
डा. कुसुमाकर शर्मा गौतमद्वारा रचित ‘अविश्रान्त’ लघुकथा सङ्ग्रह हामीले पुस महिनाको मासिक पुस्तकका रूपमा पढ्ने सौभाग्य पायौँ । कविको जन्म पूर्वी रुकुमको रुकुमकोटमा भए पनि उनी हाल क्यानडामा बसोबास गर्दै आएका छन् । टाढा बसेर पनि नेपाली साहित्यलाई त्याग्न नसकेर उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाली साहित्य समाज क्यानडा, राप्ती साहित्य परिषद्, कल्पतरु द्वैमासिक, हाम्रो लघुकथा केन्द्र र साहित्य पोस्ट जस्ता संस्थासँग आबद्ध रहेका छन् । यसअघि उनको ‘हिउँको राप’ लघुकथा सङ्ग्रह (२०८०) प्रकाशित भइसकेको छ। ‘अविश्रान्त’ लघुकथा सङ्ग्रह २०८१ सालको भदौ महिनामा पहिलो संस्करणका रूपमा प्रकाशित भएको हो । कथाको चाखलाग्दो र मन्त्रमुग्ध बनाउने आवरण चित्र सुबोध घिमिरेद्वारा तयार गरिएको छ र उनी क्यालिफोर्नियाका बासिन्दा हुन् । यसको लेआउट विकुशले गरेका हुन् भने प्रकाशक शब्दार्थ प्रकाशन रहेको छ । सामाजिक, आर्थिक तथा राजनीतिक विषय समेट्दै राष्ट्र र राष्ट्रियतासँगै प्रशासन, प्रशासक, नीति, नेतृत्व र कर्मचारी सबैलाई समेटेर लेखिएको यो ९३ पृष्ठको लघुकथा सङ्ग्रह उत्कृष्ट कृति हो । यस सङ्ग्रहमा कुल ६० वटा लघुकथा समावेश छन् ।
कथा सङ्ग्रह पढ्ने क्रममा लेखकको देशप्रतिको माया धेरै कथामा झल्किएको मैले महसुस गरेँ। सात समुद्र पारि बसेर पनि राष्ट्रियतालाई उनले कहिल्यै नछाडेको आभास हुन्छ। सोही भाव व्यक्त गर्दै लेखिएका हरेक कथाले पाठकको मन छुन सफल भएका छन्। “यस्तै गौरवशाली शिक्षा नेपालमै भइदिएको भए देशबाहिर जान खोज्ने युवाको मन फेरिन्थ्यो कि ?” लेखकले कथा सङ्ग्रहको पहिलो कथा ‘गौरव’ यही प्रश्नसहित अन्त्य गरेका छन् । यस प्रश्नले मलाई सोच्न बाध्य बनायो “ती विदेश पलायन हुने लाखौँ युवाले उचित मार्गदर्शन पाएर देशमै केही गर्न सकेका भए, के आज ती करोडौँ नेपालीको रगत र आँसु यही माटोमा बगेर यहीँ विकासका फूल फुल्न सक्थे होला ?”
अहिलेको चर्चित प्रश्न के कृत्रिम बौद्धिकताले मानवलाई प्रतिस्थापन गर्न सक्छ? यही प्रश्नको आधारमा ‘कृत्रिम बौद्धिकता’ कथा लेखिएको छ । मेरो विचारमा यस कथाले उक्त प्रश्नको उत्तर पनि दिएको छ चोरिएको बुद्धिले वास्तवमा केही गर्न सक्दैन। कृत्रिम बौद्धिकताले मानवले दिएको निर्देशनअनुसार मात्र काम गर्छ। मानवले सूचना वा निर्देशन नदिए त्यसले केही गर्न सक्दैन । त्यसैले कृत्रिम बौद्धिकताले मानवलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्दैन ।
‘अभिद्रोह’ यस कथा सङ्ग्रहको अर्को बेजोड कथा हो । यस कथामा दुई लासबिचको संवाद प्रस्तुत गरिएको छ । अन्त्यमा एउटा लासले भन्छ, “बागमतीको फोहोर पानी पटकपटक पिएर किन मर्नु ?” नेपालीको गौरव र आस्थाको केन्द्र पशुपतिनाथको छेउँबाट बग्ने बागमती, जुन गङ्गासँग मिसिन्छ, आज मानवकै कारण प्रदूषित बनेको छ । कुनै समय पौडी खेल्न मिल्ने वागमती अहिले छेउँ पर्नसमेत नसकिने अवस्थामा पुगेको छ । कविले यस अवस्थामाथि तीव्र व्यङ्ग्य गर्दै यो कथा रचना गरेका छन् ।
समाजले असाधारण मानेका व्यक्तिको कथा हो ‘रङ्गीन संसार’ । समाजबाट आफ्नो अस्तित्व लुकाएर बस्नुपर्ने तीतो यथार्थ यस कथाले उजागर गरेको छ । मानिस मानिस नै भए पनि व्यवहार किन फरक हुन्छ भन्ने प्रश्न यस कथाले उठाएको छ ।
‘कामचोर’ यस लघुकथा सङ्ग्रहको अर्को सशक्त कथा हो। अदालतमा भइरहेको मुद्दाको सन्दर्भमा लेखिएको यस कथामा वास्तविक जीवनमा जस्तै सर्वसाधारणलाई दोष लगाइन्छ। तर वास्तविक दोषी ती कामचोर कर्मचारी हुन्, जो आफ्नो काम छोडेर अन्य कार्यमा व्यस्त हुन्छन्। न्यायाधीशले यो कुरा बुझेर सर्वसाधारणलाई निर्देशन गर्ने घोरी महोतोलाई दोषी ठहर गर्दैनन्।
‘समाज’ कथा समाजले आफ्नो कामका कारण अस्वीकार गरेकी एक महिलाको कथा हो। जीविकोपार्जनका लागि गरिएको यौनकर्मलाई नेपाली समाजले स्वीकार गर्न सकेन, तर क्यानडाको उदार समाजले स्वीकार गर्यो। जीविकोपार्जनका लागि काम गर्ने महिलालाई नअपनाउने समाज के वास्तवमै विकसित हुन सक्छ भन्ने प्रश्न यस कथाले उठाएको छ।
आजकल सन्ततिले सामाजिक सञ्जालमा धेरै समय बिताएको भन्दै आलोचना गर्ने चलन छ। तर त्यही सामाजिक सञ्जालका कारण कतिपय अवस्थामा मानिसको अनुहारमा हराएको मुस्कान फर्किएको पनि देखिन्छ। यही सन्देश लेखकले ‘हराएको मुस्कान’ कथामा प्रस्तुत गरेका छन्।
वर्तमान राजनीतिक व्यवस्था र नेताहरूमाथि तीव्र व्यङ्ग्य गरिएको कथा हो ‘हाइब्रिड माग्ने’। काम र दाम दिने तर दिवास्वप्न देखाउने नेता र नेतृत्वप्रति कविले तीखो टिप्पणी गरेका छन्। उनले लेखेका छन्, “चुनावपछि आफ्नो स्थान यहीँ हो भनेर अहिले देखि नै अभ्यास गरेको।
‘निरोगी घर’ कथाले सामाजिक यथार्थ प्रस्तुत गरेको छ। सानैदेखि सुन्दै र देख्दै आएको सासू–बुहारीको सम्बन्ध यस कथाको विषय बनेको छ। सासूले बुहारीलाई टोक्ने र बुहारीले फिर्ता टोक्ने तर त्यो टोकाइमा पनि माया हुन्छ। “आगो नठोसी बल्दैन” भन्दै कविले साना–साना झगडाबाट पनि सम्बन्धमा माया बढ्ने कुरा व्यक्त गरेका छन् ।यस संसारमा निस्वार्थ माया गर्ने व्यक्ति भनेका आमाबुबा नै हुन्। जीवनमा हामीले सयौँ मानिस भेट्छौँ, जसले हामीलाई माया गर्छन्, तर आफू भोकै बसेर भए पनि छोराछोरीको पेट भर्ने आमा–बुबा जस्तो माया अरू कसैले गर्न सक्दैन। यही सन्देश ‘आशा’ कथामा व्यक्त गरिएको छ। कविले लेखेका छन् ।“वृद्ध भए पनि निस्वार्थ माया गर्ने त बा र आमा मात्रै हुने रहेछन्। त्यसैले तिम्रो पसलमा पाइने आयु बढाउने औषधि बाआमालाई खुवाएर बाँचुन्जेल निस्वार्थ माया पाइरहने आशा छ।” समाजको यथार्थ झल्काउने यो कथा मेरो विचारमा सर्वोत्कृष्ट लाग्यो ।
‘कल्पवृक्ष’ अर्को उत्कृष्ट कथा हो । हजारौँ सपना बोकेर लाखौँ नेपाली हरेक दिन विदेशिन्छन् । सन्तुष्ट र सहज जीवन जिउने आशामा उनीहरू सम्पूर्ण सम्पत्ति धितो राखेर अमेरिका जस्ता देशतर्फ लाग्छन्। तर त्यहाँ पुगेपछि न घर हुन्छ न आरामदायी जीवन । यस अवस्थालाई चित्रित गर्दै कविले लेखेका छन् । “कुनै समयमा यिनीहरू पनि घरपरिवारलाई बन्धकी राखेर पैसा फाल्ने रुख खोज्दै अमेरिका छिरेका हुन्।”
सामाजिक यथार्थमा आधारित अर्को कथा हो ‘कृतघ्न’। आफ्नो सम्पूर्ण सम्पत्ति भाइ–बुहारीलाई दिएपछि वृद्धाश्रममा छोडिएका एक वृद्धको पीडा यस कथामा चित्रित गरिएको छ। सानो परोपकारी कार्यमा पनि खुसी हुनुपर्ने भाव कविले व्यक्त गरेका छन् । उनले लेखेका छन् “कृतघ्न भाइले अनजानमै भए पनि आज परोपकारी कार्य गरेपछि खुसी हुनु परेन त ।”
‘मुखौटो’ विवाहपूर्व जन्मिएको छोरालाई एक्लै छोडेकी महिलाको कथा हो । आफ्नो भन्न सक्ने कोही नभएका बलवीरले महिला मन्त्रीलाई आमा सरह मानेका हुन्छन् । तर ती मन्त्री आफ्नो इज्जत जोगाउन आफ्नै सन्तानलाई छोड्ने आमा थिइन्, र त्यो सन्तान बलवीर नै थिए। यस कथाले देखाउँछ .मानिसलाई सबैभन्दा बढी पीडा र खुसी दिने व्यक्ति आफ्नै हुने रहेछन्।
यसरी डा. कुसुमाकर शर्मा गौतमको ‘अविश्रान्त’ लघुकथा सङ्ग्रहमा यस्ता थुप्रै सन्देशमूलक र सुन्दर कथाहरू समावेश छन्। विगत्, वर्तमान, इतिहास, भविष्य, कुण्ठा, हर्ष, आशा, निराशा, यथार्थ र मानव जीवनका विविध पक्षहरू कथामा प्रस्तुत गरिएको छ। हरेक कथाको अन्त्यमा लेखकले कथासँग सम्बन्धित व्यङ्ग्यात्मक वाक्य प्रयोग गरेका छन्, जसले कथालाई छुट्टै स्वाद प्रदान गरेको छ। देशप्रतिको माया, समाजका विकृति, विसङ्गति, पारिवारिक प्रेम, राजनीतिक अस्थिरता र मानव स्वार्थ जस्ता विषयलाई आधार बनाएर कविले कथा रचना गरेका छन्। आफ्नै कल्पनामा आधारित केही कथाहरू पनि सङ्ग्रहमा रहेका छन्, जस्तै ‘प्रमथगण’ । आवश्यक पर्ने पात्रहरूको मात्र प्रयोग गरिएको हुँदा कथा बुझ्न अझ सहज बनेको छ । सरल शब्द प्रयोग गरेर पनि गहिरो भाव व्यक्त गर्न सफल भएका लेखकले यस कृतिमार्फत नयाँ दृष्टिकोण प्रदान गरेका छन्। थुप्रै नयाँ विचार र अनुभूति दिने यो लघुकथा सङ्ग्रह सबैले पढ्न योग्य छ । आशा छ, आगामी दिनमा पनि कविका यस्तै सुन्दर कृतिहरू पढ्ने अवसर प्राप्त हुनेछ ।
अनुश्री आचार्य
डियरवाक सिफल स्कुल
कक्षा: १० ‘माछापुच्छ्रे’