
छोडिए गाउँ, छिरियो सहर कोर्नलाई भविष्यको खाका,
कोलाहल यो सहर भन्दा राम्रो, गाउँघर डाँडा पाखा।
सहर त चल्छ पैसाले मात्रै, दिन बिताउन कठिन हुन्छ,
इमान्दारी भोकै पर्छन् यहाँ, मोटाउँछन् चोर डाका।
बाले पनि हत्ते गर्नुहुन्छ, "आउनु छोरा यतै रमाउन",
"खाना लाउनै मुस्किल हुन्छ, कसो गर्छौ" भन्छन् काका।
सपना सबै अधुरा नै छन्, मनभित्रै लागेको छ टाका,
फर्किएर जाउँ भने पनि, ऋणले थुनेको छ नाका।
धुलो र धुवाँ मात्रै छ यहाँ, निसासिन्छ यो ज्यान मेरो,
गाउँकै स्वच्छ हावामा थियो, जिन्दगीको असली चाका।
-सुवास पौडेल