
परिचयः
बालसाहित्यमा निरन्तर कलम चलाउँदै आएका, समसामयिक यथार्थ र सामाजिक सम्बन्धहरूको नजिकबाट चित्रण गर्न चिनिने साहित्यकार महेश पौड्यालको जन्म वि.सं. २०३८ मा बुबा खुमप्रसाद पौड्याल र आमा पुष्पकुमारी पौड्यालको कोखबाट नेपालको पूर्वी भूभागमा भएको हो । साहित्यमा गहिरो पकड राख्ने उनी केवल कथाकार मात्र होइनन्, शिक्षक, गीतकार, नाटककार, समालोचक र अनुवादकका रूपमा पनि सक्रिय छन् । हाल उनी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अङ्ग्रेजी विभागमा उपप्राध्यापकका रूपमा कार्यरत छन् ।
यो कथासङ्ग्रह उनकै विशिष्ट सिर्जनात्मक क्षमताबाट जन्मिएको कृतिमध्ये एउटा सशक्त उदाहरण हो । पौड्यालले एक दर्जनभन्दा बढी मौलिक कृतिहरू लेखेका छन् र तीन दर्जनभन्दा बढी कृतिहरूको अनुवाद वा सम्पादनमार्फत नेपाली साहित्यमा थप योगदान दिएका छन् । उनका चर्चित कृतिहरूमध्ये 'त्यसपछि फुलेन गोदावरी', 'तादी किनारको गीत' र अङ्ग्रेजी उपन्यास 'मिडनाइट बेल' उल्लेखनीय छन् । उनले आफ्ना साहित्यिक योगदानका लागि गोठाले पाण्डुलिपि पुरस्कार (२०७०), नेपाल विद्याभूषण (२०६१) र महामण्डल पुरस्कार (२०७२) जस्ता थुप्रै पुरस्कार तथा उपाधिहरू प्राप्त गरेका छन् ।
शिखा बुक्सद्वारा प्रकाशित अपरिचित अनुहार मा जम्मा १८ वटा कथाहरू समावेश छन्। यी कथाहरूमा प्रेम, देशभक्ति, वृद्ध भावना, जातीय वर्गीकरण, निःस्वार्थता, आफूभन्दा ठूलाप्रतिको सम्मान, बालमस्तिष्क र बालजिज्ञासा, ईर्ष्या, नम्रताको शक्ति, पुत्रप्रेम जस्ता विविध समसामयिक विषयवस्तु देख्न सकिन्छ । १८ वटा कथाहरू १७३ पृष्ठमा फैलिएका छन्। यस कृतिको पहिलो संस्करण २०७८ साल भदौ महिनामा प्रकाशित भएको थियो भने हाल हामीले अध्ययन गरिरहेको दोस्रो संस्करण सोही वर्षको फागुनमा पुनः प्रकाशित गरिएको हो ।
विषयवस्तुः
'कहिल्यै नदेखिएको स्वर्ग वा नर्कको बयानले तपाईंलाई के फरक पार्छ? भन्नुहोस् त?' — पाना २२, मृगनयनी
माथिको कथांश यस पुस्तकको दोस्रो कृति 'मृगनयनी' बाट साभार गरिएको हो । मृगनयनी एक नेत्रहीन बालिकाको कथा हो। तर कथा अगाडि बढ्दै जाँदा हामीले बुझ्छौँ कि वास्तवमा नेत्रहीन मृगनयनी होइनन्, नेत्रहीन त समाज हो - हामी हौँ ।
कथाको सुरुवातमा ‘म’ पात्रले बसमा मृगनयनी नामकी एक केटीलाई भेट्छन्। उनीसँग कुराकानी गर्छन्, उनको सुन्दरताको मनमनै प्रशंसा गर्छन्, एउटा माला किनिदिन्छन् र सेल्फी खिचेर पोस्ट गर्छन् । उनले यो पनि बुझ्छन् कि मृगनयनी नेत्रहीन छिन् र उनका बुबाले मदिरा सेवन गर्छन् ।
वर्षौँ बित्छन् । पछि उनले थाहा पाउँछन् कि मृगनयनी र उनकी आमा पहिरोमा हराउँछन् । यस दुखद समाचारबाट पीडित ‘म’ पात्र समाजसेवामा लाग्छन् ।
कथाभरि ‘म’ पात्र स्वयं लेखक नै हुन् जस्तो लाग्छ । तर अन्त्यमा थाहा हुन्छ कि यो सम्पूर्ण कथा लेखकका मिल्ने साथी प्रान्जलको उपन्यासको एउटा अंश रहेछ । प्रान्जलले सोही उपन्यासका लागि २००० युरोको पुरस्कार प्राप्त गरेपछि पौड्याल र प्रान्जल दुवै उत्प्रेरणात्मक भाषण दिन अपाङ्ग सेवा केन्द्रमा जान्छन् ।
त्यहाँ उनीहरूले अपेक्षा गरेजस्तो दयाले भरिएको वातावरण भेटिँदैन । बरु दृष्टिविहीन बालबालिकाहरू आफ्ना सीमितताहरूलाई बोझका रूपमा नभई सामान्य जीवनको हिस्सा मानेर आत्मविश्वासका साथ अघि बढिरहेका हुन्छन् । उनीहरूको बोल्ने शैली, आत्मविश्वास र भविष्यप्रतिको आशाले ‘म’ पात्र र प्रान्जल दुवैको सोचाइ बदलिन्छ । उनीहरूले महसुस गर्छन् कि करुणाले भरिएको दृष्टिकोण मात्र पर्याप्त होइन ।
हामी नेपालीहरूले अपाङ्ग व्यक्तिहरूलाई 'कठै' वा 'बिचरा' भनेर मात्र हेर्ने प्रवृत्ति राख्छौँ, जुन आफैँमा गलत दृष्टिकोण हो। पुस्तकले देखाएझैँ अपाङ्गता दुर्बलता होइन। त्यहाँका बालबालिकाहरू प्रतिभाशाली थिए—कसैले गायनमा उत्कृष्टता देखाएका थिए भने कसैले बाँसुरी बजाउने कला प्रस्तुत गरेका थिए। त्यसैले 'कठै, बिचरा' जस्ता शब्द प्रयोग गर्न त्यागेर समान सम्मानका साथ व्यवहार गर्नु आवश्यक छ ।
'अभिमन्युको हिँडाइको सिलसिला रोकियो। उनी घरभित्रै कैदीजस्ता भए।' — पाना ४६, अभिमन्यु
महाभारतका वीर योद्धा अभिमन्युको कथा हामी सबैले सुनेका छौँ। त्यही साहस र वीरताका कारण रवीन्द्रजङ्ग ठकुरी पनि ‘अभिमन्यु’ नामले चिनिन्छन् ।
उनी डडेलधुरामा जन्मिएका थिए र कम उमेरमै भारतीय सेनामा भर्ना भएका थिए । युद्धका क्रममा घाइते भएपछि चिकित्सकले उनको मानसिक अवस्था सेनाका लागि उपयुक्त नभएको ठहर गरेपछि उनी अवकाश लिएर गाउँ फर्किन्छन् ।
तर युद्धका अनुभवहरूले उनलाई पछ्याइरहन्छ। ठुलो आवाज सुन्नासाथ उनी फेरि युद्धको कल्पनामा हराउँछन्। यस अवस्थालाई मनोविज्ञानमा PTSD (Post Traumatic Stress Disorder) भनिन्छ।
यस अवस्थाका कारण उनका छोराले उनलाई घरभित्रै सीमित राख्छ। जीवनभर खुला वातावरणमा रमाउने अभिमन्युका लागि यो स्थिति अत्यन्त पीडादायी हुन्छ। यस कथाले हामीलाई आफूलाई अनुकूल वातावरणमा रहनुपर्ने सन्देश दिन्छ ।
'कुनै सार्थक काम गरेर मर्ने मौका छ भने किन नगर्ने? त्यस बालकलाई बचाएर मरेँ भने म बाँचिरहनेछु। यो मेरो जीवनदर्शन हो ।' — पाना ६५, दुई मृत्यु
केदारनाथ हिन्दु धर्मावलम्बीहरूका लागि पवित्र तीर्थस्थल हो । एकदिन यात्रुहरूको समूह त्यहाँ जाँदै गर्दा भारी वर्षाका कारण पहिरो जान्छ । धेरैजसो यात्रुहरू ज्यान जोगाउने प्रयासमा नदीमा बग्छन् ।
तीमध्ये एक धनी व्यापारी र एक गरिब जोगी चट्टान समातेर बसेका हुन्छन् । जात, वर्ग वा हैसियत नभनी उनीहरू एकअर्कालाई सहयोग गरिरहेका हुन्छन्। केही समयपछि नजिकै एक बालक रोइरहेको आवाज सुनिन्छ ।
जोगीले त्यो बालकलाई बचाउने निर्णय गर्छन् । आफ्नो बर्को बालकमाथि फालेर उसको ज्यान जोगाउने प्रयास गर्छन् । अन्ततः बालकको उद्धार हुन्छ, तर जोगी र व्यापारी दुवैको मृत्यु हुन्छ।
यस कथाले निःस्वार्थता र मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दछ ।
अन्य कथाहरूले पनि विविध सन्देश दिन्छन् । 'आवाजहरू' ले सामाजिक प्राणी बन्न सिकाउँछ भने 'बगर'ले बाहिरी देखावटका आधारमा मूल्याङ्कन नगर्न सिकाउँछ। 'चौकीभित्र–चौकीबाहिर' ले ठुलाप्रतिको सम्मान, 'दुर्ग'ले बालमस्तिष्कको समझ, 'डबल पेन्सन'ले स्वास्थ्यप्रतिको सचेतना, 'उपलब्धि' ले नम्रता, र 'मन्दिर'ले आमाबुबाप्रतिको कर्तव्यबोध सिकाउँछ ।
'अपरिचित अनुहार' कथाले पुत्रवियोगको पीडा र प्रकृति संरक्षणको सन्देश प्रस्तुत गर्दछ।
आलोचनात्मक विश्लेषणः
यस कृतिमा समावेश १८ वटा कथाहरूले नेपाली समाजका विविध पक्षहरूलाई संवेदनशील ढङ्गले चित्रण गरेका छन् । कथाहरू मनोरञ्जनका साथै शिक्षाप्रद पनि छन्, जसले किशोरकिशोरीहरूका लागि विशेष उपयोगिता राख्छ।
तर केही सीमित कमजोरीहरू पनि देखिन्छन्। 'मृगनयनी' कथामा अन्त्यतिर आएको अचानक मोडले पाठकलाई अलि असहज बनाउँछ। त्यस्तै, ‘अपरिचित अनुहार’ कथामा प्रयोग गरिएको काल्पनिक तत्वले पुस्तकको समग्र यथार्थवादी धारालाई केही फरक दिशातर्फ मोडेको अनुभूति हुन्छ।
निष्कर्ष र सिफारिसः
निष्कर्षतः, यस पुस्तकको विषयवस्तु र भाषाशैली विद्यालय तह तथा १३ देखि २१ वर्ष उमेर समूहका किशोरकिशोरीहरूका लागि उपयुक्त छन् । प्रत्येक कथामा जीवनोपयोगी सन्देश समेटिएको छ ।
यस पुस्तक पढ्दा मलाई कुनै गुनासो वा पछुतो लागेको छैन । त्यसैले आफ्नै उमेर समूहका पाठकहरूलाई यो पुस्तक पढ्न म सिफारिस मात्र होइन, आह्वान नै गर्दछु ।
सुविज्ञराज खरेल
कक्षा - ९
डियरवाक सिफल स्कुल