सो गठबन्धनमा आबद्ध विभिन्न पार्टीहरूको अपेक्षाले यसमा ठूलो काम गरेको छ । आफैं त सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस स्वयं गुटैगुटको मोर्चाका रूपमा रहेको पार्टी हो । उसकै आन्तरिक बाँकी जीवनमा सरकारलाई विश्वास दिलाउन धौधौ परिरहेको छ । त्यहाँ पनि गुट र उपगुटहरू मन्त्री खान हानथाप गरिरहेका छन् । सघाउने अन्य ठूला दलहरू माओवादी केन्द्र, जनता समाजवादी पार्टी पनि गुटैगुटका मोर्चाजस्ता पार्टी रहेका छन् । घुर्की, धम्की र बार्गेनिङको ‘बिजनेस’ चलिरहेको देखिन्छ । जसपा पनि यो रोगबाट मुक्त छैन । यी कारणले गर्दा वर्तमान सरकारलाई आफ्नै सरकार बनाउन भारी हुने देखिन्छ । भैंसीलाई भैंसीको सिङ भारी र बाख्रालाई बाख्राकै सिङ भारी भनेझंै प्रम देउवालाई आफ्नै सरकार गठन निकै भारी हुन गएको छ ।
यस्तो अवस्थामा सरकार गठन गर्ने प्रक्रिया त पेचिलो बनिरहेको नै देखिन्छ । अर्कोतिर लोभीहरूको जमात नै पार्टी बन्न पुग्दा जनताहरूमा सरकार बन्ने बेलै नकारात्मक असर पर्न थालेको छ । दिन कस्तो हुन्छ भन्ने बिहानीले देखाउँछ भनेझैं देउवाको सरकार कस्तो हुन्छ, कति लोकप्रिय हुन्छ र टिकाउ हुन सक्छ भन्ने कुराको संकेत अहिले देखिन थालिसकेको छ । तर, पनि प्रधानमन्त्री देउवाले समयमा नै संवेदनशील भएर आफ्नो सरकारलाई चुस्त र क्षमतावान् व्यक्तिको समूहका रूपमा स्थापित गराउन सक्नुपर्छ । विकृति देखिन थाले भने त्यसले जनतामा फेरि पनि निराशा ल्याउन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)