
चार भित्ताभित्र सास अब अड्किन थाल्यो,
लाग्छ खुला आकाशले मलाई बोलाइरहेछ,
स्वतन्त्रताको गीत कतैबाट गुञ्जिरहेछ।
सिरसिरे बसन्ते हावाले कपाल उडाउँदा,
मेरो रन्थनीएको मुटुमा शीतलता छर्दै जाँदा
सायद त्यो हावाले मेरो पीडा बुझ्न खोज्छ,
नबोलेका शब्दहरूलाई स्पर्शले सोध्न खोज्छ।
परेलीबाट झरेका आँसु देखेर होला,
बेमतलबको वर्षा परिरहेछ चारैतिर खोलै खोला।
ती आँसु लुकाउन प्रकृतिले साथ दिइरहेझैँ,
मेरो मौन पीडालाई संसारले ढाकिरहेझैं।
जति चिच्याएँ पनि, सुन्ने कोही भएन,
यो भित्ताको त कान मात्र रहेछ
सायद दुई शब्द मात्रै फर्काएर बोलिदिएको भए,
यो मनको भार अलिक हलुका भइदिएको भए।
के साँच्चै यति कठोर हुन्छ प्रेमको बाटो ?
के यति सजिलै हल्लिन्छ आत्मविश्वासको गाँठो ?
किन यस्तो आँधीले मनको जग हल्लाइदिन्छ,
आफ्नै अस्तित्वसँग प्रश्न चिन्ह लगाइदिन्छ ?
अब त यस्तो लाग्छ आकाश र धर्तीले पनि नहेरेझैँ,
आफ्नै शरीरले मेरा कुरा नसुनेझैँ,
दिमागले भनेको मनले मान्दैन,
मनले बोलेको दिमागले ठान्दैन।
चार भित्ताभित्रको त्यो निसास्सिएको संसारबाट,
आफैलाई कसरी निकालूँ म यो अन्धकारबाट?
-स्वागता लुइँटेल