APF | 1114 |
Nepal Police | 100 |
Ambulance | 102 |
DEOC | 1234 |
Asst. CDO Rasuwa | 9851164422 |
Rasuwa Police | 9851254960 |
Asst. CDO Nuwakot | 9851248777 |
Nuwakot Police | 9851282380 |
CDO Dhading | 9851247777 |
Dhading Police | 9851229860 |
Asst. CDO Chitwan | 9855088891 |
Chitwan Police | 9855013999 |
रसुवाको टिमुरेमा ड्युटीमा खटिएको सशस्त्र प्रहरी बलको टोली सम्पर्कविहीन भएको छ। सञ्चार सम्पर्क विच्छेद भएपछि टोलीको अवस्थाबारे विस्तृत विवरण प्राप्त हुन नसकेको सशस्त्र प्रहरीले जनाएको छ
यस्तै, टिमुरेमै ड्युटीमा खटिएका नेपाल प्रहरीका सात जना भने सम्पर्कमा आएका छन्। सञ्चार सम्पर्कमा समस्या देखिएपछि घटनाबारे थप विवरण संकलन गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

रसुवामा तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेपछि नदीको बहाव उच्च भएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले भोटेकोशी नदीमा पानीको सतह बढेको जनाएको छ।
बाढीका कारण त्रिशूली नदीको तटीय क्षेत्रमा समेत जोखिम बढेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहँदै सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ। प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेकाले अर्को सूचना जारी नभएसम्म त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
उनका अनुसार त्रिशूली नदीको तटीय क्षेत्रमा विशेषगरी मुग्लिनसम्मका बासिन्दाले जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा रहन आवश्यक छ।

भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि पानीको बहाव उच्च भएको छ। तिब्बतमा हिमताल विस्फोट भएको आशंका गरिए पनि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन।
बाढीको जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। विशेषगरी मुग्लिनसम्मको तटीय क्षेत्रमा अर्को सूचना नआएसम्म सतर्क रहन अनुरोध गरिएको छ।

रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि मनसुन प्रतिकार्य कमान्ड पोष्टको आकस्मिक बैठक सुरु भएको छ। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बैठक बसिरहेको हो।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा पानीको बहाव उच्च रहेको छ। बाढीको जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने त्रिशूली नदी तथा आसपासका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढी धादिङको गल्छी आसपास पुगेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार बाढी अबको केही घण्टामा मुग्लिन पार गर्ने क्रममा रहेको छ।
बाढीको जोखिमलाई ध्यानमा राख्दै महाशाखाले पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडकखण्ड तथा त्रिशूली नदी आसपासका बस्ती र बजार क्षेत्र खाली गरी उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेपछि त्रिशूली नदी तटीय क्षेत्रमा अति उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार बाढीको असर मुग्लिनसम्म पर्न सक्ने अनुमान गरिएको छ।
महाशाखाले नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन तथा पृथ्वी राजमार्गलगायत आसपासका सडकमा आवागमन नगर्न आग्रह गरेको छ। देवघाट तथा चितवन–नवलपरासीका तटीय क्षेत्रमा समेत बाढीको असर पर्न सक्ने जनाइएको छ।
बाढीको कारणबारे यकिन भइनसकेको भन्दै अर्को सूचना नआएसम्म अति उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको बताएका छन्। अन्य जिल्लाबाट थप जनशक्ति, मेडिकल टोली, एम्बुलेन्स र स्वास्थ्यकर्मीसमेत प्रभावित क्षेत्रमा पठाइएको उनले जनाएका छन्। तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न निर्देशन दिइएको छ। उद्धारका लागि सरकारी तथा निजी हेलिकोप्टर परिचालन र स्ट्यान्डबाई राखिएको जनाइएको छ। बाढीपछिको अवस्थाबारे थप निर्णय गर्न उच्चस्तरीय बैठक बोलाइएको प्रधानमन्त्री शाहले बताएका छन्।

भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवाका नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका विभिन्न जलविद्युत् आयोजना तथा विद्युत् गृहमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण आयोजनामा कार्यरत केही कर्मचारीको अवस्थासमेत अझै अज्ञात रहेको प्राधिकरणले जनाएको छ।
रसुवागढी, त्रिशूली–३ बी हब, त्रिशूली, माथिल्लो त्रिशूली–३ ए र देवीघाटलगायत विद्युत् गृह प्रभावित भएका छन्। क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ भने सञ्चार तथा आवतजावत अवरुद्ध भएकाले कर्मचारीको अवस्थाबारे यकिन जानकारी आउन सकेको छैन।

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले भोटेकोसीबाट आएको भीषण बाढीका कारण तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको बताएका छन्। उनका अनुसार क्षतिको यकिन विवरण अझै प्राप्त भएको छैन। उद्धार तथा क्षतिको विवरण संकलनको काम भइरहेको उनले जानकारी दिए।

जलवायुविज्ञ धर्मराज उप्रेतीले तिब्बतमा हिमपहिरो गएर बनेको ड्याम फुट्दा रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको प्रारम्भिक अनुमान गरिएको बताएका छन्।उनका अनुसार एकैपटक ठूलो परिमाणमा पानी बगेपछि बाढी आएको हुनसक्छ। घटनाको वास्तविक कारणबारे अध्ययन भइरहेको उनले बताए। चीनबाट बाढीसम्बन्धी एसएमएस प्राप्त भएको र त्यसबारे समेत अध्ययन भइरहेको उप्रेतीले जानकारी दिए।

रसुवामा आएको भीषण बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्। बैठक केहीबेरमा सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा गृह मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकसमेत जारी छ। उद्धार तथा राहतका लागि नेपाली सेनाका दुई हेलिकोप्टर मेडिकल टोलीसहित प्रभावित क्षेत्रमा पठाइएको छ भने निजी हेलिकोप्टरलाई तयारी अवस्थामा राखिएको छ।
स्याफ्रुबेँसी र टिमुरेलगायत क्षेत्रमा उद्धार तथा राहत तीव्र पारिएको छ। तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न निर्देशन दिइएको छ भने जोखिमका कारण पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी र मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न आग्रह गरिएको छ।

तिब्बतबाट आएको भीषण बाढीका कारण रसुवाको टिमुरेस्थित बोर्डर आउट पोस्ट (बीओपी)मा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन्। उनीहरूसँग सम्पर्क हुन नसकेको सशस्त्र प्रहरी बलले जनाएको छ। बीओपीमा रहेका अन्य २५ देखि ३० जना सशस्त्र प्रहरी भने सुरक्षित रहेको जनाइएको छ। तिब्बतबाट अचानक नेपाल प्रवेश गरेको बाढीले रसुवाको सीमावर्ती क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ।

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा आएको ठूलो बाढीले त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। गल्छीसम्म आइपुग्दा एउटा झोलुंगे पुल बगाएको उनले बताइन्।
भौतिक क्षति रोक्न सकिने अवस्था नरहेकाले मानवीय क्षति न्यूनीकरणमा ध्यान दिइएको छ। तटीय बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्नुका साथै गाडीहरू सुरक्षित स्थानमा राखिएको छ। उद्धार तथा व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालन गरिएको छ।

रसुवा भोटेकोशीमा आएको बाढीको कारणबारे चिनियाँ पक्ष नै हालसम्म अनविज्ञ रहेको विपद्विज्ञ वसन्तराज अधिकारीले बताएका छन्। चीनको छेन्दुबाट उनले बाढी कहाँबाट सुरु भयो भन्ने यकिन हुन नसकेको जानकारी दिए।
सम्पर्क अभावका कारण सूचना पाउन कठिन भइरहेको भन्दै चिनियाँ पक्षले स्याटेलाइटमार्फत बाढीको स्रोत पहिचान गर्ने प्रयास गरिरहेको उनले बताए। प्रारम्भिक रूपमा हिमपहिरो वा पहिरोका कारण ड्याम बनेर खोला फुट्दा बाढी आएको हुनसक्ने उनको आकलन छ।

रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले पृथ्वी राजमार्ग तथा गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी र मुग्लिङ–नारायणगढ सडकमा आवागमन रोक्न प्रहरी प्रशासनलाई आग्रह गरेको छ। साथै रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र तनहुँका नदी तटीय बस्तीका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान अपिल गरेको छ। उद्धार आवश्यक परे १००, १२३४ वा १११४ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आज नहुने भएको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रको अवस्थाबारे आवश्यक समन्वयमा व्यस्त हुनुपर्ने भएकाले प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको हो।
संसद् सचिवालयका अनुसार आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले भोटेकोसी बाढीबारे सदनलाई जानकारी गराउने तयारी भइरहेको छ। यसअघि आजको बैठकमा प्रधानमन्त्री शाहले सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची तय भएको थियो।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाएर बैठकको कार्यसूची परिवर्तन गर्ने तयारी भइरहेको संसद् सचिवालयले जनाएको छ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ।

रसुवामा आएको बाढीका कारण नेपाल विद्युत् प्राधिकरण तथा निजी क्षेत्रका विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्। प्राधिकरणको प्रारम्भिक तथ्यांकअनुसार रसुवा क्षेत्रमा रहेका १२ वटा विद्युत् आयोजना तथा निर्माणाधीन संरचना बगेका छन्, जसको कुल क्षमता ४३१.१ मेगावाट रहेको छ।
बाढीबाट रसुवागढी (१११ मेगावाट), चिलिमे (२२ मेगावाट), लाङटाङ (२० मेगावाट), माथिल्लो त्रिशूली–३ ए (६० मेगावाट), त्रिशूली (२४ मेगावाट), देवीघाट (१४ मेगावाट) लगायतका आयोजना प्रभावित भएका छन्। सान्जेन, माथिल्लो सान्जेन, माथिल्लो मैलुङ र मेलुङ आयोजनामा पनि क्षति पुगेको छ।
प्रभावित आयोजनाको भौतिक संरचना तथा विद्युत् उत्पादनमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्राधिकरणले जनाएको छ।

प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आज नहुने भएको छ। भोटेकोसीमा आएको बाढीपछि प्रधानमन्त्री बाढीसम्बन्धी काममा व्यस्त हुनुपर्ने भएकाले कार्यक्रम स्थगित गरिएको हो।संसद् सचिवालयका अनुसार आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले बाढीबारे सदनलाई जानकारी गराउने तयारी छ। यसअघि प्रधानमन्त्री शाहसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची थियो।बैठकको कार्यसूची परिवर्तन गर्ने तयारी भइरहेको छ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ।

रसुवामा भीषण बाढी आएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा समन्वयका लागि राज्यका सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ।

बाढी प्रभावितको उद्धार तथा खोजीका लागि १२ वटा हेलिकोप्टर परिचालन गरिएको छ। नेपाली सेनाका चार र निजी कम्पनीका आठ हेलिकोप्टर उद्धारमा खटिएका छन्।
नेपाली सेनाका अनुसार हालसम्म स्याफ्रुबेँसीबाट ६, मैलुङबाट २ र धुन्चेबाट ४ गरी १२ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकाहरूलाई नेपाली सेनाको त्रिशूली नम्बर १ सैन्य तालिम केन्द्रमा ल्याइएको छ, जहाँ उनीहरूको प्राथमिक उपचार गरिने सेनाले जनाएको छ।

रसुवामा बाढी आएपछि जलविद्युत् आयोजना र सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका आठ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्।
त्रिशूली जलविद्युत् ‘ए’को सुरक्षाका लागि खटिएको १९ जनाको टोलीमध्ये चार जना सम्पर्कविहीन छन्। यस्तै, रसुवाको टिमुरे बीओपीमा खटिएका थप चार जना सशस्त्र प्रहरी पनि सम्पर्कविहीन भएको जनाइएको छ।

भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमले टेलिफोन, एसएमएस र इन्टरनेट सेवा दुई दिनका लागि निःशुल्क गरेको छ।
टेलिकमका अनुसार प्रभावित ग्राहकले दैनिक अनलिमिटेड भ्वाइस, २ जीबी डाटा र ५० वटा एसएमएस निःशुल्क पाउनेछन्। बाढी प्रभावित तथा आसपासका क्षेत्रमा सावधानी अपनाउन टेलिकमले एसएमएसमार्फत सूचनासमेत दिइरहेको छ।
बाढीका कारण रसुवामा दुई र नुवाकोटमा पाँच गरी सात वटा टावरमा क्षति पुगेको प्रारम्भिक विवरण छ। क्षतिग्रस्त टावर तथा सेवा पूर्वाधार मर्मतका लागि टेलिकमको टोली प्रभावित क्षेत्रमा खटिएको छ।

भोटेकोसी नदीमा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्कविहीन भएका छन्।
अर्थमन्त्री डा. स्वर्णीम वाग्लेको सचिवालयका अनुसार भन्सारमा ३६ स्थायी दरबन्दीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा छन्। यस्तै, चार करार तथा ज्यालादारी कर्मचारीमध्ये एक जना सम्पर्कमा छन्।
सम्पर्कविहीनमध्ये ११ जना स्थायी र तीन जना करार तथा ज्यालादारी कर्मचारी रहेका छन्। उनीहरूको खोजी भइरहेको सचिवालयले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागकी प्रमुख अर्चना श्रेष्ठले रसुवा–नुवाकोट क्षेत्रमा भएको ठूलो क्षति हिमताल फुट्दा वा पहिरोका कारण नदी थुनिएर बाढी आएको हुनसक्ने अनुमान गरेकी छन्। बाढीको यकिन कारण भने अझै पुष्टि नभएको उनले बताइन्।
विभागले घटनाको वास्तविक अवस्था पत्ता लगाउन स्याटेलाइटबाट निगरानी गरिरहेको छ। उद्धार टोलीलाई वर्षाको सम्भावनाबारे जानकारी गराइएको र मौसमका कारण उद्धारमा पर्न सक्ने असरबारे पनि निगरानी भइरहेको श्रेष्ठले बताइन्।
उनले नारायणगढ र त्यसभन्दा तल्लो तटीय क्षेत्रमा समेत उच्च सतर्कता अपनाउन आग्रह गरेकी छन्। नदीको बहाव घटे पनि फेरि बाढी आउन सक्ने भएकाले पूर्ण रूपमा जोखिम नहटेसम्म नदी किनारमा नजान उनले सुझाव दिइन्।
विभागका अनुसार रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा क्रमिक रूपमा बादल बढ्दै जाने र केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको सम्भावित कारण हिमपहिरो रहेको विपद् विज्ञ वसन्तराज अधिकारीले बताएका छन्।
उनका अनुसार रसुवा बजारबाट करिब २० किलोमिटर माथि रहेको लेन्दे खोलामा हिमपहिरो खसेर खोला थुनिएको र पछि फुट्दा बाढी आएको हुनसक्छ। घटनास्थलको स्थलगत तस्बिर भने अझै प्राप्त नभएको उनले बताए।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ८ः३७ बजे लेन्दे आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पले पनि हिमपहिरो जान भूमिका खेलेको हुनसक्ने अधिकारीको अनुमान छ।

भोटेकोशीमा आएको बाढीपछि सशस्त्र प्रहरीले पुरिएका तथा हराइरहेका व्यक्तिको खोजीका लागि ‘स्निफर डग’ र ड्रोन परिचालन गरेको छ।
सशस्त्र प्रहरीका अनुसार रसुवागढी भन्सार यार्डलगायत प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोली खटाइएको छ। बाढी प्रभावितलाई सुरक्षित स्थानमा सार्ने, घाइतेको प्राथमिक उपचार गर्ने तथा पहिरो हटाएर सडक खुलाउने काम पनि भइरहेको छ।
नुवाकोटको विदुरमा अस्थायी स्वास्थ्य शिविर सञ्चालनको तयारी गरिएको छ भने नुवाकोट, धादिङ र चितवनका सशस्त्र प्रहरी युनिटलाई पनि उद्धारका लागि सतर्क अवस्थामा राखिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशीमा पुनः बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दा र उद्धारमा खटिएका टोलीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणका एक अधिकारीका अनुसार चिनियाँ पक्षले फुटेको भनिएको हिमतालमा अझै करिब ७ मिटर अग्लो पानीको ड्याम रहेको र जुनसुकै बेला फुट्न सक्ने जानकारी दिएको छ।
त्यसैले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र राहत तथा उद्धारमा खटिएका टोलीले समेत विशेष सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ।

भोटेकोशी नदीमा आएको बाढीपछि नदी किनारका विभिन्न क्षेत्रमा सातजनाको शव फेला परेको छ।
वाग्मती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार रसुवामा चार र धादिङमा तीनजनाको शव फेला परेको हो। मृतकको पहिचान भने खुल्न सकेको छैन।
बाढीबाट भएको क्षति र उद्धारसम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
मन्त्रिपरिषद्को बैठकले प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गर्दै बाढीमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ। यस्तै, मृत्यु भएकाका परिवारलाई कानुनअनुसार राहत उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

गृहमन्त्री सुधन गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक तयारीबारे समन्वय गर्न उनी विमानस्थल पुगेका हुन्।
उद्धार कार्यलाई तीव्रता दिँदै प्रभावित नागरिकलाई सुरक्षित स्थानमा ल्याउने तयारी भइरहेको छ।

भोटेकोसी नदीमा आएको बाढीका कारण त्रिशूली नदीमा रहेका १९ वटा पुलमा क्षति पुगेको छ। बाढीले करिब ४० किलोमिटर सडकसमेत क्षतिग्रस्त भएको सडक विभागले जनाएको छ।
विभागका अनुसार क्षतिको विस्तृत आकलन भइरहेको छ भने प्रभावित सडक तथा संरचनाको मर्मतसम्भार सुरु गरिएको छ।

रसुवाबाट नेपाली सेनाले उद्धार गरी काठमाडौं ल्याएका तीनजना गम्भीर घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
ट्रमा सेन्टरका डा. रुद्रप्रसाद मरासिनीका अनुसार तीनैजना घाइतेको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई आवश्यक उपचार तथा चिकित्सकीय निगरानीमा राखिएको उनले बताए।

रास्वपाका सभापति रवि लामिछानेले विपद्का बेला सरकारले खोजी तथा उद्धारलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विपद्मा परेका नागरिकको उद्धार र पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गर्नुपर्ने बताए। उनले ठूलो चुनौती सामना गर्न सक्ने राष्ट्रिय सामर्थ्य नेपालसँग रहेको उल्लेख गर्दै विपद्मा परेका नागरिकलाई पुनर्स्थापनाका लागि प्रतिबद्ध भएर अघि बढ्नुपर्ने बताए।

तिब्बततर्फबाट बुधबार बिहान रसुवाको उत्तरी सीमाबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गर्दा टिमुरे, रसुवागढी र स्याफ्रुबेँसीमा ठूलो क्षति भएको छ। बाढी त्रिशूली हुँदै नुवाकोट, धादिङ, गोरखा र चितवनसम्म पुगेको छ।
प्रारम्भिक विश्लेषणमा यो सामान्य वर्षाका कारण आएको बाढीभन्दा फरक देखिएको छ। छोटो समयमा पानीको सतह र बहाव अस्वाभाविक रूपमा बढेकाले हिमताल वा हिमनदीबाट अचानक पानी निस्किएको हुनसक्ने विज्ञहरूको आशंका छ। यद्यपि बाढीको वास्तविक स्रोत र कारण पुष्टि भइसकेको छैन।
चीनको तिब्बतस्थित केरुङ क्षेत्रमा बुधबार बिहान पहिरो र आकस्मिक बाढी गएको विवरण पनि सार्वजनिक भएको छ। उक्त घटनाले नेपालमा आएको बाढीसँग सम्बन्ध हुनसक्ने आशंका गरिएको छ।
यसैबीच, अगस्ट २४ को स्याटेलाइट तस्बिरको प्रारम्भिक अध्ययनमा भोटेकोशीसँग जोडिएको क्षेत्रभन्दा करिब ३५–३८ किलोमिटर माथि पानीको प्रवाह सक्रिय भएको संकेत देखिएको विज्ञहरूले बताएका छन्। थप स्याटेलाइट तस्बिर र स्थलगत अध्ययनपछि मात्र बाढीको वास्तविक स्रोत पहिचान गर्न सकिने बताइएको छ।
विज्ञहरूले बाढीको कारण पत्ता लगाउन हिमताल, हिमनदी, पहिरो, वर्षाको तथ्यांक र नदीको बहावलाई समेटेर बहुविषयगत अध्ययन आवश्यक रहेको बताएका छन्।

भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण ३८४ जना पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार तीमध्ये २९१ जना विदेशी र ९३ जना स्वदेशी छन्। सम्पर्कविहीन विदेशी पर्यटकमध्ये १०५ जनाभन्दा बढी भारतीय रहेको बोर्डले जनाएको छ।

चीनको तिब्बतस्थित शिगात्से क्षेत्रको केरुङ काउन्टीमा बुधबार बिहान भीषण पहिरो र आकस्मिक बाढी आउँदा ठूलो क्षति भएको चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ।
पहिरोका कारण सडक, सञ्चार र विद्युत् सेवा अवरुद्ध भएका छन् भने केही मानिस बेपत्ता भएको र मानवीय क्षति भएको आशंका गरिएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले बेपत्ताको खोजी तथा उद्धार तीव्र पार्न निर्देशन दिएका छन्।
नेपालस्थित चिनियाँ दूतावासले पनि आपतकालीन संयन्त्र सक्रिय गर्दै प्रभावित क्षेत्रमा रहेका आफ्ना नागरिक तथा व्यवसायीको सुरक्षा अवस्थाबारे जानकारी लिइरहेको जनाएको छ। दूतावासले नेपालमा रहेका चिनियाँ नागरिक तथा संस्थालाई बाढी–पहिरो जोखिम भएका क्षेत्रमा नजान र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

परराष्ट्रमन्त्री शिशिर खनालले भूकम्पपछि हिमपहिरो खस्दा भोटेकोसीमा बाढी आएको प्रारम्भिक सूचना प्राप्त भएको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा उनले बिहान ८ः३७ बजे उक्त क्षेत्रमा भूकम्प गएको र त्यसपछि हिमपहिरो खसेर बाढी आएको सूचना प्राप्त भए पनि थप पुष्टि आवश्यक रहेको बताए।
बाढीले रसुवा र नुवाकोटका विभिन्न स्थानमा क्षति पुर्याएको भन्दै उनले भोटेकोसी र त्रिशूली नदी आसपासका रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिए।

सरकारले राहत तथा उद्धारका लागि रसुवा र नुवाकोटका जिल्ला विपद् व्यवस्थापन कोषमा थप रकम पठाएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार व्यवस्थापन कोषमा अर्थ मन्त्रालयबाट रसुवा र नुवाकोटमा एक/एक करोड रुपैयाँ पठाइएको हो । यस्तै, धादिङमा ५० लाख रुपैयाँ पठाइएको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिए ।

रसुवामा आएको बाढीबाट सम्पर्कविहीन कर्मचारी, मजदुर तथा स्थानीयको अवस्था पहिचान गरी उद्धारका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ। नेपाल विद्युत् प्राधिकरणले उद्धारका लागि सात सवारीसाधन प्रभावित क्षेत्रमा पठाएको छ भने थप १४ वटा तयारी अवस्थामा राखेको छ।
बाढीबाट रसुवाका आठ र नुवाकोटका छ गरी १४ जलविद्युत् आयोजना प्रभावित भएका छन्। रसुवामा सञ्चालनमा रहेका पाँच र निर्माणाधीन तीन आयोजना प्रभावित हुँदा कुल ५७८.४२ मेगावाट क्षमतामा असर परेको छ। नुवाकोटमा सञ्चालनमा रहेका चार र निर्माणाधीन दुई आयोजनामा पनि क्षति पुगेको मन्त्रालयले जनाएको छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले क्षतिको विवरण तत्काल संकलन गरी उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्रता दिन निर्देशन दिएका छन्। प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना गर्न प्राविधिक टोली परिचालन गरिएको छ भने बाढी जोखिमबारे दुई लाखभन्दा बढी एसएमएस अलर्ट पठाइएको मन्त्रालयले जनाएको छ।

रसुवाको भोटेकोसी नदीमा बुधबार आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
नेपाल प्रहरीका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा चार जना, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा एक जना र महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा २० जनाको उपचार भइरहेको छ। घाइतेमध्ये विभिन्न जिल्ला तथा रसुवाका स्थानीय र बाढी प्रभावित क्षेत्रमा रहेका व्यक्तिहरू छन्। शिक्षण अस्पतालमा उपचाररत एक घाइतेसँग तीन महिनाको शिशुसमेत रहेको प्रहरीले जनाएको छ।

तिब्बतबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लाहरूका नदी तटीय क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूका शाखा कार्यालयहरू क्षति भएका छन् ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार, प्रभावित क्षेत्रमा ९ वटा वाणिज्य बैंकका शाखाहरू, केही विकास बैंक र एउटा वित्त कम्पनीको शाखा रहेको छ । जसअनुसार उक्त क्षेत्रमा रहेका करिब एक दर्जन बढी बैंकका शाखा कार्यालयहरू पनि अनुमान गरिएको छ ।
हाल सञ्चार सम्पर्कमा कठिनाइ भएका कारण कर्मचारीहरूको अवस्था र भौतिक क्षतिको यकिन विवरण प्राप्त भइनसकेको उनले बताए । “अहिले नै क्षतिको विवरण सार्वजनिक गर्नु हतारो हुनेछ, किनकि धेरै स्थानमा सम्पर्क हुन सकेको छैन,” पौडेलले बाह्रखरीसँग भने, “बैंकका ढुकुटीमा रहेको नगद सुरक्षाका विषयमा बैंकहरूले सुरक्षा मापदण्ड अपनाउने भएकाले ठ्याक्कै कति रकम नोक्सानी भयो भन्ने विवरण सार्वजनिक गरिँदैन ।”

भोटेकोसी नदीको बाढी त्रिशूलीमा मिसिएपछि धादिङमा पनि ठूलो भौतिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा तीन मोटरेबल पुल, १० झोलुंगे पुल र केही घरमा क्षति पुगेको छ।
हालसम्म मानवीय क्षतिको विवरण नआए पनि भोटेकोसीले बगाएर ल्याएका शव धादिङमा फेला पर्न सक्ने आशंका गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहसँग फोन संवाद गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपद् प्रभावित क्षेत्रमा भारतले सबै किसिमको सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
मोदीले विपद् प्रतिकार्यका लागि भारतीय टोली तयारी अवस्थामा रहेको बताउँदै दुःखको यस घडीमा भारत नेपालसँगै रहेको उल्लेख गरेका छन्। उनले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी दर्जनौँ जलविद्युत् आयोजनामा क्षति पुगेको छ। इप्पानका अनुसार रसुवा र नुवाकोटका आयोजनाका बाँध, हेडवक्र्स, पावर हाउस, पहुँचमार्ग तथा प्रसारण संरचनामा ठूलो क्षति भएको प्रारम्भिक विवरण छ।
माथिल्लो त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा क्षति पुगेपछि कतिपय आयोजना राष्ट्रिय प्रसारण प्रणालीबाट समेत विच्छेद भएका छन्। इप्पानले प्रभावित क्षेत्रमा रहेका कामदार तथा प्राविधिकको तत्काल उद्धार र क्षतिग्रस्त संरचनाको शीघ्र पुनर्निर्माण गर्न सरकारसँग आग्रह गरेको छ।

रसुवाको टिमुरे–२ का स्थानीय बाढीबाट जोगिन गाउँभन्दा करिब २०० मिटर माथि पुगे पनि आठ घण्टादेखि उद्धारको पर्खाइमा छन्। बिहान ९ बजे सुरक्षित स्थानतर्फ उक्लिएका उनीहरू खानपिनबिनै बसिरहेका छन्। नेपाली सेनाले उद्धारको प्रयास गरिरहेको छ भने पानीको बहाव घटेको छ। बाढीमा कति मानिस बेपत्ता वा बगे भन्ने यकिन विवरण भने अझै आएको छैन।

बाढीपहिरोका कारण राहत तथा उद्धारमा सरकार र सांसदहरू संलग्न हुनुपर्ने भन्दै बिहीबार दिउँसो १ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ।
बुधबार बसेको बैठकमा सांसदहरूले बाढीबारे धारणा राखेका थिए भने परराष्ट्रमन्त्री शिशिर खनालले सरकारका तर्फबाट सदनलाई जानकारी गराएका थिए।

भोटेकोशीमा अप्रत्याशित रूपमा आएको बाढीका कारण अकल्पनीय क्षति भएको छ। भीषण बाढीले रसुवा, नुवाकोट र धादिङका रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, बेत्रावती, त्रिशूलीबजार, देवीघाटलगायतका बस्तीहरूमा ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ। हालसम्म मानवीय र अन्य क्षतिको यथार्थ विवरण प्राप्त भइनसके पनि प्रभावित क्षेत्रका धेरै नागरिक, सुरक्षाकर्मी र कर्मचारी सम्पर्कविहीन भएका छन्।

बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबार साँझ साढे ६ बजे देवघाटमा भोटेकोसी बाढीको अतिरिक्त बहाब करिब २ करोड घनमिटर मापन भएको छ। तिब्बततर्फ नदी थुनिएर बनेको ताल फुट्दा भोटेकोसी हुँदै त्रिशूली र नारायणी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको प्राविधिक प्रतिवेदनमा उल्लेख छ। पूर्वसूचनाका कारण ठूलो संख्यामा मानिसको ज्यान जोगिएको पनि प्रतिवेदनले जनाएको छ।

नेपालको भोटेकोसीमा आएको विनाशकारी बाढीलाई वैज्ञानिकहरूले ‘विशाल भूभौतिकीय घटना’ र त्यसपछि उत्पन्न शृंखलाबद्ध प्रतिक्रियाको परिणाम बताएका छन्।
अमेरिकाको कोलम्बिया विश्वविद्यालयका भूभौतिकविद् प्रोफेसर गोरान एकस्ट्रोमका अनुसार भीषण पहिरोले ठूलो हिमनदीको भाग बगाउँदा उत्पन्न कम्पन विश्वभरका सिस्मोग्राफमा ५.२ म्याग्निच्युडको भूकम्पका रूपमा रेकर्ड भएको थियो। पहिरोबाट उत्पन्न अत्यधिक ऊर्जाले हिमनदी पग्लिँदा ठूलो मात्रामा पानी, हिउँ र लेदो बगेको उनको भनाइ छ।
उनका अनुसार जलवायु परिवर्तनका कारण हिमनदी तीव्र गतिमा पग्लिरहेकाले यस्ता घटनाको आवृत्ति र तीव्रता बढ्न सक्ने जोखिम छ।

भोटेकोसी बाढीपछि त्रिशूली र नारायणी नदीमा हालसम्म ६४ शव तथा शरीरका अंग फेला परेका छन्। फेला परेका शव भरतपुर अस्पतालको शवगृहमा राखिए पनि ठाउँ अभाव भएपछि केही शव तनहुँ नै फिर्ता गरिएको छ। सुरक्षा निकायले नदी किनारमा खोजी जारी राखेका छन्।

रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण हालसम्म १६२ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र पश्चिममा २ शव फेला परेका छन्।
बाढीमा ४१ जना घाइते भएका छन् भने उद्धार, राहत तथा सहायताका लागि विभिन्न जिल्लामा ३ हजार ३१८ प्रहरी परिचालन गरिएको छ।

काठमाडौंस्थित चिनियाँ दूतावासले रसुवागढी–केरुङ क्षेत्रमा आएको बाढीपहिरोबारे पूर्वसूचना नदिएको वा चीनतर्फको बाँध भत्किएर क्षति भएको भन्ने दाबी निराधार रहेको स्पष्ट पारेको छ। दूतावासका अनुसार अगस्ट २६ मा नेपालतर्फ आएको भूकम्प वा हिमनदी भत्किने घटनापछि भीषण लेदोसहितको पहिरो आएको हो।
विपद्बाट नेपाल र चीनको ग्याइरोङ क्षेत्रमा ठूलो मानवीय क्षति भएको भन्दै दूतावासले आरोप–प्रत्यारोपभन्दा द्विपक्षीय सहकार्य र उद्धारमा जोड दिनुपर्ने जनाएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बिहीबार बिहान बाढी प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रमा स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन्। उनीसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि सहभागी छन्।
बुधबार भोटेकोसीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोटलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीपछि प्रधानमन्त्री बालेनले उद्धार तथा राहतका लागि आवश्यक निर्देशन दिँदै आएका छन्।

भोटेकोसी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि ७ हजार ४१५ सुरक्षाकर्मी परिचालन भएका छन्। नेपाल प्रहरीका ३ हजार ३१८, नेपाली सेनाका २ हजार ३५५ र सशस्त्र प्रहरीका १ हजार ७४२ जना खटिएका छन्।
प्राधिकरणका अनुसार हालसम्म २३९ हेलिकोप्टर उडानमार्फत खोज तथा उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा उद्धारसँगै राहत व्यवस्थापन जारी छ भने घाइतेको उपचार र प्रभावितका लागि अस्थायी बसोबास, खाना, पानी तथा औषधिको व्यवस्था गरिएको छ।

रसुवाको भोटेकोसीमा आएको भीषण बाढीमा परी हालसम्म १६५ जनाको शव फेला परेको छ। धादिङमा २७, नुवाकोटमा १२, रसुवामा २, गोरखामा २०, चितवनमा ६४, नवलपरासी पूर्वमा २६, नवलपरासी पश्चिममा ५ र तनहुँमा ९ शव भेटिएका छन्।
बाढीमा ७३ जना घाइते भएका छन् भने ८६० जना सम्पर्कविहीन छन्। हालसम्म हेलिकोप्टरबाट २३९ जनाको उद्धार गरिएको छ। खोज तथा उद्धारका लागि ७ हजार ४१५ सुरक्षाकर्मी परिचालन भएका छन्।
बाढीले ३५ मोटरेबल पुल, ४५ झोलुङ्गे पुल र करिब ४० किलोमिटर सडकमा क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा उद्धार, उपचार, राहत तथा क्षतिको विवरण संकलन जारी छ।

नेपाली सेनाले भोटेकोसी बाढी प्रभावित रसुवाबाट बिहीबार बिहानसम्म १२३ जनाको हवाई उद्धार गरेको छ। टिमुरेबाट उद्धार गरिएका ९५ जनामध्ये आठ विदेशी नागरिक छन्।
हाकुस्थित जलविद्युत् आयोजनाको टनेलमा फसेका सात जनाको पनि जीवितै उद्धार गरिएको छ भने टिमुरेमा हराइरहेका २१ भारतीय पर्यटकको उद्धार गरी काठमाडौं ल्याउने क्रम जारी छ।
प्रभावित क्षेत्रमा सेना, प्रहरी तथा निजी हेलिकोप्टर र पैदल टोलीमार्फत खोज, उद्धार तथा राहत कार्य तीव्र पारिएको छ।

चितवनको नारायणी नदीबाट हालसम्म ६७ शव संकलन गरिएको छ। नदीमा बगेर आएका शवहरू संकलन गरी तत्काल विभिन्न अस्पतालमा सुरक्षित राखिने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए।
रसुवा, नुवाकोटलगायत बाढी प्रभावित जिल्लाबाट बगेका शव हुन सक्ने आशंकामा नदी किनारमा खोजी कार्य जारी छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भोटेकोसी बाढीबाट भएको क्षति र खोज–उद्धार कार्यको निरीक्षणका लागि नुवाकोटको विदुर पुगेका छन्। उनले प्रशासन तथा सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिएपछि घाइतेसँग भेट गरिरहेका छन्।
प्रधानमन्त्रीसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्साल, सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगर र प्रधानसेनापति अशोकराज सिग्देल पनि विदुर पुगेका छन्।

बुधबार बिहान आएको बाढीपहिरोपछि चीनको तिब्बततर्फ ५५८ जना सम्पर्कविहीन भएका छन्। काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार तीन जनाको मृत्यु भएको छ भने दुई स्थानीयको उद्धार गरिएको छ।
चीन–नेपाल सीमावर्ती क्षेत्रमा प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको जनाउँदै उद्धार टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएको दूतावासले जनाएको छ।

नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीको मुख्य कारण हिमनदीको ठूलो भाग भत्किएर तल खस्नु रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण (USGS) ले जनाएको छ। सुरुमा ४.४ म्याग्निच्युडको भूकम्पका रूपमा रेकर्ड भए पनि विस्तृत अध्ययनपछि उक्त कम्पन हिमनदी भत्किँदा उत्पन्न भएको पुष्टि भएको हो।
भूउपग्रह तस्बिर र सिस्मोग्राफिक तथ्यांकको विश्लेषणबाट हिमनदी भत्किएपछि ठूलो मात्रामा लेदो र पानी बगेको देखिएको USGS ले जनाएको छ। विज्ञहरूले जलवायु परिवर्तनका कारण हिमनदी, पर्माफ्रोस्ट र पहाडी भू–संरचना कमजोर बन्दै जाँदा यस्ता पहिरो, हिमताल फुट्ने र विनाशकारी बाढीका घटना बढ्न सक्ने चेतावनी दिएका छन्।

चीनको केरुङ क्षेत्रमा पहिरोका कारण नदी थुनिएर बनेको अस्थायी तालका कारण दोस्रो चरणको ठूलो बाढीको जोखिम बढेको छ। आगामी तीन दिन भारी वर्षाको पूर्वानुमान रहेकाले जोखिम थप बढ्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
प्रारम्भिक अनुमानअनुसार तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ भने आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी थपिन सक्ने अनुमान छ। प्राकृतिक बाँध फुटे वा पानीको बहाव तीव्र भए तल्लो तटीय क्षेत्रमा पुनः ठूलो बाढी र लेदोको बहाव आउन सक्ने चेतावनी दिइएको छ।

भोटेकोसी र त्रिशूली नदीमा आएको भीषण बाढीपछि ६४४ नेपाली तथा विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीनमा १२७ नेपाली र ५१७ विदेशी नागरिक छन्।
सम्पर्कविहीन विदेशीमध्ये सबैभन्दा धेरै १७८ भारतीय नागरिक छन्। उनीहरू नेपालसहित ३३ देशका नागरिक रहेको पर्यटन बोर्डले जनाएको छ।

भोटेकोसी बाढीपछि धादिङमा हालसम्म २५ शव फेला परेका छन्। बाढीले सदरमुकाम जोड्ने ६ पक्की र १२ झोलुंगे गरी १८ पुल बगाएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले जानकारी दिइन्।
बाढीले ल्याएको लेदोका कारण पृथ्वी राजमार्ग अवरुद्ध छ। सुरक्षाकर्मी र स्थानीय तहको सहयोगमा लेदो हटाउने काम भइरहेको र बिहीबार साँझसम्म राजमार्ग सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाइएको छ।

भारतले भोटेकोसी बाढीपीडितका लागि थप ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री, औषधि र खाद्य प्याकेट नेपाल पठाएको छ।
भारतीय विदेशमन्त्री एस जयशंकरका अनुसार यो भारतको दोस्रो राहत उडान हो। भारतले यसअघि बुधबार १० टन राहत सामग्री र अत्यावश्यक औषधि नेपाल पठाएको थियो।

नेपाली सेनाले बिहीबार बिहानदेखि मध्याह्नसम्म रसुवाका विभिन्न क्षेत्रबाट ३६६ जनाको हवाई उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ६ देशका ४५ विदेशी नागरिक रहेका छन्।
सेनाका अनुसार टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट उनीहरूको उद्धार गरिएको हो। करिब ४ हजार सैनिक खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरणमा परिचालन भएका छन्।

परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायती विदेशमन्त्री एड मिलिब्यान्डबीच बिहीबार टेलिफोन वार्ता भएको छ। मिलिब्यान्डले विपद्बाट भएको क्षतिप्रति बेलायतको ऐक्यबद्धता र समवेदना व्यक्त गर्दै वित्तीय, खोज तथा उद्धारलगायत सहयोग गर्ने प्रस्ताव गरेका छन्।
उनले बाढी प्रभावित क्षेत्रमा रहेका बेलायती नागरिकको उद्धारमा नेपाल सरकारले गरेको प्रयासप्रति धन्यवादसमेत दिएका छन्।

भोटेकोसी–त्रिशूली बाढीपछि सम्पर्कविहीन रहेका ३६ प्रहरी सम्पर्कमा आएका छन्। गृहमन्त्रीको सचिवालयका अनुसार टिमुरे, रसुवागढी, स्याफ्रुबेँसी, मैलुङ, बेत्रावती र हाकुका प्रहरी सम्पर्कमा आएका हुन्।
टिमुरेबाट १३, रसुवागढीबाट १, स्याफ्रुबेँसीबाट ५, मैलुङबाट ३, बेत्रावतीबाट ९ र हाकुबाट ४ प्रहरी सम्पर्कमा आएको सचिवालयले जनाएको छ।

चीनको तिब्बततर्फबाट आएको भीषण बाढीमा परी हालसम्म २७० जनाको शव फेला परेको गृह मन्त्रालयले जनाएको छ। चितवनमा १०८, नवलपरासी पूर्वमा ६२, धादिङमा २७, गोरखामा २०, रसुवामा १७, नवलपरासी पश्चिममा १५, नुवाकोटमा १२ र तनहुँमा ९ शव भेटिएका छन्।
उद्धार कार्यका लागि ४ हजार ५० प्रहरी परिचालन भएका छन्। बाढीमा घाइते भएका ६६ जना उपचारपछि डिस्चार्ज भएका छन्।

रसुवा बाढीमा ज्यान गुमाएकाका शव बढेपछि चितवनको भरतपुर अस्पतालमा शव राख्ने ठाउँको अभाव भएको छ। अस्पतालको १२ शव अट्ने शवगृह भरिएपछि केही शव त्रिपाल टाँगेर बाहिर राखिएको छ।
चितवनमा फेला परेका शव सुरक्षित राख्न ५ सयसम्म शव अट्ने विशेष पहिचान केन्द्र तयार भइरहेको छ। केन्द्रमा शवको पहिचानका लागि आवश्यक व्यवस्था गरिनेछ भने आफन्तले प्रहरीको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत शवको विवरण हेर्न सक्नेछन्।
पीडित परिवारका लागि निःशुल्क होटल र २४ घण्टा एम्बुलेन्स सेवाको व्यवस्था गरिएको छ। शव पहिचानपछि कानुनी प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा लगाइने जनाइएको छ।

रसुवा बाढीमा घाइते भएका ६६ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
शिक्षण अस्पताल महाराजगञ्जमा ३५, राष्ट्रिय ट्रमा सेन्टरमा २१, वीर अस्पतालमा ५, नर्भिकमा २ तथा वीरेन्द्र सैनिक अस्पताल छाउनी, मनमोहन अस्पताल र ग्रिनसिटी अस्पतालमा एक–एक जनाको उपचार भइरहेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

नेपालमा आएको भीषण बाढीपछि कम्तीमा १०० चिनियाँ नागरिक बेपत्ता रहेको चीनको विदेश मन्त्रालयले जनाएको छ। चीनले नेपाल सरकारसँग समन्वय गर्दै संयुक्त खोज तथा उद्धारमा सहयोग गरिरहेको जनाएको छ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार तिब्बतको केरुङ काउन्टीमा पहिरोपछि बेपत्ता हुनेको संख्या ५५८ पुगेको छ, जसमा २६० विदेशी नागरिक छन्। नेपालतर्फ भने ८२६ जना बेपत्ता रहेको विपद् प्राधिकरणको तथ्यांक छ।

भोटेकोसी बाढीपछि रसुवा–नुवाकोट क्षेत्रमा कर्णाली प्रदेशका १३४ जना सम्पर्कविहीन भएका छन्। कर्णाली प्रदेश प्रहरीले १०८ पुरुष, १७ महिला, ६ बालक र ३ बालिका सम्पर्कविहीन रहेको जनाएको छ।
सबैभन्दा धेरै सल्यानका ४९ र जुम्लाका ३१ जना सम्पर्कविहीन छन्। हुम्ला र मुगुका १२/१२, सुर्खेतका ११, दैलेख र कालीकोटका ५/५, रुकुम पश्चिमका ४, जाजरकोटका ३ तथा डोल्पाका २ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

रसुवामा आएको भीषण बाढीपछि विभिन्न जलविद्युत् आयोजनामा कार्यरत सयौँ कामदार तथा कर्मचारी सम्पर्कविहीन भएका छन्। माथिल्लो त्रिशूली–१ मा मात्रै ७६ जना एन्ड्रिज हाइड्रोका, ११ जना प्रवर्धक कम्पनीका र ७ जना परामर्शदाताका कर्मचारी सम्पर्कविहीन छन्।
रसुवागढी आयोजनाका ५१, मैलुङ खोला आयोजनाका ८ र रसुवा भोटेकोसी आयोजनाका २ कर्मचारी पनि सम्पर्कविहीन छन्। लाङटाङ खोला आयोजनामा सुरुङभित्र रहेका ६० जनासँग अझै सम्पर्क हुन सकेको छैन।
हेडवर्क्स तथा पावर हाउस क्षेत्रमा रहेका २०० भन्दा बढी व्यक्तिसहित सम्पर्कविहीनहरूको उद्धारका लागि हेलिकोप्टरबाट खोजी तथा उद्धार प्रयास भइरहेको छ।

नेपालमा आएको भीषण बाढीपछि कम्तीमा १०० चिनियाँ नागरिक बेपत्ता रहेको चीनको विदेश मन्त्रालयले जनाएको छ। चीनले नेपाल सरकारसँग समन्वय गर्दै संयुक्त खोज तथा उद्धारमा पूर्ण सहयोग गरिरहेको जनाएको छ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार तिब्बतको केरुङ काउन्टीमा पहिरोपछि बेपत्ता हुनेको संख्या ५५८ पुगेको छ, जसमा २६० विदेशी नागरिक छन्। नेपालतर्फ भने ८२६ जना बेपत्ता रहेको विपद् प्राधिकरणको तथ्यांक छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले भोटेकोसी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा घाइते पशुपन्छीको उद्धार तथा उपचारका लागि प्राविधिक टोली परिचालन गरेको छ।
टोलीले आकस्मिक उपचार, मृत पशुपन्छीको सुरक्षित व्यवस्थापन तथा जैविक सुरक्षा सुनिश्चित गर्ने काम गर्नेछ। पशु सेवा विभागले विपद्का बेला सरकारी तथा गैरसरकारी निकाय, पशु कल्याण संस्था, निजी पशु सेवाकर्मी र नागरिक समाजलाई सहकार्य गर्न आग्रह गरेको छ।

भोटेकोसी बाढीपछि रसुवाका विभिन्न विद्युत् उत्पादन केन्द्रमा कार्यरत तथा कामविशेषले त्यहाँ पुगेका महोत्तरीका १० जना सम्पर्कविहीन भएका छन्। उनीहरूको अवस्थाबारे यकिन गर्न प्रयास भइरहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
सम्पर्कविहीनमध्ये केही विद्युत् आयोजनामा कार्यरत छन् भने एकै परिवारका तीन सदस्य पनि रहेका छन्। जिल्ला प्रशासन कार्यालयले उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी संकलन गरिरहेको जनाएको छ।

भोटेकोसी बाढीपछि रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका उपाध्यक्ष प्रतिमा तामाङ र वडा नम्बर ५ का अध्यक्ष दावा मिङ्मार तामाङसहित सयौँ स्थानीय सम्पर्कविहीन छन्। बाढीले गाउँपालिका भवन, बजार, विद्यालय, सडक तथा सुरक्षा निकायका संरचनामा ठूलो क्षति पुर्याएको छ।
नुवाकोटमा तटीय क्षेत्रका करिब ४०० घर प्रभावित भएका छन्। बाढीले रसुवा र नुवाकोटका ३२ सडक पुलसहित ८० पुलमा क्षति पुर्याएको छ भने बेत्रावती–रसुवागढी सडकखण्डमा ठूलो क्षति पुगेपछि चीन जोड्ने सडक सम्पर्क अवरुद्ध भएको छ।
रसुवा र नुवाकोटका ४३१.१ मेगावाट क्षमताका १२ विद्युत् उत्पादन केन्द्रमा क्षति पुगेको छ। विद्युत् आयोजनामा कार्यरत १९६ जनाभन्दा बढी कर्मचारी तथा मजदुर पनि बेपत्ता रहेको प्रारम्भिक विवरण छ।

नासा सेक्युरिटिजले बाढी प्रभावित नागरिकको खोज, उद्धार तथा तत्काल राहतका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
रसुवा, नुवाकोट, धादिङ तथा भोटेकोसी तटीय क्षेत्रमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

चिनियाँ विद्युतीय सवारी निर्माता बीवाईडी र नेपालका आधिकारिक वितरक साइमेक्स इङ्कले बाढीपहिरो प्रभावितका लागि ७ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमार्फत उद्धार, उपचार, राहत, पुनःस्थापना तथा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा प्रयोग गरिनेछ।
रसुवालगायत क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि सहयोग घोषणा गरिएको हो। दुवै कम्पनीले विपद्को यस घडीमा प्रभावित परिवार, उद्धारकर्मी र नेपाली जनताको साथमा रहेको बताएका छन्।

नुवाकोटमा बाढी प्रभावित एक हजारभन्दा बढीलाई ६ वटा मुख्य सेल्टरमा आश्रय दिइएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार पुस्तकालय क्षेत्र तुप्चे, विदुरको सेफहाउस, बट्टार कभर्डहल, देवीघाट, भैँसेको सियाले र शान्ति भवनमा प्रभावितलाई राखिएको छ।
सेल्टरमा म्याट्रेस, ब्ल्याङ्केट, प्राथमिक उपचार सामग्री तथा तत्काल खान मिल्ने खाद्य सामग्रीको व्यवस्था गरिएको छ। स्थानीय तहले पनि अन्य प्रभावितलाई विभिन्न स्थानमा व्यवस्थापन गरिरहेका छन्।

नेपालमा आएको भोटेकोसी बाढीपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ। तीमध्ये ७३ जना त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत थिए भने ८६ जना कैलाश मानसरोवर यात्रामा आएका थिए।
सम्पर्कविहीनमध्ये पश्चिम बंगालका ३२, केरलाका ३२ र विभिन्न राज्यका ६१ जना रहेको प्रवक्ता रणधीर जयसवालले जानकारी दिए। तामिलनाडुका २१ जनाको उद्धार भइसकेको छ भने करिब २०० भारतीय नागरिक चीनतर्फ रहेको बताइएको छ।

बेलायतले नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि ५० लाख पाउन्ड (करिब ८५ करोड रुपैयाँ) सहयोग घोषणा गरेको छ।
बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले प्रभावित क्षेत्रमा बेलायती नागरिकलाई २४ घण्टा सहयोग गर्न कूटनीतिक कर्मचारी परिचालन गरिएको बताए। बाढीपछि ३३ बेलायती नागरिक सम्पर्कविहीन रहेको जनाउँदै उनले उनीहरूका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने बताएका छन्।
बेलायतले नेपालमा आपत्कालीन उद्धार टोली पठाउने प्रस्तावसमेत गरेको छ, तर टोली पठाउने निर्णय नेपाल सरकारमा निर्भर रहने जनाइएको छ।

भोटेकोसी बाढीपछि सिन्धुपाल्चोकका २२४ जना सम्पर्कविहीन भएका छन्। सबैभन्दा धेरै भोटेकोसी गाउँपालिकाका ६५ र बाह्रबिसे नगरपालिकाका ५९ जना रहेका छन्।
सम्पर्कविहीन हुनेमा कैलाश मानसरोवर यात्राका गाइड तथा भरिया, गोसाइँकुण्डका तीर्थयात्री, जलविद्युत् आयोजनाका कर्मचारी र रसुवा भन्सार आसपास व्यापारिक काममा गएका नागरिक छन्।

रसुवामा आएको बाढीपछि कर्णालीका विभिन्न जिल्लाबाट त्यहाँ पुगेका २१६ जनामध्ये ३१ जना सम्पर्कमा आएका छन् भने १८५ जनाको अवस्था अझै अज्ञात छ। कर्णाली प्रदेश प्रहरीले बिहीबार दिउँसो २ बजेसम्मको विवरण सार्वजनिक गरेको हो।
सबैभन्दा धेरै जुम्लाका ८४ जना सम्पर्कविहीन भएकामा १४ जना सम्पर्कमा आएका छन्। सल्यानका ५२ मध्ये ४, सुर्खेतका १९ मध्ये ३ र मुगुका १६ मध्ये ३ जना सम्पर्कमा आएका छन्।
प्रहरीका अनुसार सञ्चार तथा यातायात सम्पर्क प्रभावित भएकाले बेपत्तासँग सम्पर्क स्थापित गर्न कठिनाइ भएको छ। उनीहरूको अवस्था यकिन गर्न खोजी तथा सम्पर्कको प्रयास तीव्र पारिएको छ।

नेपाली सेनाले भोटेकोसी बाढी प्रभावित रसुवाका विभिन्न क्षेत्रबाट बिहीबार ८०२ जनाको उद्धार गरेको छ। टिमुरे, स्याफ्रुबेँसी, धुन्चे र मैलुङबाट ५० विदेशी सहित ६०२ जनाको हवाई र २०० जनाको जमिनी उद्धार गरिएको हो।
सेनाका अनुसार त्रिशूलीमा स्थापना गरिएको आपत्कालीन उपचार केन्द्रमा ३३८ घाइतेको उपचार गरिएको छ। खोज तथा उद्धारमा ४ हजार २०० भन्दा बढी सैनिक, ड्रोन र सैनिक डग परिचालन गरिएका छन्। पृथ्वी राजमार्गमा जमेको लेदो हटाएर सडक सञ्चालनमा ल्याउने काममा समेत सेना खटिएको छ।

नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको महाविनाशकारी बाढी हिमनदीको विशाल भाग करिब १ किलोमिटर उचाइबाट खस्दा उत्पन्न शृंखलाबद्ध घटनाको परिणाम भएको वैज्ञानिकहरूको प्रारम्भिक निष्कर्ष छ।
यूएसजीएसले सुरुमा घटनालाई ४.४ म्याग्निच्युडको भूकम्पका रूपमा दर्ता गरे पनि भूउपग्रह तस्बिर र भूकम्पीय तरंगको अध्ययनपछि यो प्राकृतिक भूकम्प नभई हिमनदी भत्किँदा उत्पन्न करिब ५.२ म्याग्निच्युड बराबरको शक्तिशाली कम्पन भएको जनाएको छ।
वैज्ञानिकहरूका अनुसार हिमनदी खस्दा उत्पन्न घर्षण र तापले हिउँ पग्लिएको तथा त्यसले चट्टान, माटो र लेदो बगाउँदा विनाशकारी बाढी आएको हुनसक्छ। तर बाढीमा यति ठूलो परिमाणमा पानी कहाँबाट आयो भन्नेबारे थप अध्ययन आवश्यक रहेको उनीहरूले बताएका छन्।

जय नेपाल पार्टीले भोटेकोसी तथा त्रिशूली बाढी प्रभावित क्षेत्रमा तत्काल खोजी, उद्धार, राहत र पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
पार्टीले बेपत्ता नागरिक, सुरक्षाकर्मी, जलविद्युत् आयोजनाका श्रमिक, भन्सार कर्मचारी तथा पर्यटकको शीघ्र खोजी गर्न थप हेलिकोप्टर र ड्रोन परिचालन गर्न आग्रह गरेको छ। घरबारविहीनलाई सुरक्षित बसोबास, खानेपानी, खाद्यान्न, औषधि तथा घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्न पनि माग गरिएको छ।
पार्टीले राहत कोष स्थापना गरी अत्यावश्यक सामग्री प्रभावित क्षेत्रमा पठाउने निर्णयसमेत गरेको छ।

भोटेकोसी बाढीमा परी मृत्यु भएका ३५९ जनाको शव विभिन्न जिल्लाबाट फेला परेको नेपाल प्रहरीले जनाएको छ। सबैभन्दा धेरै चितवनमा १३२ शव भेटिएका छन्।
धादिङमा ३३, गोरखामा ३०, तनहुँमा २२, रसुवामा १७, नवलपरासी पश्चिममा १५, नवलपरासी पूर्वमा २ र नुवाकोटमा २ शव फेला परेका छन्।
बाढीपछि २८ प्रहरी कर्मचारी सम्पर्कविहीन छन् भने खोज तथा उद्धारमा ४ हजार ३४८ प्रहरी परिचालन भएका छन्। घाइते ६३ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको सहायताका लागि अस्ट्रेलियाले ५० लाख अस्ट्रेलियन डलर बराबरको आपत्कालीन सहायता प्याकेजको घोषणा गरेको छ। अस्ट्रेलियाको विदेश मन्त्रालयले एक आधिकारिक विज्ञप्ति जारी गर्दै सहयोगको घोषणा गरेको हो।
अस्ट्रेलियाली विदेश मन्त्रालयका अनुसार यो रकम बाढी प्रभावित क्षेत्रमा खाद्यान्न, आपत्कालीन आश्रयस्थल (टेन्ट), स्वच्छ खानेपानी तथा सरसफाइजस्ता विपद् व्यवस्थापन र पुनर्लाभका क्षेत्रमा खर्च गरिनेछ।

रसुवालगायत प्रभावित क्षेत्रमा आएको विनाशकारी बाढीमा ४६९ जनाको शव फेला परेको छ भने ७३ जना घाइते भएका छन् र ३,२५३ जनाको उद्धार गरिएको छ। सबैभन्दा धेरै शव चितवन (१७५) र नवलपरासी पूर्व (११०) मा फेला परेका छन्।
खोजी, उद्धार तथा राहतका लागि ९,४०५ सुरक्षाकर्मी परिचालन गरिएको छ। साथै नेपाली सेनाका ६ र निजी क्षेत्रका ९ गरी १५ हेलिकप्टर उद्धार तथा राहतमा प्रयोग भइरहेका छन्।
बाढीपछि ९७७ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरिएको छ, जसमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार र अध्यागमन कार्यालयका कर्मचारीसमेत छन्।
सरकारले तत्काल राहतका लागि रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ, गरी कुल २ करोड ५० लाख रुपैयाँ पठाएको छ। साथै स्लिपिङ ब्याग, ब्ल्याङ्केट, चार्जर, बिस्कुट र खाद्य सामग्रीसहित १० ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या ४६९ पुगेको नेपाल प्रहरीले जनाएको छ। शुक्रबार बिहान ७ बजेसम्म विभिन्न जिल्लामा शव फेला परेका छन्, जसमा चितवनमा सबैभन्दा धेरै १७८, नवलपरासी पूर्वमा ११०, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ शव रहेका छन्।
उद्धार तथा राहतका लागि ४,३४८ प्रहरी परिचालन गरिएको छ। बाढीमा घाइते तथा उद्धार गरिएका १,५४५ जनाको विवरण प्राप्त भएको छ, जसमा रसुवाका ६४४ र नुवाकोटका ८९८ जना छन्। काठमाडौं उपत्यकाका अस्पतालमा उपचाररत वा डिस्चार्ज भएका घाइतेको संख्या ८४ रहेको छ।
बाढीपछि २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। प्रहरीले प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार र सुरक्षा कार्य निरन्तर जारी राखेको जनाएको छ।

नेपाल–चीन तिब्बत सीमा क्षेत्रमा भएको भीषण बाढी र पहिरो लाङटाङ लिरुङ नजिकको ग्लेशियरको ठूलो भाग भासिएर खस्दा उत्पन्न भएको वैज्ञानिकहरूले पुष्टि गरेका छन्। बरफ र चट्टानको तीव्र बहावले ल्हेन्दे खोलामा ठूलो बाढी ल्याउँदा नेपाल र तिब्बततर्फ सडक, पुल, जलविद्युत आयोजना तथा गाउँहरूमा व्यापक क्षति पुगेको छ। नेपालतर्फ एक हजारभन्दा बढी मानिस बेपत्ता रहेको र उद्धार कार्य जारी रहेको बताइएको छ। सुरुमा सम्भावित भूकम्पलाई कारण मानिए पनि USGS ले महसुस गरिएको कम्पन ग्लेशियर खस्दा उत्पन्न भएको भूकम्पीय ऊर्जा भएको जनाएको छ। विज्ञहरूले जलवायु परिवर्तनलाई घटनाको प्रत्यक्ष एकमात्र कारण नभए पनि बढ्दो तापक्रम र ग्लेशियर पग्लिने क्रमले हिमाली क्षेत्रमा यस्ता विपद्को जोखिम बढाइरहेको बताएका छन्।

धादिङको गल्छी–बैरेनी सडकखण्डमा बिहीबार साँझदेखि एकतर्फी यातायात सञ्चालनमा आएको छ। बाढीले पुल बगाएर सडक पुरिएको जरिखेत क्षेत्रमा माटो र गेग्य्रान हटाएपछि यातायात खुलाइएको हो।
अब पोखरी, बाँगे र गलौदी क्षेत्रमा जम्मा भएको करिब ७०० मिटर लेदो हटाउने काम भइरहेको छ। यो काम शुक्रबार बेलुकासम्म सकिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने सडक विभागको अपेक्षा छ।

यूएईले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावितलाई १ करोड अमेरिकी डलर (करिब १ अर्ब ५२ करोड रुपैयाँ) आपत्कालीन मानवीय सहायता दिने घोषणा गरेको छ।
राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानको निर्देशनमा घोषणा गरिएको यो सहायता यूएई सहायता एजेन्सीमार्फत परिचालन गरिनेछ। एजेन्सीका टोलीले स्थानीय अधिकारी तथा अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गर्दै प्रभावित समुदायसम्म राहत पुर्याउने काम गरिरहेका छन्।
यूएई सहायता एजेन्सीका अध्यक्ष डा. तारिक अहमद अल अमिरीले विपद्मा परेका नागरिकलाई राहत दिन अन्तर्राष्ट्रिय सहकार्य र सामूहिक मानवीय प्रयासलाई बलियो बनाउनुपर्ने बताएका छन्।

बेलायतका राजा चार्ल्स तृतीयले नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै बेपत्ता आफन्तको खबरको प्रतीक्षामा रहेका परिवारप्रति सहानुभूति जनाएका छन्।
राजा चार्ल्सले बाढीमा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारप्रति पनि श्रद्धा र समवेदना व्यक्त गर्दै उद्धार तथा राहतमा खटिएका सबैलाई धन्यवाद दिएका छन्। प्रभावितहरूको सहयोगका लागि बेलायत आवश्यक सहयोग गर्न तयार रहेको उनले बताएका छन्।

नेपाल–चीन सीमा क्षेत्रमा गएको हिम–चट्टानको पहिरोसँगै आएको बाढीमा फसेका ११४ जना विदेशी नागरिकको उद्धार भएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले शुक्रबार बिहान बाढीबाट उद्धार गरिएकाहरुको विवरण सार्वजनिक गरेको हो।
उद्धार गरिएकाहरू चीन, भारत, अमेरिका, कोरिया र इटालीका नागरिकहरू छन्।
नेपाल प्रहरीले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार बाढीपछि विभिन्न देशका ६४४ जना सम्पर्कविहीन छन्।

रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएकामध्ये १०२ शव विभिन्न जिल्लाबाट कास्की ल्याइएको छ। ती शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिए पनि त्यहाँको क्षमता भरिएपछि थप शव व्यवस्थापनमा समस्या देखिएको छ।
शवमध्ये केही अपूर्ण शरीर तथा बालबालिकाका शव भएकाले हाल विभिन्न आकारका बक्समा राखेर व्यवस्थापन गरिएको छ। मृतकको पहिचानका लागि फोटो खिच्ने र डीएनए नमुना संकलन गर्ने प्रक्रिया अघि बढाइएको छ।
पहिचान भएपछि शव आफन्तलाई बुझाइने र लामो समयसम्म दाबी नआएका शवलाई प्रचलित कार्यविधिअनुसार अन्तिम संस्कार गरिने जिल्ला प्रशासन तथा प्रहरीले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसुवा बाढीबाट प्रभावित नेपाललाई आवश्यक सबै प्रकारको सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन्। फक्स न्युजसँगको कुराकानीमा उनले बाढीलाई अत्यन्तै विनाशकारी विपत्ति भन्दै लेदोसहितको बाढीले बलिया भवनसमेत बगाएको उल्लेख गरेका छन्।
ट्रम्पका अनुसार बाढीमा ५०–६० जना अमेरिकी नागरिक प्रभावित भएको हुनसक्ने भए पनि उनीहरूको विवरण अझै प्राप्त भएको छैन। उनले नेपालका नेताहरूसँग समन्वय गरी आवश्यक सहायता पठाउने प्रतिबद्धता जनाएका छन्।

रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण क्षतिग्रस्त त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनामा फसेका कर्मचारीहरूको अझै उद्धार हुन सकेको छैन। आयोजनाको सुरुङमार्गको प्रवेशद्वार बाढीले पुरिएपछि हाइड्रो इन्जिनियरसहित ३५ जना कर्मचारी सुरुङभित्रै फसेका छन्।
उता, माथिल्लो त्रिशूली–१ को सुरुङमा फसेका व्यक्तिहरूलाई भने नेपाली सेनाको टोलीले उद्धार गरिसकेको छ। तर त्रिशूली–३ ‘ए’ मा रहेका कर्मचारीको उद्धार हुन नसक्दा उनीहरूका आफन्त चिन्तित बनेका छन्।
सुरुङभित्र अक्सिजनको अभाव हुन सक्ने भएकाले समय बित्दै जाँदा जोखिम झन् बढ्दै गएको छ। फसेकाहरूको शीघ्र उद्धारको पर्खाइमा आफन्तहरू छन्।

भोटेकोशीमा आएको बाढीमा घाइते भएर उद्धार गरिएका ८८ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो। तीमध्ये ५९ जना अहिले काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत छन्।
जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र काठमाडौंका अनुसार उपचारपछि २९ जना डिस्चार्ज भएर घर फर्किसकेका छन्। महाराजगञ्जस्थित शिक्षण अस्पतालमा तीन जना घाइतेको उपचार भइरहेको छ भने ११ जना उपचारपछि डिस्चार्ज भएका छन्। त्यस्तै, राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएका ३१ जनामध्ये १२ जना उपचारपछि घर फर्किएका छन्।

नेपाल–चीन सीमावर्ती क्षेत्रमा बनेको नयाँ ताल जुनसुकै बेला फुटेर पुनः ठूलो बाढी आउन सक्ने जोखिम बढेपछि चीनले आफ्नो भूभागमा जारी खोज तथा उद्धार कार्य तत्कालका लागि रोकिएको छ। बीबीसीका अनुसार, केरुङ नाकाभन्दा माथिल्लो क्षेत्रमा पहिरो र लेदोले नदी थुनिएर बनेको तालमा पानीको सतह तीव्र रूपमा बढिरहेको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै चिनियाँ अधिकारीहरूले तालको निगरानी बढाएका छन्। अस्थायी रूपमा बनेको उक्त ताल फुटेमा तल्लो तटीय क्षेत्रमा फेरि विनाशकारी बाढी आउन सक्ने भएकाले उद्धार टोलीलाई काम रोक्न निर्देशन दिइएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
तिब्बततर्फ हालसम्म ५५० भन्दा बढी मानिस बेपत्ता रहेको बताइएको छ, जसमा करिब २६० जना विदेशी नागरिक छन्। बेपत्तामध्ये कैलाश मानसरोवर यात्रामा गएका तीर्थयात्रीको संख्या ठूलो रहेको जनाइएको छ।
ताल फुट्ने सम्भावित जोखिमले नेपालतर्फका तल्लो तटीय क्षेत्र, विशेषगरी रसुवा र नुवाकोटमा समेत थप क्षति निम्तिन सक्ने चिन्ता बढेको छ।

नेपालमा आएको बाढीको असर भारतको सीमावर्ती क्षेत्रमा समेत देखिन थालेको छ। उत्तर प्रदेशका महाराजगञ्ज र कुशीनगर क्षेत्रमा नारायणी (गण्डक) नदीबाट सात जनाको शव फेला परेको छ।
महाराजगञ्जबाट चार र कुशीनगरबाट तीन शव निकालिएको भारतीय अधिकारीहरूले बताएका छन्। फेला परेका शवमध्ये पाँच महिला र दुई पुरुष रहेका छन्। नेपालमा आएको बाढीले बगाएर ती शव भारततर्फ पुगेको हुन सक्ने आशंका गरिएको छ।
सशस्त्र सीमा बलको उद्धार टोलीले गस्तीका क्रममा नदीमा तैरिरहेका शव देखेपछि मोटरबोटको सहायताले बाहिर निकालेको थियो। त्यसपछि शवहरू सम्बन्धित जिल्ला सदरमुकाम पठाइएको छ। हालसम्म उनीहरूको पहिचान खुल्न सकेको छैन।

नुवाकोटमा प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई नदी आसपास नजान र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।
रसुवातर्फबाट फेरि बाढी आएको सूचना प्राप्त भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले विदुर क्षेत्रमा सचेतना गराएको हो। प्रहरीले नदी किनारबाट टाढा रहन र अग्लो तथा सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
यसअघि भदौ १० गते भोटेकोसी नदीमा आएको अचानकको बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति पुर्याएको थियो।

चीनतर्फ पहिरोका कारण बनेको ताल फुटेको सूचना प्राप्त भएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले ताल फुटेसँगै पानीको सतह बढ्न थालेको जानकारी दिएका छन्।
उनका अनुसार अवस्था जोखिमपूर्ण रहेकाले सतर्कता अपनाउन आवश्यक छ। चीनतर्फ आगामी तीन दिन भारी वर्षा हुने पूर्वसूचना बिहीबार नै प्राप्त भएको र अहिलेको मौसम पनि सोहीअनुसार रहेको उनले बताएका छन्।
ताल फुटेपछि पानीको बहाव बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै सीमावर्ती तथा तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ।

चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा शुक्रबार (भदौ १२) दिउँसो पुनः पानीको सतह उल्लेख्य रूपमा बढेको छ। नदीमा आएको बाढी स्याफ्रुबेँसीसम्म पुगेको जनाइएको छ।
भोटेकोसीमा पानीको बहाव बढेसँगै त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाले मुग्लिनसम्मका नदी किनारका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो।
महाशाखाका अनुसार शुक्रबार दिउँसो १२ः३१ बजे भोटेकोसी नदीमा बाढीको स्तर निरन्तर बढिरहेको थियो। बाढी स्याफ्रुबेँसीसम्म आइपुगेकाले त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ।
नेपाल प्रहरीले भदौ १० गते आएको भीषण बाढीपछि तिब्बततर्फ ल्हेन्दे खोला थुनिएर बनेको ताल फुटेको र त्यसबाट पानी बग्न थालेको जनाएको छ।

नेपाली सेनाले शुक्रबार बिहानदेखि बाढी प्रभावित विभिन्न क्षेत्रबाट ४४९ जनाको उद्धार गरेको छ। उद्धार गरिएकामध्ये १७ जना विदेशी नागरिक रहेको सेनाले जनाएको छ।
सेनाका अनुसार शुक्रबार दिउँसो १२ः२० बजेसम्म हेलिकोप्टरमार्फत रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायत क्षेत्रबाट उनीहरूको उद्धार गरिएको हो।
बाढी प्रभावित जिल्लाहरूमा नेपाली सेनाका ४ हजार ५ सयभन्दा बढी सैनिक परिचालन गरिएको छ। सेनाले प्रभावित क्षेत्रमा सम्बन्धित निकायसँग समन्वय गरी घाइते तथा प्रभावितको खोजी र उद्धार, आपत्कालीन उपचार तथा राहत सामग्री वितरणलाई निरन्तरता दिएको जनाएको छ।

नेपाल–चीन सीमावर्ती क्षेत्र केरुङमा पहिरोका कारण नदी थुनिएर बनेको अस्थायी तालबाट भइरहेको पानीको ओभरफ्लो रोकिएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।
पानीको बहाव रोकिएपछि जोखिम केही कम भएको आकलन गर्दै चिनियाँ अधिकारीहरूले केही समयअघि स्थगित गरिएको खोज तथा उद्धार कार्य पुनः सुरु गरेका छन्।
यसअघि नेपाल प्रहरीले तिब्बततर्फ नदी थुनेर बनेको तालको बाँध फुटेको भन्दै सतर्क रहन चेतावनी दिएको थियो। चिनियाँ सञ्चारमाध्यमका अनुसार ताल पानीले भरिएपछि बाँधमाथिबाट पानी बग्न थालेको थियो।
अहिले तालको अवस्था र पानीको सतहमा २४ घण्टा निगरानी राख्न चिनियाँ राष्ट्रिय टेलिभिजन र आपत्कालीन उद्धार टोलीले विशेष क्यामेरा जडान गरिरहेका छन्।

भोटेकोसी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका ११७ जना विदेशी पर्यटकको उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार विभिन्न देशका पर्यटकलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा ल्याइएको हो।
बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिक्मतसिंह ऐरका अनुसार उद्धार गरिएकामध्ये भारतका ८५, चीनका १६, दक्षिण कोरियाका ९, अमेरिकाका २ र इटलीका २ जना छन्। त्यस्तै, देश पहिचान हुन नसकेका ३ जना पर्यटकको पनि उद्धार गरिएको छ।
सम्पर्कविहीन रहेका अन्य पर्यटकको खोजी तथा उद्धारलाई तीव्रता दिइएको बोर्डले जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र स्थानीय प्रशासनको समन्वयमा खोजी भइरहेको छ।
प्रभावित क्षेत्रमा फसेका पर्यटक तथा स्थानीयको उद्धारका लागि ट्रेकिङ कम्पनी, गाइड र सुरक्षा निकायसमेत परिचालन भएका छन्।
हराइरहेका व्यक्तिको विवरण संकलन, प्रमाणीकरण तथा अद्यावधिक गर्न विभिन्न निकायसँग समन्वय भइरहेको पर्यटन बोर्डले जनाएको छ।
बोर्डले थप जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन ११४४ वा पर्यटन प्रहरीको नम्बर ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरेको छ।

रसुवा बाढीमा परी लमजुङका १० जना सम्पर्कविहीन भएका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार, राइनास नगरपालिका–९, राइनासकोटका ३६ वर्षीय राजन थापा बेपत्ता छन् । उनी माथिल्लो हाइड्रोपावरको टिमुरे बेसक्याम्पमा काम गर्ने क्रममा सम्पर्कविहीन भएका थिए ।
यस्तै, मर्स्याङ्दी गाउँपालिका–९, ढाकगाउँका ३६ वर्षीय युवराज भण्डारी टिमुरेस्थित सशस्त्र प्रहरी बलको बेसक्याम्प (बीओपी)मा कार्यरत रहँदा सम्पर्कविहीन भएका छन् ।
यसैगरी दोर्दी गाउँपालिका–६, पैरेखोलाका ३५ वर्षीय रामकुमार तामाङ रसुवामा मजदुरी गर्ने क्रममा सम्पर्कविहीन भएको सूचना अधिकारी क्षेत्रीले बताए । मर्स्याङ्दी गाउँपालिका–३, खोपडीका ३४ वर्षीया रमिला भण्डारी रसुवास्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा सब–इञ्जिनियरका रूपमा कार्यरत रहँदा सम्पर्कविहीन भएका हुन् ।
यस्तै, बेँसीशहर नगरपालिका–११, कोलडाँडाका ४३ वर्षीया राधिका घर्ती र सोही वडाका ४५ वर्षीय झपटबहादुर घर्ती रसुवास्थित जलविद्युत् आयोजनामा खाना पकाउने काम गर्दै आएकामा बाढीपछि सम्पर्कविहीन भएका थिए । बेँसीसहर नगरपालिका–११, चितीका २९ वर्षीय कुमार परियार रसुवाको एक होटेलमा काम गर्दै आएकामा बाढीपछि सम्पर्कविहीन भएका सूचना अधिकारी क्षेत्रीले बताए ।
बेँसीसहर नगरपालिका–१, चितीका ३५ वर्षीय सुगम सिलवाल ट्रेकिङका लागि रसुवा पुगेको अवस्थामा बाढीमा परी सम्पर्कविहीन भएका हुन् । राइनास नगरपालिका–६ की २६ वर्षीया अनुष्का पाण्डे चिलुवाल र उनका दुई वर्षीय छोरा आयुष चिलुवाल पनि रसुवाको बाढीपछि सम्पर्कविहीन भएका प्रहरीले जनाएको छ ।
रसुवामा आएको बाढीपछि लमजुङबाट काम तथा अन्य प्रयोजनका लागि त्यहाँ पुगेका उनीहरू सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । उनीहरूको खोजी तथा अवस्थाबारे सम्बन्धित निकायसँग समन्वय भइरहेको सूचना अधिकारी क्षेत्रीले बताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको शव पहिचान तथा पोस्टमार्टम प्रक्रिया सुरु भएको छ।
नवलपुर, धादिङ, तनहुँ र गोरखामा भेटिएका ९३ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ भने नौ शव मणिपाल शिक्षण अस्पतालमा राखिएका छन्। शव पहिचानका लागि आफन्तलाई स्क्रिनमार्फत तस्बिर हेर्ने व्यवस्था मिलाइएको छ। बेपत्ता भएका व्यक्तिका आफन्तहरू अस्पताल पुगेर शव पहिचान गर्ने प्रयास गरिरहेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार पहिचान भएका शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइनेछ। पहिचान हुन नसकेका शवको डीएनए परीक्षणका लागि नमुना काठमाडौं पठाइनेछ।
शवहरू हिलाम्मे अवस्थामा रहेकाले सफा गरेपछि मात्र परीक्षण गर्नुपर्ने अवस्था रहेको कार्कीले बताए। पहिचान हुन नसकेका बेवारिसे शवलाई सम्बन्धित निर्देशिकाअनुसार व्यवस्थापन गरिने उनले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार शवको संख्या धेरै भएकाले सबैको पहिचान गरी आफन्तलाई बुझाउन केही दिन लाग्न सक्छ। शव व्यवस्थापनका लागि पोखराका अन्य अस्पतालसँग पनि समन्वय भइरहेको उनले बताए।
त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न तथा परीक्षण गर्न पर्याप्त स्थान नभएपछि पोखरा ल्याइएको हो। गुरुङका अनुसार नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट १४ र गोरखाबाट ११ शव पोखरा ल्याइएको हो।

रसुवाको भोटेकोसीमा आएको बाढीमा बगेर बेपत्ता भएकामध्ये ५३८ जनाको शव फेला परेको छ। शुक्रबार दिउँसो ३ बजेसम्म सुरक्षा निकायको सक्रियतामा प्रभावित विभिन्न क्षेत्रबाट ती शव निकालिएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा भेटिएका छन्।

चीनले नेपाल–चीन सीमावर्ती क्षेत्रमा बाढीको जोखिम अझै कायम रहेको संकेत गर्दै नेपाललाई आपत्कालीन प्रतिकार्यका लागि आवश्यक तयारी गर्न आग्रह गरेको छ।
काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले शुक्रबार वक्तव्य जारी गर्दै सीमावर्ती क्षेत्रमा नदी थुनिएर बनेको पहिरोजन्य तालमा पानीको सतह उच्च विन्दुमा पुगेको र ओभरफ्लो हुन थालेको बताएका छन्।
दूतावासका अनुसार चीन–नेपाल सीमा नदीको माथिल्लो तटीय क्षेत्रमा पर्ने नेपाली भूभागको एक सहायक नदीमा हिम–पहिरो खसेर नदी थुनिएपछि पहिरोजन्य ताल बनेको हो। तालमा पानीको सतह बढेर बाहिरिन थालेसँगै थप ताल फुट्ने जोखिमसमेत बढेको जनाइएको छ।
चिनियाँ दूतावासले तालको तल्लो तटीय क्षेत्रमा रहेका स्थानीय बासिन्दा तथा सम्बन्धित कर्मचारीलाई नदीको पानीको सतहमा भइरहेको परिवर्तन नजिकबाट नियाल्न, उच्च सतर्कता अपनाउन तथा सम्भावित आपत्कालीन अवस्थाका लागि पूर्वतयारी गर्न आग्रह गरेको छ।
चीन र नेपालका सम्बन्धित निकायले अवस्थाको निरन्तर निगरानी गर्दै जोखिमको मूल्यांकन तथा व्यवस्थापन गरिरहेको दूतावासले जनाएको छ।
सर्वसाधारणलाई आधिकारिक सूचनामात्र विश्वास गर्न, पुष्टि नभएका समाचार नफैलाउन र अनावश्यक त्रास सिर्जना नगर्न पनि चिनियाँ दूतावासले अनुरोध गरेको छ।

नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ५३८ पुगेको छ। ९७७ जना अझै बेपत्ता रहेको जनाइएको छ। नेपाली सेनासहित १३ हजारभन्दा बढी सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा परिचालित छन्।
यसैबीच, बाढीअघि नेपालतर्फ पर्याप्त पूर्वसूचना नदिइएको भन्दै चीनको भूमिकामाथि प्रश्न उठेका छन्। यस विषयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समेत विभिन्न विश्लेषण सार्वजनिक गरेका छन्।
चिनियाँ दूतावासको खण्डन
नेपालमा पूर्वसूचना नदिएका कारण ठूलो जनधनको क्षति भएको भन्ने आरोपलाई काठमाडौंस्थित चिनियाँ दूतावासले खण्डन गरेको छ। सामाजिक सञ्जालमा फैलिएका त्यस्ता खबरलाई दूतावासले ‘भ्रामक’ भनेको छ।
दूतावासका अनुसार अगस्ट २६ मा सीमा क्षेत्रमा हिमपहिरोका कारण उक्त विपद् भएको हो। आगामी दिनमा मौसम, जलविज्ञान तथा भूगर्भीय जोखिमसम्बन्धी ‘रियल–टाइम’ सूचना आदान–प्रदान र सीमापार विपद् व्यवस्थापनमा समन्वय बढाउन चीन तयार रहेको पनि दूतावासले जनाएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको विश्लेषण
‘साउथ चाइना मोर्निङ पोस्ट’ले चीनको अर्ली वार्निङ सिस्टमले यस घटनामा पूर्वचेतावनी जारी गरेको थियो वा थिएन भन्ने अझै स्पष्ट नभएको उल्लेख गरेको छ। चिनियाँ विज्ञ काङ सिचाङले दुर्गम हिमाली क्षेत्रमा पर्याप्त सेन्सर तथा निगरानी उपकरणको अभावमा लेदोको तीव्र बहाव तल्लो क्षेत्रमा नपुगेसम्म जोखिम पहिचान गर्न कठिन हुने बताएका छन्।
‘द न्युयोर्क टाइम्स’ले ‘इन्टरनेसनल क्याम्पेन फर तिब्बत’का कार्यकारी निर्देशक रायन फियोरेसीलाई उद्धृत गर्दै तिब्बतबाट बाहिरिने सूचनामा चिनियाँ सरकारको कडा नियन्त्रण रहेको दाबी गरेको छ। उनका अनुसार विपद्का बेला वास्तविक क्षति र प्रभावितको विवरण प्राप्त गर्न कठिन हुन सक्छ।
त्यस्तै, ‘नेचर न्युजलेटर’ले उच्च हिमाली क्षेत्र तथा हिमनदीहरू चीनतर्फ रहेकाले तल्लो तटीय क्षेत्रमा हुने जोखिम न्यूनीकरणका लागि नेपाल र चीनबीच सीमापार सूचना आदान–प्रदान तथा प्राविधिक समन्वय आवश्यक रहेको औँल्याएको छ।

नेपाल–चीन सीमावर्ती बाढीबाट करिब ९३ हजार मानिस प्रभावित भएको आईएफआरसीले जनाएको छ। थप बाढीको जोखिमप्रति चिन्ता व्यक्त गर्दै उसले उद्धार र पुनर्निर्माणका लागि ३१ मिलियन अमेरिकी डलर सहायता अपिल गरेको छ।
नेपाल रेडक्रसले प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गरिरहेको छ। पुल र सडक क्षतिग्रस्त हुँदा दुर्गम क्षेत्रमा राहत पुर्याउन कठिनाइ भइरहेको जनाइएको छ।

भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले पुलहरूमा ठूलो क्षति पुर्याएपछि नेपालले भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग गरेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार तत्काल आवतजावत सहज बनाउन आवश्यक ४२ वटा बेलिब्रिज उपलब्ध गराइदिन दुवै छिमेकी मुलुकसँग आग्रह गरिएको हो।
बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। पुलहरू बगाएपछि विभिन्न स्थानको सडक सम्पर्कसमेत विच्छेद भएको छ।
पक्की पुल निर्माण गर्न लामो समय लाग्ने भएकाले तत्काल यातायात सञ्चालनका लागि बेलिब्रिज आवश्यक परेको मन्त्रालयले जनाएको छ।
बेलिब्रिजसँगै शव व्यवस्थापनका लागि एक हजारभन्दा बढी शव राख्ने झोलासमेत माग गरिएको जनाइएको छ।

भोटेकोशी बाढीमा परी ५९७ जनाको शव फेला परेको छ भने १ हजार ९२४ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार चितवनमा सबैभन्दा धेरै २३३, नवलपरासी पूर्वमा १५४ र तनहुँमा ३० जनाको शव फेला परेको छ। बेपत्तामध्ये जलविद्युत आयोजनाका ९३३ र विदेशी नागरिक ५१७ जना छन्।
हाल १०१ जना घाइते अस्पतालमा उपचाररत छन् भने उद्धार तथा राहतका लागि १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरिएको छ।

लुम्बिनी प्रदेश सरकारले बाढी तथा पहिरो प्रभावितको राहत र उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
प्रदेशमा स्थायी बसोबास गर्ने विपद्मा ज्यान गुमाएका परिवारलाई १ लाख रुपैयाँ राहत दिने निर्णयसमेत गरिएको छ। रसुवा लगायतका जिल्लामा बाढीपहिरोपछि लुम्बिनीका १८१ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् प्रभावितलाई सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन्।

वर्षासँगै देशका विभिन्न जिल्लामा आज (भदौ १३) आकस्मिक बाढीको जोखिम देखिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार केही साना तथा ठूला नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना छ।
महाशाखाका अनुसार पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, रुकुम पश्चिम, जुम्ला, जाजरकोट, दैलेख, अछाम तथा आसपासका जिल्लाबाट बहने स–साना नदीमा पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ।
यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

भोटेकोशी बाढीपछि नारायणी नदीमा भेटिएका पहिचान हुन नसकेका र सडेगलेका शव डीएनए नमुना तथा ट्यागसहित देवघाटनजिकै जंगलमा व्यवस्थापन गरिने भएको छ। चितवनमा भेटिएका २३३ शवमध्ये ६ जनाको पहिचान भइसकेको छ।

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित ११ जलविद्युत् आयोजनामा कार्यरत ८९८ जना सम्पर्कविहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ।
इप्पानका अनुसार रसुवाका ७ आयोजनामा ७३० जना र नुवाकोटका ६ आयोजनामा १६८ जना सम्पर्कविहीन छन्। रसुवाको माथिल्लो त्रिशुली–१ आयोजनामा मात्रै ५७६ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
हालसम्म ३६१ जनाको जीवितै उद्धार गरिएको छ। माथिल्लो त्रिशुली–१ बाट २५४, लाङटाङ खोलाबाट १८ र माथिल्लो त्रिशुली–३बीबाट ९१ जनाको उद्धार भएको इप्पानले जनाएको छ।
माथिल्लो त्रिशुली–१ को सुरुङमा अझै करिब ३०० जना फसेको र उद्धारका लागि चिनियाँ टोली परिचालन हुने जनाइएको छ।

सरकारको आग्रहपछि सुरुङमा फसेकाहरूको उद्धारका लागि चिनियाँ विज्ञ टोली रसुवा पुगेको छ। नेपालस्थित चिनियाँ दूतावासका अनुसार टोली प्रभावित क्षेत्रमा पुगिसकेको छ।
भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङमा कर्मचारीहरू फसेका छन्। उनीहरूको उद्धारका लागि नेपालले भारत र चीनसँग सहयोग मागेको थियो। भारतीय टोली शुक्रबार नै नेपाल आइपुगेको थियो।

रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीका कारण त्रिशूली नदीमा जलसतह ३ मिटरसम्म बढेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ३ बजेको मापनमा धादिङको गल्छीस्थित नदी बाढीमापन केन्द्रमा त्रिशूली नदीको जलसतह ३ मिटरसम्म बढेको हो।
महाशाखाले गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा भएको जनाएको छ। भारी वर्षाका कारण नारायणी नदी र यसका सहायक नदीहरूमा समेत जलसतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
यस्तै, मौसम पूर्वानुमान महाशाखाको बिहान ६:२५ बजेको अपडेटअनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थान तथा गण्डकी, कोसी र वाग्मती प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको थियो।
महाशाखाले ती क्षेत्रमा थप वर्षा हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउनसमेत आग्रह गरेको छ।

रसुवाको भोटेकोसी क्षेत्रमा गएको बाढीमा परेर सम्पर्कविहीन भएका १६ देशका २६१ विदेशी पर्यटकको उद्धार गरिएको छ।
नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरका अनुसार बुधबार बिहान बाढी आएपछि गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका पर्यटकमध्ये शनिबार साँझसम्म २६१ जनाको उद्धार गरिएको हो।
उद्धार गरिएकामध्ये सबैभन्दा धेरै भारतीय पर्यटक १६७ जना छन्। यस्तै, चीनका ४०, युक्रेनका ८, जर्मनीका ४, माल्टाका ४, इटालीका ३, अमेरिकाका ३, रसिया, स्पेन, स्वीजरल्यान्ड र टर्कीका २/२ तथा बेल्जियम, बुल्गेरिया, ओमान र पोर्चुगलका १/१ जना रहेका छन्। देश तथा परिचय खुल्न नसकेका थप २१ पर्यटकको पनि उद्धार गरिएको बोर्डले जनाएको छ।
बाढीमा परेर अझै ३२० पर्यटक सम्पर्कविहीन रहेको पर्यटन बोर्डले जनाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरीलगायत पर्यटन क्षेत्रका सरोकारवाला निकायले प्रभावित क्षेत्रमा पर्यटकको खोजी तथा उद्धारलाई तीव्रता दिएका छन्। घाइते तथा अलपत्र पर्यटकलाई सुरक्षित स्थानमा ल्याउन आवश्यक सबै प्रयास भइरहेको बोर्डले जनाएको छ।
‘पर्यटकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो’ भन्दै बोर्डले पर्यटक तथा सम्बन्धित सबैलाई धैर्य र सतर्क रहन आग्रह गरेको छ।
बोर्डले आवश्यक जानकारी तथा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन ११४४ तथा पर्यटन प्रहरीको नम्बर ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरेको छ।

तिब्बतको केरुङ क्षेत्रमा आएको बाढी र पहिरोमा परी बेपत्ता भएका ५४६ जनामध्ये २६१ जना २३ देशका विदेशी नागरिक रहेको चिनियाँ अधिकारीहरूले जनाएका छन्।
चीनका विभिन्न सरकारी निकायको संयुक्त छानबिनपछि सार्वजनिक गरिएको विवरणअनुसार बेपत्ता विदेशीमध्ये नेपालका १०४, भारतका ४९, लात्भियाका ३३, अमेरिकाका १८ र बेलायतका १५ जना छन्।
चीनले सम्बन्धित देशका दूतावास तथा कूटनीतिक नियोगलाई यसबारे जानकारी गराइसकेको जनाएको छ। बाढीपहिरोमा हालसम्म १६ जनाको मृत्यु भएको पुष्टि भएको छ।
सञ्चार सम्पर्क विच्छेद तथा सडक अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भइरहेको छ। चिनियाँ अधिकारीहरूले ड्रोन र उद्धार टोलीमार्फत खोजी कार्य जारी राखेका छन्।

भोटेकोसीमा गत बुधबार आएको बाढीपछि नेपाली सेनाले २१६ विदेशी पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरेको छ।
सेनाका अनुसार भदौ १४ गते बिहान ७ बजेसम्म टिमुरे, स्याफ्रुबेँसी, धुन्चे र मैलुङ क्षेत्रबाट उनीहरूको उद्धार गरिएको हो। उद्धार गरिएकामा १२१ भारतीय, ७२ चिनियाँ, १५ कोरियन, ४ जर्मन, २ अमेरिकी, २ इटालियन र १ ओमानी नागरिक छन्।
सेनाले हवाई तथा स्थलमार्गबाट हालसम्म २ हजार ६९७ जनाको उद्धार गरेको जनाएको छ। उद्धार तथा राहतका लागि प्रभावित क्षेत्रमा ८ हजार ३ सयभन्दा बढी सैनिक परिचालन गरिएको छ।
यस्तै, हाइड्रोपावरका टनेलको प्रवेशद्वार खोज्ने क्रममा त्रिशूली हाइड्रोपावरको थ्री-ए टनेल पत्ता लगाउन रातभर काम गरिएको थियो। तर, राति २ बजेपछि भारी वर्षा र खोलाको सतह बढेपछि खाडलमा पानी भरिँदा खोजी कार्य केही समय रोकिएको सेनाले जनाएको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
नेपाल प्रहरीका अनुसार आइतबार (भदौ १४) बिहान त्रिशूली नदीको कटानका कारण सडक भासिएको हो।
सडक अवरुद्ध भएपछि प्रहरीले सवारीसाधनलाई सुरक्षित स्थानमा रोकेको जनाएको छ।

नेपाल–चीन सीमाना नजिक पहिरोका कारण नदी थुनिएर बनेको कृत्रिम ताल भरिएपछि पानी बाहिर बग्न थालेको छ। चिनियाँ अधिकारीहरूले आइतबार अवस्था नियन्त्रणमा रहेको जनाएका छन्।
तिब्बत क्षेत्रीय सरकारका अनुसार तालबाट पानीको निकास सुरु भइसकेकाले अहिले समग्र स्थिति स्थिर छ र ताल पूर्ण रूपमा फुट्ने जोखिम पनि निकै कम भएको छ।
प्रारम्भिक अध्ययनअनुसार हिमपहिरो र पहिरोका कारण बनेको लेदो ६–७ मिनेटमै केरुङ नाकासम्म पुगेको थियो। अचानक बाढी आएकाले सीमा क्षेत्रका नागरिक तथा तीर्थयात्रीले सुरक्षित स्थानमा जाने पर्याप्त समय नपाएको बताइएको छ।
तालबाट पानी क्रमशः बाहिरिन थालेसँगै ठूलो बाढीको जोखिम केही घटेको भए पनि नेपालतर्फ भोटेकोसी र त्रिशूली नदी किनारका क्षेत्रमा अझै सतर्कता आवश्यक रहेको अधिकारीहरूले बताएका छन्।

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री बोकेका दुई ठूला विमान आइतबार बिहान काठमाडौं आइपुगेका छन्।
काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार चेङ्दु सुआङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका विमान करिब तीन घण्टापछि बिहान ७ बजे काठमाडौं अवतरण गरेका हुन्।
विमानमा टेन्ट, कम्बल, स्लिपिङ ब्याग, सुक्खा खाना र प्राथमिक उपचार किटसहित १३ हजार २०० थान राहत सामग्री ल्याइएको छ। साथै चार चिनियाँ सुरुङ उद्धार विशेषज्ञ र आवश्यक उद्धार सामग्री पनि आएका छन्।
चिनियाँ राजदूत झाङ माओमिङले उक्त राहत सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र प्रतिनिधिसभा सदस्य धर्म केसीलाई हस्तान्तरण गरेका छन्।

आइतबार बिहान आएको बाढीले धादिङको गल्छी गाउँपालिका–४ स्थित चिरौदी खोलाको छेउमा रहेका चारवटा घर बगाएको छ।
गल्छी गाउँपालिका–६ का वडाध्यक्ष दीपककुमार कार्कीका अनुसार यसअघि भदौ १० गते आएको बाढीले घरहरू कमजोर बनाएको हुनसक्ने र आइतबारको बाढीले ती घर बगाएको हो।
बाढीबाट मानवीय क्षति भने नभएको उनले जानकारी दिए।

नेपाल–चीन सीमाना नजिक हिमपहिरोका कारण बनेको कृत्रिम तालको पानी पूर्ण रूपमा निकास भएको छ। चीनको जलस्रोत मन्त्रालय र चिनियाँ केन्द्रीय टेलिभिजन (सीसीटीभी)लाई उद्धृत गर्दै चाइना डेलीले तालको पानी निकास भएर अवस्था सामान्य बनेको जनाएको छ।
छोछेन खोला र चीनतर्फको पुरेपु साङ्पो नदीको संगम नजिक बनेको उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो। प्राकृतिक रूपमा पानी बाहिरिएपछि जलभण्डार पूर्ण रूपमा रित्तिएको चिनियाँ जलवैज्ञानिक टोलीले जनाएको छ।
यस्तै, तिब्बतको आपत्कालीन व्यवस्थापन विभागका अनुसार शनिबार साँझसम्म केरुङ नाका क्षेत्रमा १६ जनाको मृत्यु पुष्टि भएको छ भने ५४६ जना अझै बेपत्ता छन्। बेपत्तामध्ये २६१ जना २३ देशका विदेशी नागरिक रहेको जनाइएको छ।

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी, ठेकेदार तथा कामदार गरी २०१ जना सम्पर्कविहीन भएका छन्।
आयोजनाकी कम्पनी सचिव तथा प्रशासन प्रमुख लीला अर्यालका अनुसार सुरुङभित्र रहेका उनीहरू बाढीपछि सम्पर्कमा आउन सकेका छैनन्।
सम्पर्कविहीन हुनेमा आयोजनाका २१ कर्मचारी, सात परिवारका सदस्य, परामर्शदाता कम्पनी चेस्कोका १२ जना, ठेकेदारतर्फका ६ जना, काठमाडौं विश्वविद्यालयका तीन इन्टर्न, १५१ कामदार र एक सुरक्षा गार्ड रहेका छन्।
उद्धारका लागि नेपाली सेनाको १६ सदस्यीय टोलीसहित आयोजनाका अधिकारी तथा इन्जिनियर घटनास्थलमा खटिएका छन्। टोलीले आवश्यक उपकरण प्रयोग गरी प्रभावित क्षेत्र पहिचान तथा खोजी कार्य अघि बढाउने प्रयास गरिरहेको छ।

बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्यमा सघाउन भारत, चीन र दक्षिण कोरियाबाट विज्ञ तथा प्राविधिक टोली नेपाल आएका छन्।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार जलविद्युत् आयोजनाका सुरुङमा फसेका कामदारको उद्धारका लागि भारतबाट ११, चीनबाट ९ जना तथा दक्षिण कोरियाका विशेष प्राविधिक टोलीसँग नेपाली सुरक्षा तथा उद्धार निकायले सहकार्य गरिरहेका छन्।
यस्तै, मृतकको शव व्यवस्थापनका लागि भारत र चीनबाट एयरटाइट ब्याग प्राप्त भएको र थप ब्याग आउने क्रममा रहेको उनले बताए।
डीएनए विश्लेषणमा विशेषज्ञता भएका भारतका १८ जना फरेन्सिक विज्ञको टोली पनि नेपाल आइपुगेको र उनीहरूसँग समन्वय भइरहेको परराष्ट्र सचिव राईले जानकारी दिए।

नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढी र पहिरोका कारण तीन जिल्लाका कम्तीमा १९ वटा विद्यालय प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार बाढी–पहिरोबाट विशेषगरी रसुवा र नुवाकोटका शैक्षिक संस्थामा ठूलो क्षति पुगेको छ।
बीबीसी नेपाली र बीबीसी दक्षिण एसिया भिजुअल जर्नलिज्मका अनुसार बाढी–पहिरोमा परी २०० भन्दा बढी विद्यार्थी बेपत्ता भएका छन्। कम्तीमा २० जना विद्यार्थी बाढीमा बगेको पुष्टि भएको छ भने विभिन्न विद्यालयका शिक्षकसमेत सम्पर्कविहीन छन्।
मन्त्रालयका अनुसार कम्तीमा नौवटा विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन् भने सातवटा विद्यालयमा आंशिक क्षति पुगेको छ। रसुवा र नुवाकोटका क्षतिग्रस्त विद्यालयमा कुल २ हजार ४२५ विद्यार्थी अध्ययनरत थिए।
बाढी र पहिरोका कारण केही विद्यालय लेदोले पुरिएका छन् भने केही विद्यालयका संरचना बाढीले बगाएको छ। एउटा विद्यालयले आफ्ना विद्यार्थी सवार बससमेत बाढीले बगाएको जानकारी मन्त्रालयलाई गराएको छ।
प्राकृतिक विपद्का कारण विद्यालयका भौतिक संरचनासँगै विद्यार्थी र शिक्षकको सुरक्षामासमेत गम्भीर असर परेको छ।

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण चितवनको फिस्लिङदेखि गोलाघाटसम्म त्रिशूली र नारायणी नदी किनारमा आइतबारसम्म २७२ जनाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका शवमध्ये हालसम्म १२ जनाको मात्रै पहिचान खुलेको छ। सनाखत भएका शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।
पहिचान हुन नसकेका बाँकी शवलाई भविष्यमा आफन्तले सनाखत गर्न सक्ने गरी वैज्ञानिक विधिबाट देवघाटमा सुरक्षित राख्न थालिएको छ।
नदी किनारमा फेला परेका २७२ शवमध्ये ६२ जना महिला, ११० जना पुरुष, सात बालक, छ बालिका र ८७ जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
फेला परेका शवमध्ये शनिबार ९६ र आइतबार १०३ गरी कुल १९९ शवलाई सुरक्षित रूपमा गाडिएको छ। सनाखत भई आफन्तले बुझेका १२ शवमध्ये ११ पुरुष र एक बालिका रहेका छन्।

भोटेकोसी नदीमा आएको बाढीमा अलपत्र परेका तीन हजारभन्दा बढीको उद्धार गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार गएरातिसम्म रसुवा र नुवाकोटका विभिन्न स्थानबाट ३ हजार २९ जनाको उद्धार गरिएको हो।
उद्धार गरिएकामध्ये २ हजार ७७६ जना नेपाली र २५३ जना विदेशी नागरिक रहेका छन्। पछिल्लो २४ घण्टामा मात्रै ६२४ जनाको उद्धार गरिएको प्रजिअ रेग्मीले जानकारी दिए।
उनका अनुसार बाढीबाट ज्यान जोगाएर सुरक्षित स्थानमा आश्रय लिइरहेकाहरूलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। उद्धारपछि उनीहरूको स्वास्थ्य परीक्षण गरिएको छ। उपचार आवश्यक देखिएकालाई स्वास्थ्य संस्थामा पठाइएको र अन्यलाई परिवारसँग पुनर्मिलन गराइएको उनले बताए।
भोटेकोसी बाढीमा अलपत्र परेकामध्ये जलविद्युत् आयोजनाका सुरुङभित्र रहेको भनिएका व्यक्तिबाहेक अन्यको उद्धार कार्य जारी छ। रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायत क्षेत्रमा अझै केही व्यक्ति फसेको हुनसक्ने भन्दै नियमित रूपमा हेलिकोप्टरमार्फत खोजी तथा रेकी भइरहेको प्रजिअ रेग्मीले बताए।
यसैबीच, भोटेकोसी बाढीमा परेर आफन्त हराएको भन्दै आइतबारसम्म १ हजार ५५८ जनाको खोजतलासका लागि निवेदन परेको छ। नुवाकोट र रसुवाका विभिन्न स्थानबाट आफ्ना आफन्त हराएको भन्दै निवेदन परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विपीन रेग्मीले जानकारी दिए।
हराएका व्यक्तिको खोजतलासका लागि नेपाल प्रहरीको वेबसाइट, जिल्ला प्रहरी कार्यालय, प्रशासन कार्यालय तथा श्री नं. १ सैन्य तालिम केन्द्र, विदुरमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ।
हराइरहेका तथा बाढीमा फसेकाको खोज तथा उद्धारका लागि हेलिकोप्टर, तालिमप्राप्त कुकुर र ड्रोन क्यामेरासहित संयुक्त सुरक्षा फौजको टोली परिचालन गरिएको छ।
बाढीमा परी ज्यान गुमाएकामध्ये नुवाकोटमा हालसम्म ९५ जनाको शव संकलन गरिएको छ। जिल्लाका विभिन्न ३० स्थानमा संयुक्त सुरक्षा टोली परिचालन गरी गरिएको खोज तथा उद्धारका क्रममा ती शव संकलन गरिएको हो।
संकलित शवको पहिचानका लागि प्रहरीले तस्बिरसहितको विवरण सार्वजनिक गरेको छ। शव परीक्षणका लागि नुवाकोटबाट काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज पठाइएकाले सम्बन्धित परिवारलाई अस्पतालमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या ९०३ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार भदौ १५ गते बिहान ९ बजेसम्म विभिन्न जिल्लाबाट ९०३ जनाको शव फेला परेको हो।
सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन्। प्राधिकरणका अनुसार रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, तनहुँमा ३७ र चितवनमा २७२ शव फेला परेका छन्। चितवनमा फेला परेका शवमा विभिन्न मानव अंगसमेत समावेश छन्।
बाढीपछि अझै ४ हजार २४७ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न जलविद्युत् आयोजना तथा भन्सार कार्यालयमा कार्यरत कर्मचारीसमेत छन्।
सम्पर्कविहीनमध्ये ५९२ जना विदेशी नागरिक रहेका छन्। यस्तै, विदेशी पर्यटकसँगै घुम्न गएका १२७ नेपाली नागरिकसमेत अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ। बाढीमा परी २६७ जना घाइते भएका छन्, जसमध्ये १६५ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
उद्धार तथा राहतका लागि २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। भदौ १० गते बिहान आएको भीषण बाढीले रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ।

भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि रसुवागढी जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका ९३ जनाको खोजी तथा उद्धारका लागि टोली परिचालन गरिएको छ।
भदौ १० गते बिहान आएको बाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ९३ जना सम्पर्कविहीन भएका हुन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार नेपाली सेनाको हेलिकोप्टरमार्फत प्राविधिक तथा विज्ञ टोली परिचालन गरी घटनास्थलको रेकीलगायतका काम भइरहेको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार सम्पर्कविहीनमध्ये रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ जना कर्मचारी छन्। यस्तै, दुई जना ज्यालादारी कर्मचारी तथा निर्माणमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ जना सम्पर्कविहीन छन्।
त्यसैगरी, आयोजनामा कार्यरत सिडब्लुईका चार जना र भनस कन्स्ट्रक्सनका तीन जना पनि सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।
यसअघि आयोजनाको भूमिगत डिसेन्डरमा छ जना फसेका थिए। तीमध्ये चार जना दुई दिन लगाएर आफैँ बाहिर निस्कन सफल भएका थिए। उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले नेपाल–चीन सीमाक्षेत्रमा हुने जलवायुजन्य विपद्सम्बन्धी पूर्वसूचना आदानप्रदानका लागि हालसम्म औपचारिक सहमति नभएको जनाएको छ।
केन्द्रअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका बाढीविद् विनोद पराजुलीका अनुसार नेपाल र चीनबीच यस विषयमा छलफल भए पनि तथ्यांक आदानप्रदानको औपचारिक चरणमा पुगिएको छैन।
रासससँगको अन्तर्वार्तामा उनले नेपाल र चीनबीच वार्तामा बसेर भविष्यमा यस दिशामा अघि बढ्ने सहमति भएको बताए। तर, त्यसअघि सीमाक्षेत्रमा तथ्यांक संकलन, सर्वेक्षण र संयुक्त अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ।
“त्यो क्षेत्रमा अध्ययन अनुसन्धान गरेर कहाँ–कहाँ जोखिम छ, कहाँ–कहाँ सेन्सरहरू राख्ने भन्ने कुरा सबै एकिन नगरी हामी तथ्यांक आदानप्रदानमा पुग्न सक्दैनौँ,” उनले भने।
पराजुलीका अनुसार तिब्बत–नेपाल सीमाक्षेत्रमा बाढी तथा अन्य जलवायुजन्य विपद्सम्बन्धी तथ्यांक संकलन वा सर्वेक्षण गर्ने व्यवस्थित संयन्त्रसमेत छैन।
उनले चीनसँग आवश्यक तथ्यांक रहेको भए नेपालले प्राप्त गर्न सक्ने सम्भावना भए पनि त्यसका आधारमा चीनलाई दोष दिन नमिल्ने बताए। उनका अनुसार भविष्यमा नेपाल र चीनले संयुक्त रूपमा सीमाक्षेत्रमा सर्वेक्षण संयन्त्र विस्तार गर्नुका साथै सीसी क्यामेरालगायत उपकरण जडान गरी नेपाललाई ‘रियल टाइम’ तथ्यांकमा पहुँच दिने व्यवस्था गर्न आवश्यक छ।
यस्तो संयन्त्र स्थापना भएमा सीमाक्षेत्रमा विपद् आउनुअघि नै समयमै सूचना प्राप्त गरी सम्भावित क्षति न्यूनीकरण गर्न र नागरिकको ज्यान जोगाउन सकिने उनको भनाइ छ।
यसका लागि नेपालले कूटनीतिक पहलमार्फत चीनसँग पूर्वसूचना तथा तथ्यांक आदानप्रदानको स्थायी संयन्त्र निर्माण गर्नुपर्नेमा पराजुलीले जोड दिएका छन्।

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट उत्पन्न संकट समाधानका विषयमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिरहेका छन्।
प्रधानमन्त्री शाहले केहीबेरअघि प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरी हालसम्म भएका खोज तथा उद्धार, राहत र व्यवस्थापनका कामबारे ब्रिफिङ लिएका छन्।
प्रधानमन्त्रीले केहीबेरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि ब्रिफिङ लिने कार्यक्रम छ।
यस्तै, आजै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि छलफल तथा ब्रिफिङ लिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

रसुवाको आमाछोदिङमो–१ स्थित हाकु क्षेत्र भोटेकोसी बाढीबाट प्रभावित भएको छ। वडाध्यक्ष साङ लामा तामाङका अनुसार हाकु क्षेत्रमा ६५–७० जना बेपत्ता छन्।
बाढीले पुल बगाएपछि हाकुबेँसी सडक सम्पर्कविच्छेद भएको छ। विद्युत् र टेलिकम सेवा अवरुद्ध हुँदा उद्धार तथा राहतमा समेत समस्या भएको छ।
हाकुबेँसी बाढीको जोखिममा समेत रहेकाले स्थानीयलाई सुरक्षित स्थानमा सार्न वडाध्यक्ष तामाङले सरकारसँग आग्रह गरेका छन्। उनले संघ, प्रदेश र स्थानीय तहबीच समन्वयको अभावमा पीडितले पर्याप्त राहत पाउन नसकेको गुनासो गरेका छन्।

रसुवाको आमाछोदिङमो–१ स्थित हाकु क्षेत्र भोटेकोसी बाढीबाट प्रभावित भएको छ। वडाध्यक्ष साङ लामा तामाङका अनुसार हाकु क्षेत्रमा ६५–७० जना बेपत्ता छन्।
बाढीले पुल बगाएपछि हाकुबेँसी सडक सम्पर्कविच्छेद भएको छ। विद्युत् र टेलिकम सेवा अवरुद्ध हुँदा उद्धार तथा राहतमा समेत समस्या भएको छ।
हाकुबेँसी बाढीको जोखिममा समेत रहेकाले स्थानीयलाई सुरक्षित स्थानमा सार्न वडाध्यक्ष तामाङले सरकारसँग आग्रह गरेका छन्। उनले संघ, प्रदेश र स्थानीय तहबीच समन्वयको अभावमा पीडितले पर्याप्त राहत पाउन नसकेको गुनासो गरेका छन्।

रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङका २३ विद्यालयमा क्षति पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार ती विद्यालयमा अध्ययनरत करिब ६ हजार ९ सय विद्यार्थी प्रभावित भएका छन्।
प्रारम्भिक विवरणअनुसार रसुवाका ७, नुवाकोटका ८ र धादिङका ८ विद्यालयमा क्षति पुगेको हो। तीमध्ये ८ विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त छन् भने ८ वटामा ठूलो क्षति पुगेको छ।
बाढीपहिरोमा परी करिब २४१ विद्यार्थी, शिक्षक तथा कर्मचारी हराइरहेको वा सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण छ। सञ्चार तथा यातायात अवरुद्ध भएकाले यो संख्या यकिन भइसकेको छैन।
मन्त्रालयले विद्यालयको वास्तविक अवस्था र आवश्यक शैक्षिक सहयोग पहिचान गर्न द्रूत सर्वेक्षण टोली प्रभावित क्षेत्रमा पठाएको छ। विद्यालय सञ्चालन गर्न नसकिने अवस्थामा नजिकका विद्यालयमा अस्थायी अध्ययन व्यवस्था मिलाउने तथा अस्थायी सिकाइ केन्द्रमार्फत बालबालिकालाई पुनः शिक्षामा जोड्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा बेपत्ता भएकाहरूको यकिन संख्या अझै निर्धारण हुन नसकेको जनाएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सोमबार बिहान ९ बजेसम्म विभिन्न आधिकारिक निकायबाट प्राप्त विवरणलाई एकीकृत गर्दा ४ हजार २०२ जना बेपत्ता रहेको तथ्यांक आएको छ। खोज तथा उद्धार जारी रहेकाले यो संख्या घटबढ हुन सक्ने उनले बताइन्।
स्थानीय तह, जिल्ला प्रशासन, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्ज तथा जलविद्युत् आयोजनाबाट बेपत्ताको विवरण संकलन भइरहेको छ।
यसैबीच, विभिन्न जलविद्युत् आयोजना तथा सुरुङबाट उद्धार जारी छ। प्राधिकरणका अनुसार हाइड्रोपावरका सुरुङबाट मात्रै २८९ जनाको उद्धार गरिएको छ। आइतबार चिनियाँ १५ र भारतीय सात गरी थप २२ जनाको उद्धार गरिएको थियो।
हालसम्म बाढीमा परी ९०३ जनाको शव फेला परेको छ भने १० हजारभन्दा बढीको उद्धार गरिएको छ। २६७ जना घाइते भएका छन्। बेपत्ताको खोजी तथा उद्धारका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
लाङटाङ हाइड्रोमा भएको क्षतिबारे भने छुट्टै विवरण प्राप्त भइनसकेको प्रवक्ता महतले बताइन्।

नेपालमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए)का राष्ट्रिय समन्वय परिषद् तथा नेपाली समुदायले राहत संकलन अभियान तीव्र बनाएका छन्।
अफ्रिकाका विभिन्न देशमा रहेका नेपालीले सञ्चालन गरेको अभियानबाट हालसम्म उल्लेख्य रकम संकलन भएको छ। एनआरएनए नाइजेरियाले १८ लाख, कंगोले १३ लाख र घानाले १ लाख ५० हजार रुपैयाँ संकलन गरेका छन्।
केन्या, सेसेल्स, तान्जानिया, दक्षिण अफ्रिका र रुवान्डालगायत देशमा रहेका एनआरएनए शाखा तथा नेपाली समुदायले पनि सहयोग संकलन गरिरहेका छन्।
एनआरएनए युगान्डाकी अध्यक्ष रमा अर्यालले बाढीपीडितका लागि १० हजार १०१ अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेकी छन्। व्यक्तिगत तथा संस्थागत रूपमा समेत सहयोग जुटिरहेको जनाइएको छ।
संकलित रकम नेपाल सरकारलाई बाढीपीडितको राहत तथा पुनर्स्थापनामा प्रयोग हुने गरी हस्तान्तरण गरिने एनआरएनएका पूर्वकोषाध्यक्ष हिक्मत थापाले जानकारी दिए।

नेपाल–तिब्बत सीमा क्षेत्रमा गएको विनाशकारी बाढी र पहिरोपछि सूचना प्रवाहमा पारदर्शितालाई लिएर उठेका प्रश्नमा चीनले आफ्नो बचाउ गरेको छ। चीनले विपद्सम्बन्धी विवरण खुला, पारदर्शी र समयमै सार्वजनिक गरिरहेको दाबी गरेको हो।
सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा सेन्सरसिपसम्बन्धी प्रश्नको जवाफ दिँदै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले विपद् व्यवस्थापन तथा राहत कार्य व्यवस्थित रूपमा भइरहेको बताए।
उनले प्राकृतिक विपत्तिको विषयलाई लिएर चीनविरुद्ध दुर्भावनापूर्ण प्रचार तथा भ्रम फैलाउने प्रयासलाई जनताको समर्थन नहुने दाबी गरे।
यसअघि बीबीसीले केरुङ नाकामा बाढीले पुर्याएको क्षतिको नाटकीय भिडियो चिनियाँ सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सेन्सर गरिएको रिपोर्ट सार्वजनिक गरेको थियो। चिनियाँ सरकारी मुख्य समाचार बुलेटिनमा घटनासम्बन्धी हालसम्म एउटा मात्र स्थिर तस्बिर प्रसारण गरिएको दाबीसमेत बीबीसीले गरेको थियो।

कृष्णभीरमा पहिरो गएपछि राजधानीको मुख्य ‘लाइफलाइन’ मानिने पृथ्वी राजमार्ग अवरुद्ध भएकाले सडक विभागले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।
राजधानी भित्रिन तथा मालवस्तु ढुवानीका लागि विभागले त्रिभुवन राजपथ, कान्ति राजपथ, बीपी राजमार्ग र हेटौँडा–कुलेखानी–फर्पिङ सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न अनुरोध गरेको हो।
रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली नदीले कृष्णभीर क्षेत्रमा सडक कटान गरेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको विभागले जनाएको छ।

रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले नुवाकोटको त्रिशूली बजार र ढुंगे क्षेत्रमा करिब ४०० घरमा पूर्ण तथा आंशिक क्षति पुर्याएको छ। धेरै घर बाढीले बगाएको छ भने बाँकी केही घर बस्नै नमिल्ने अवस्थामा छन्।
विदुर नगरपालिका–१ का वडाध्यक्ष लेलिन रञ्जितका अनुसार त्रिशूली बजारको वारिपारि गरी करिब ४०० घर प्रभावित भएका छन्। बाढीपछि पारितर्फका ६३ र वारितर्फका ९ जना गरी ७२ जना अझै सम्पर्कविहीन छन्। घरभित्रबाट हालसम्म १० जनाको शव फेला परेको उनले बताए।
पुल बगाएपछि त्रिशूली बजारको पारितर्फ सडक सम्पर्कविच्छेद भएको छ। वडाध्यक्ष रञ्जितले सुरुआती दिनमा संघीय सरकारका निकायले स्थानीय तहसँग पर्याप्त समन्वय नगर्दा उद्धारमा ढिलाइ भएको गुनासो गरेका छन्।
शनिबारदेखि सशस्त्र प्रहरीको टोली परिचालन भएपछि उद्धार तथा राहत कार्य अघि बढेको उनले बताए। हेलिकोप्टरमार्फत विद्यार्थी र अशक्त बिरामीको समेत उद्धार गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा स्थानीय तह तथा विभिन्न संघसंस्थाको समन्वयमा राहत वितरण भइरहेको छ। संघीय सरकारबाट पर्याप्त राहत नपुगेको वडाध्यक्षको गुनासो छ।
उनले त्रिशूली नदीमा तत्काल बेलीब्रिज निर्माण गरी सडक सम्पर्क पुनःस्थापित गर्न तथा बाढीले बगाएको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको वैकल्पिक व्यवस्था गर्न संघीय सरकारसँग आग्रह गरेका छन्। सडक सम्पर्क नजोडिए पारितर्फ खाद्यान्न अभाव हुनसक्ने उनको भनाइ छ।
बाढीबाट विस्थापित भएकालाई भैरव माध्यमिक विद्यालयस्थित होल्डिङ सेन्टरमा राखिएको छ भने आफैँ घर खोजेर भाडामा बस्ने केही व्यक्ति अझै सम्पर्कमा नआएको जनाइएको छ।

नेपाल प्रहरीले भोटेकोसी बाढीपछि सम्पर्कविहीन भएका स्वदेशी तथा विदेशी नागरिकका परिवारलाई डीएनए परीक्षणका लागि रगतको नमुना उपलब्ध गराउन आग्रह गरेको छ।
बाढी प्रभावित क्षेत्रबाट फेला परेका शव तथा शरीरका अंगको वैज्ञानिक परीक्षण गरी बेपत्ता व्यक्तिसँग मिलान गरेर पहिचान गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। त्यसका लागि बेपत्ता व्यक्तिका बाबु, आमा, छोरा वा छोरीबाट डीएनए नमुना संकलन गर्न आग्रह गरिएको छ।
नेपालमा रहेका आफन्तले ताजा रगतको नमुना र दुई प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल, महाराजगञ्जस्थित प्याथोलोजी ल्याब नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।
विदेशमा रहेका प्रथम श्रेणीका आफन्तले सम्बन्धित देशको आधिकारिक फरेन्सिक प्रयोगशालामार्फत डीएनए प्रोफाइलिङ गराई त्यसको सफ्ट कपी नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउनुपर्ने प्रहरीले जनाएको छ।
डीएनए प्रोफाइलसँग सम्बन्धित व्यक्तिको नाम, राष्ट्रियता, पासपोर्ट वा परिचयपत्र विवरण, बेपत्ता भएको मिति तथा स्थान र बेपत्ता व्यक्तिसँगको नाता खुल्ने विवरणसमेत पठाउनुपर्नेछ।
विभिन्न स्थानबाट शव तथा मानव अंग फेला पर्ने क्रम जारी रहेकाले पहिचानमा चुनौती देखिएको अवस्थामा डीएनए परीक्षणबाट वैज्ञानिक रूपमा पहिचान गरी परिवारलाई शव हस्तान्तरण गर्न तथा बेपत्ताको अवस्था यकिन गर्न सहयोग पुग्ने प्रहरीले जनाएको छ।
थप जानकारीका लागि सम्पर्क अधिकृत प्रहरी निरीक्षक शम्भुबहादुर केसीको मोबाइल नम्बर ९८४१६१६०९५८ मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।

रसुवाको भोटेकोशी बाढीपछि उद्धारको अवस्था र चुनौतीबारे प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिएका छन्।
सुरक्षा प्रमुखहरूले नदीको बदलिँदो बहाव, कमजोर कनेक्टिभिटी र लेदोका कारण उद्धारमा कठिनाइ भइरहेको जानकारी गराएका थिए। प्रधानमन्त्रीले आवश्यकताअनुसार छिटो उद्धारमा प्रतिक्रिया दिन निर्देशन दिएका छन्।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपालले भारत, चीनसहित विभिन्न देशबाट सहयोग प्राप्त गरिरहेको छ भने थप सहयोगका लागि समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार सिंगापुरबाट विपद् पीडित पहिचान (डीभीआई) टोली ल्याउने तयारी भइरहेको छ। भारतबाट ११ र चीनबाट ९ जना सुरुङ उद्धार विशेषज्ञ नेपाल आइसकेका छन् भने दक्षिण कोरियाको टोली पनि परिचालन गरिएको छ।
विभिन्न देशबाट बेलीब्रिज, डीएनए परीक्षण किट, ड्रोन, जेनरेटर, फ्रिजर, राहत सामग्री, औषधि तथा अन्य अत्यावश्यक सामग्री सहयोगस्वरूप प्राप्त भइरहेका छन्। थप सहयोगका लागि अमेरिका, जापान, दक्षिण कोरिया, यूएईलगायतका देशसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।

त्रिशूली नदीका पुलमा क्षति पुगेपछि सडक सम्पर्कविहीन बनेको नुवाकोटको त्रिशूलीपारि क्षेत्र पुनः सडक सञ्जालसँग जोडिएको छ।
गल्छी–त्रिशूली राजमार्गबाट त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, पिपलटार, दर्शनटार, गौरीबेसी हुँदै त्रिशूली बजारसम्मको वैकल्पिक सडक सञ्चालनमा ल्याइएको हो।
सडक खुलेसँगै स्थानीयको सदरमुकाम आवतजावत सहज हुनुका साथै बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत र अत्यावश्यक सामग्री पुर्याउन सहज हुने भएको छ।

भोटेकोशी बाढीमा परी हालसम्म ९३९ जनाको शव फेला परेको छ भने ३९२५ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
भदौ १५ सम्म विभिन्न जिल्लामा शव फेला परेका छन्। नुवाकोटमा मात्रै १५५८ जना बेपत्ता रहेको विवरण प्राप्त भएको छ।
प्राधिकरणका अनुसार हालसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ भने बाढीबाट २७९ जना घाइते भएका छन्।

रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, सिन्धुपाल्चोक र लमजुङलगायतका जिल्लामा सोमबार साँझ मध्यमसम्मको वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
पछिल्लो तीन घण्टामा स्याङ्जाको दण्डेश्वरमा सबैभन्दा धेरै ८६.२ मिलिमिटर वर्षा भएको छ। गोरखाको आरुघाटमा ६२.४, रुपन्देहीमा ४६.८ र सिन्धुपाल्चोकको मेलम्चीमा २४.२ मिलिमिटर वर्षा मापन गरिएको छ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनीका केही स्थानसहित कर्णाली, सुदूरपश्चिम र मधेसका केही क्षेत्रमा पनि वर्षा भइरहेको छ। थप वर्षाको सम्भावना रहेकाले विभागले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

भदौ १० मा चीन–नेपाल सीमा क्षेत्रमा आएको विनाशकारी बाढीले नेपाल र चीनको तिब्बत क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। नेपालमा क्षतिको विवरण सार्वजनिक भइरहँदा चीन नियन्त्रित तिब्बतमा भने बाढीका वास्तविक दृश्य र सर्वसाधारणले पोस्ट गरेका भिडियो हटाइएको डीडब्ल्यूले जनाएको छ।
बाढीले केरुङ पोर्टमा पुर्याएको क्षतिको भिडियो सामाजिक सञ्जालमा भाइरल भए पनि केही घण्टामै हटाइएको दाबी गरिएको छ। चीन डिजिटल टाइम्सका अनुसार सीमा गेट भत्किएको दृश्य निजी म्यासेजबाट समेत हटाइएको थियो।
विश्लेषकहरूले चीनले ‘किवर्ड फिल्टर’, भिडियो फिंगरप्रिन्टिङ र मेसिन लर्निङमार्फत यस्ता सामग्री नियन्त्रण गरिरहेको बताएका छन्। त्यहाँ सरकारी उद्धारसम्बन्धी सकारात्मक समाचारलाई प्राथमिकता दिइएको र पूर्वाधार तथा पूर्वसूचना प्रणालीको कमजोरीबारे उठ्न सक्ने प्रश्न दबाइएको आरोप छ।
यसअघि जुलाई २०२५ को बाढीपछि ६ महिना बन्द भएर जनवरी १ मा पुनः सञ्चालनमा आएको केरुङ नाका आठ महिनामै फेरि क्षतिग्रस्त भएको हो।

हेटौँडा–काठमाडौं सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीका लागि आउने–जाने छुट्टाछुट्टै रुट लागू गरिएको छ।
१४ सिटभन्दा कमका सवारी काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली र हेटौँडा फर्किंदा फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै चल्नुपर्नेछ।
मालवाहक तथा ठूला यात्रुवाहक सवारीले काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ।
धादिङको कृष्णभीरमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि बढेको सवारी चाप व्यवस्थापन गर्न यो व्यवस्था गरिएको हो।

नेपालमा बाढी–पहिरो आउनुअघि आवश्यक हिमनदी तथा जलस्तरसम्बन्धी पूर्वसूचना नदिएको आरोप चीनले अस्वीकार गरेको छ। चिनियाँ विदेश मन्त्रालयले नेपालसँग मौसम, जलस्रोत र विपद् व्यवस्थापनमा निरन्तर सहकार्य भइरहेको जनाएको छ।
चीनका अनुसार मौसम तथा जलसम्बन्धी तथ्यांक नियमित रूपमा नेपाललाई उपलब्ध गराइँदै आएको छ। साथै, विपद् राहत र उद्धारमा नेपाललाई पूर्ण सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।
यद्यपि, नेपालबाहिरका हिमाली क्षेत्रमा बाढीअघि चीनसँग कति र कस्तो तथ्यांक उपलब्ध थियो भन्ने अझै स्पष्ट नभएको रोयटर्सले जनाएको छ। विज्ञहरूका अनुसार पाँच हजार मिटरभन्दा माथिका दुर्गम हिमाली क्षेत्रमा हिमनदीको जोखिम समयमै पहिचान गर्नु कठिन हुन्छ।

मौसमविद् विनोद पोखरेलले भोटेकोसी बाढीपीडितको उद्धार तथा राहत वितरण बिहानको समयमा गर्न उचित हुने बताएका छन्।
उनका अनुसार रसुवा र नुवाकोटमा आगामी एक साता बिहान मौसम सफा रहने तर अपराह्नपछि वर्षा हुने सम्भावना छ। त्यसैले उद्धार तथा राहतका लागि बिहानको समय अनुकूल हुने उनको भनाइ छ।
जल तथा मौसम विज्ञान विभागले पनि आज बागमती प्रदेशमा दिउँसो र राति वर्षाको सम्भावना रहेको जनाएको छ।

भदौ १० को भोटेकोसी बाढीमा बगेका १७ शव भारतको उत्तर प्रदेशस्थित गण्डक (नारायणी) नदी क्षेत्रमा फेला परेका छन्।
कुशीनगरका खड्डा र तमकुहीराज क्षेत्रबाट १३ तथा महराजगन्जबाट ४ शव भेटिएका हुन्। महराजगन्जमा भेटिएका चार शव आवश्यक प्रक्रिया पूरा गरी नेपाली प्रशासनलाई हस्तान्तरण गरिएको भारतीय पक्षले जनाएको छ।
शवको पहिचान हुन नसकेकाले पोस्टमार्टमका क्रममा डीएनए नमुना सुरक्षित राखिएको छ। सीमा क्षेत्रमा भारतीय सुरक्षा निकायले नदी किनारमा निगरानीसमेत बढाएको छ।

भोटेकोसी बाढीपछि सडक अवरुद्ध हुँदा हेटौँडा–काठमाडौं आवतजावत सहज बनाउन प्रहरीले आजदेखि नयाँ रुट व्यवस्था लागू गरेको छ।
१० चक्कासम्मका मालवाहक तथा ठूला यात्रुवाहक सवारी काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग हुँदै चल्नुपर्नेछ। कान्ति राजमार्गबाट आउने यात्रुवाहक सवारीले साँझ ६ बजेसम्म ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्नेछ।
१४ सिटभन्दा कमका सवारी हेटौँडा आउँदा फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी र काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रुट प्रयोग गर्नुपर्नेछ।
प्रहरीले विपद्को समयमा अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, ओभरटेक नगर्न र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ।

कर्णाली प्रदेश सरकारले भोटेकोसी बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि २ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
भदौ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विपद् व्यवस्थापनका लागि सहयोग गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईले बताए।
बैठकले कर्णालीको ‘शिक्षा क्षेत्र योजना, २०८३–२०९२’ पनि स्वीकृत गरेको छ।

भदौ १० गतेको भोटेकोसी बाढीमा ज्यान गुमाएका १०२ जनामध्ये हालसम्म १६ जनाको मात्रै सनाखत भएको छ।
पोखरा लगिएका पहिचान नभएका शवलाई पोखरा–१६ स्थित सिँचाइको जग्गामा समाधिस्थ गर्ने तयारी भइरहेको छ। शव व्यवस्थापनका लागि तीनवटा एक्साभेटरबाट खाडल खन्ने काम भइरहेको छ।
पहिचान हुन नसकेका शव व्यवस्थापनका लागि स्थानीय प्रशासनले आवश्यक प्रक्रिया अघि बढाएको छ।

भोटेकोसी बाढीपछि हालसम्म ९८७ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
सबैभन्दा धेरै शव चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६ र नवलपरासी पश्चिममा १७० वटा भेटिएका छन्।
बाढीपछि अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन्, जसमा ५८३ जना विदेशी नागरिक छन्। हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ भने २७९ जना घाइते भएका छन्।
उद्धार तथा राहतका लागि २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

भोटेकोसी बाढीको सातौँ दिन पनि प्रभावित विद्युत् आयोजनाका टनेलमा खोज तथा उद्धार कार्य जारी छ। नेपाली सेना, भारतीय, चिनियाँ र दक्षिण कोरियाली प्राविधिक टोलीको सहयोगमा चिलिमे, लाङटाङ, अपर त्रिशूली–१, त्रिशूली–३ ए र ३ बीका टनेलमा खोजी भइरहेको छ।
त्रिशूली–३ ए को टनेलबाट पानी निकाल्ने तथा प्रवेशमार्ग खोल्ने काम भइरहेको छ भने अन्य आयोजनामा पनि टनेलभित्र पसेर खोजी जारी छ।
बाढीपछि विद्युत् आयोजनाबाट २७९ जनाको जीवित उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।

भोटेकोसी बाढीमा मृत्यु भएका विदेशी नागरिकको शव परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया नेपालले अन्तिम चरणमा पुर्याएको छ।
शव हस्तान्तरणअघि पहिचान, पोस्टमार्टम, मृत्युको कारण पुष्टि तथा औंठाछाप, डीएनए वा रगतको नमुना संकलन गरिनेछ। पहिचानपछि नेपाली अधिकारी र सम्बन्धित दूतावासको समन्वयमा शव परिवारलाई बुझाएर सम्बन्धित देश पठाइनेछ।
पहिचान हुन नसकेका शवको डीएनए परीक्षण गरिनेछ। आफन्तले आफ्नो डीएनए प्रोफाइल वा रगतको नमुना उपलब्ध गराएर पहिचान प्रक्रियामा सहयोग गर्न सक्नेछन्।

बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङमा खोजी तथा उद्धारका लागि १२ वटा ड्रोन प्रयोग गरिएको छ। पैदल पुग्न कठिन क्षेत्रमा ड्रोनबाट निगरानी र खोजी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
खोजीका लागि ५ तालिमप्राप्त कुकुर र सञ्चारविहीन क्षेत्रमा सम्पर्कका लागि ७ स्याटेलाइट फोन परिचालन गरिएको छ।
घटनास्थल अनुसन्धान तथा शव पहिचान र व्यवस्थापनका लागि ७८२ प्रहरी तथा फरेन्सिक विज्ञसहितका विशेष टोलीसमेत खटाइएको छ।

रसुवाको बाढीपछि चोरी, लुटपाट र ठगीजस्ता गतिविधि बढ्न नदिन प्रहरीले सुरक्षा निगरानी कडा बनाएको छ।
बाढीमा बगेर आएको महिलाको शवबाट गहना निकाल्दै गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। यस्तै, धादिङमा बाढीले बगाएर ल्याएको सेफ तोडेर रकम हिनामिना गरेको आरोपमा २९ जना पक्राउ परेका छन्। उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
बाढीपीडितका नाममा नक्कली पोस्ट बनाएर रकम असुल्न खोज्ने एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। प्रहरीले विपद्को समयमा हुने चोरी, लुटपाट र ठगी नियन्त्रणका लागि निगरानी तथा कारबाही तीव्र बनाएको जनाएको छ।

राष्ट्रियसभाले भोटेकोसी बाढीपछि राहत, उद्धार, पुनर्स्थापना र पुनर्निर्माणलाई प्रभावकारी बनाउन विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
प्रस्तावमार्फत स्वदेशी–विदेशी विशेषज्ञ तथा प्राविधिक परिचालन गरी बेपत्ताको खोजी तथा उद्धारलाई तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ। साथै, घाइतेको निःशुल्क उपचार, वैज्ञानिक शव व्यवस्थापन, भौतिक संरचनाको पुनर्निर्माण र भविष्यमा विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहका सरकारबीच समन्वय गर्न आग्रह गरिएको छ।

भदौ १० को भोटेकोसी बाढीले रसुवा र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। सडक र पुलहरू बगाउँदा माथिल्लो रसुवाका धेरै गाउँसँग सम्पर्क विच्छेद भएको छ भने राहत तथा उद्धारमा ढिलाइ भएको भन्दै पीडितले सरकारप्रति गुनासो गरेका छन्।
स्थानीयका अनुसार सयौँ मानिस बेपत्ता छन् र कतिपय क्षेत्रमा खाद्यान्न अभाव बढ्दै गएको छ। आफन्त गुमाएकाहरूले शव पहिचान तथा व्यवस्थापनमा समेत समस्या भएको बताएका छन्।
पीडितहरूले तत्काल राहतसँगै घरवास, सम्पत्ति र परिवार गुमाएकाहरूका लागि दीर्घकालीन पुनर्स्थापना तथा विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन्।

नेकपा (एमाले)ले भोटेकोसी बाढीको उद्धार तथा राहतमा प्रदेश र स्थानीय सरकारसँग अझ प्रभावकारी समन्वय गर्न सरकारलाई आग्रह गरेको छ।
रास्वपाले आयोजना गरेको सर्वदलीय बैठकमा एमाले नेता प्रदीप ज्ञवालीले स्थानीय तहसँगको समन्वय पछिल्लो समय सुधारिए पनि अझ प्रभावकारी बनाउनुपर्ने बताए।
उनले विशेषगरी टनेल उद्धारमा अन्तर्राष्ट्रिय सहयोग लिन सरकार चुकेको भन्दै आवश्यक स्थानमा तत्काल विदेशी विशेषज्ञ तथा प्राविधिकको सहयोग लिनुपर्ने बताए। विपद्लाई अन्तर्राष्ट्रियस्तरमा उठाउँदै सर्वदलीय संयन्त्र प्रदेश, जिल्ला र स्थानीय तहसम्म विस्तार गर्नुपर्ने उनको सुझाव छ।
सरकारले नै सर्वदलीय बैठक आयोजना गर्नुपर्ने भए पनि रास्वपाले बैठक राखेर सकारात्मक काम गरेको ज्ञवालीको भनाइ छ।

चीनको सहयोगमा चिनियाँ लगानीको ७८ मेगावाटको साञ्जेन जलविद्युत आयोजना ‘आइसोलेटेड मोड’ मा सञ्चालन गरी बाढी प्रभावित रसुवामा विद्युत् आपूर्ति सहज बनाइने भएको छ।
सरकारले कूटनीतिक नोटमार्फत चीनसँग सहयोग मागेपछि आवश्यक प्राविधिक समन्वय र उपकरण व्यवस्थापनमा चीनले सहजीकरण गरेको हो।
यसबाट आमाछोदिङ्मो गाउँपालिकालगायत विद्युत् अवरुद्ध भएका क्षेत्रमा वैकल्पिक प्रणालीमार्फत आपूर्ति गर्न सहज हुने ऊर्जा मन्त्रालयले जनाएको छ। साथै, विद्युत् पुग्न नसकेका क्षेत्रमा सौर्य तथा अन्य वैकल्पिक ऊर्जा प्रणाली परिचालन गर्ने तयारी गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढी प्रभावितमध्ये कम्तीमा ३० प्रतिशत घरधुरीमा विद्युत् सेवा पुनःस्थापित भइसकेको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट बाढी प्रभावित क्षेत्रमा तत्काल १ अर्ब रुपैयाँ परिचालन गरिने भएको छ।
कोष सञ्चालन समितिको मंगलबार बसेको बैठकले रकम विपद् व्यवस्थापन कोषमा निकासा गर्ने निर्णय गरेको हो। उक्त रकम उद्धार, राहत, तत्कालीन पूर्वाधार सुधार र अस्थायी आवास निर्माणमा खर्च गरिनेछ।
बाढी प्रभावित पालिका तथा जिल्लाका विपद् व्यवस्थापन समितिले आवश्यकताअनुसार रकम माग गर्न सक्नेछन्। मागका आधारमा गृहसचिव नेतृत्वको समितिले रकम वितरण गर्नेछ।

भोटेकोसी बाढीको सातौँ दिनसम्म ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार सम्पर्कविहीनमध्ये जलविद्युत् आयोजनाका ६३९, विदेशी नागरिक ५८३ र उनीहरूसँगै रहेका १६४ नेपाली छन्। यस्तै, रसुवाबाट करिब ६५ र नुवाकोटबाट करिब १५५ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ।
सुरक्षा निकायअन्तर्गत पनि नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३ लगायत कर्मचारी सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

तिब्बतको केरुङनजिक हिमनदी फुटेर आएको बाढीपछि त्यस क्षेत्रमा थप जोखिम कायमै रहेको विज्ञहरूले बताएका छन्। हिमनदी र पहिरोका कारण भू–बनोट अझै अस्थिर रहेकाले थप पहिरो तथा लेदोसहितको बाढी आउन सक्ने उनीहरूको चेतावनी छ।
इसिमोडका क्रायोस्फियर विश्लेषक प्रशान्त बरालका अनुसार हिमपहिरोपछि बाँकी रहेको हिमनदी, फुटेका चट्टान र खस्किएका डाँडाहरू अझै भत्किन सक्ने जोखिममा छन्।
युनिभर्सिटी अफ कोलोराडो बोल्डरका पर्वतीय भूगोलविद् अल्टन बायर्सले हिमनदी खसेपछि बनेको तालको अधिकांश पानी निकास भइसकेकाले तत्काल ठूलो बाढीको जोखिम केही घटेको बताए। तर, वरपरका हिमनदी र चट्टान पुनः खसेमा जोखिम कायमै रहने बरालको भनाइ छ।
नेपाली तथा चिनियाँ वैज्ञानिकहरूको ‘हिरिस्क’ प्रतिवेदनले घटनाअघि हिमनदीबाट निस्किएको पानी धमिलो हुनु र चट्टानमा चिरा पर्नुजस्ता संकेत देखिएको उल्लेख गरेको छ। प्रतिवेदनले प्रभावकारी पूर्वसूचना प्रणाली भएको भए तल्लो तटीय क्षेत्रमा धेरैको ज्यान जोगाउन सकिने औँल्याएको छ।
स्टिमसन सेन्टरका वरिष्ठ शोधकर्ता अस्टिन लर्डले भने घटना ‘ब्लाइन्ड स्पट’मा भएकाले पूर्वानुमान गर्न निकै कठिन रहेको बताए। उनले नेपाल र चीनबीच सीमापार विपद् जोखिमसम्बन्धी सूचना आदानप्रदान, सञ्चार र संयुक्त वैज्ञानिक अध्ययन आवश्यक रहेकोमा जोड दिएका छन्।

रसुवाको भोटेकोसीमा भदौ १० गते आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका ३४८ शवमध्ये ३३५ वटाको व्यवस्थापन गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार व्यवस्थापन गरिएका शवमध्ये १२९ वटा लिंग पहिचान हुन नसकेका छन्। अन्यमा १०७ पुरुष, ७३ महिला, १५ बालिका र ११ बालक छन्। हालसम्म १२ शवको सनाखत भएको छ भने एउटा शव व्यवस्थापन गर्न बाँकी छ।
शवको पहिचानका लागि डीएनए नमूना सुरक्षित राखेर भरतपुर महानगरपालिका–१ देवघाट जंगलमा शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शनिबार ९६, आइतबार १०३, सोमबार ८१ र मंगलबार ५५ शव व्यवस्थापन गरिएको हो।
यसैबीच, शव पहिचानका लागि आफन्तको डीएनए नमूना संकलन चितवनमा सुरु गरिएको छ। बुबा, आमा, छोरा वा छोरीमध्ये पहिलो तहका आफन्तको रगतको नमूना संकलन गरी शवबाट निकालिएको दाँत तथा हड्डीको नमूनासँग डीएनए म्याचिङ गरिनेछ।
चितवनबाहिर रहेका आफन्तले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा र विदेशमा रहेका आफन्तले नेपाली दूतावास वा कूटनीतिक नियोगमार्फत डीएनए प्रोफाइल उपलब्ध गराउन सक्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। डीएनए परीक्षण तथा म्याचिङ तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीले टिमुरेस्थित रसुवागढी भन्सार कार्यालय र आसपासका संरचना पूर्ण रूपमा ध्वस्त बनाएपछि नेपाल–चीन व्यापार प्रभावित भएको छ। बाढीका कारण नाका पूर्ण रूपमा ठप्प छ भने पुनः सञ्चालन तत्काल सम्भव नरहेको अधिकारीहरूले बताएका छन्।
यता, चिनियाँ पक्षले भदौ १४ गतेदेखि तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको छ। चिनियाँ भन्सार कार्यालय स्थानान्तरण तथा स्तरोन्नतिको कामका कारण नाका बन्द गरिएको जनाइएको छ।
दुवै प्रमुख नाका बन्द भएपछि नेपालमा आयात हुने विद्युतीय सवारी, फलफूल, कपडा, खाद्यान्न तथा औद्योगिक सामग्रीको आपूर्ति प्रभावित भएको छ। रसुवागढी क्षेत्रमा मात्रै करिब ४००–५०० नयाँ विद्युतीय सवारीसाधन तथा ठूलो परिमाणमा आयातित सामान बाढीले नष्ट गरेको व्यवसायीहरूले बताएका छन्।
बिमा नभएका फलफूल, कपडा, लसुनलगायत सामानमा व्यापारीले ठूलो क्षति व्यहोरेका छन्। नाका बन्द हुँदा वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने भएकाले ढुवानी समय र लागत बढ्ने तथा बजारमा वस्तुको मूल्यसमेत बढ्न सक्ने व्यवसायीहरूको भनाइ छ।
मुस्ताङको कोरला नाका वैकल्पिक रूपमा सञ्चालनमा रहे पनि त्यहाँबाट आयात गर्दा समय र लागत बढी पर्ने बताइएको छ। सरकारले भने वैकल्पिक मार्गमार्फत आपूर्ति सहज बनाउने र ढुवानी व्यवस्थापनलाई प्राथमिकता दिने जनाएको छ।

भदौ १० (अगस्ट २६) मा रसुवाबाट सुरु भएको विनाशकारी बाढीलाई बीबीसी, रोयटर्स, सीएनएन, द गार्जियन, अल जजिरा, एसोसिएटेड प्रेसलगायत विश्वका प्रमुख सञ्चारमाध्यमले उच्च प्राथमिकताका साथ कभर गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका संवाददाताले रसुवा, नुवाकोट, त्रिशूली नदी क्षेत्र र काठमाडौं पुगेर स्थलगत रिपोर्टिङ गरेका थिए। उनीहरूले बाढीबाट भएको मानवीय क्षति, बेपत्ता व्यक्तिको खोजी, उद्धार अभियान र प्रभावित क्षेत्रमा देखिएको विनाशलाई प्राथमिकता दिएका छन्।
बीबीसीले बाढीको कारणबारे वैज्ञानिक विश्लेषणसहित लाङटाङ लिरुङ हिमनदी फुटेको विषयलाई प्रमुखताका साथ प्रस्तुत गरेको थियो। सीएनएनले स्याफ्रुबेँसी, मितेरी पुल र काठमाडौंका अस्पतालबाट उद्धार तथा प्रभावित पर्यटकबारे रिपोर्टिङ गरेको थियो।
रोयटर्सले नेपाल–चीन समन्वय, पूर्वसूचना प्रणाली र सीमापार सूचना आदानप्रदानमा केन्द्रित समाचार दिएको थियो भने द गार्जियन र अल जजिराले बाढीको वैज्ञानिक कारण, क्षति तथा उद्धारका चुनौतीबारे विस्तृत रिपोर्टिङ गरेका थिए।
यसका साथै न्युयोर्क टाइम्स, डीडब्ल्यू, द इन्डिपेन्डेन्ट, द वासिङ्टन पोस्ट, सीसीटीभी, सिन्ह्वा, एनडीटीभी, आजतक र टाइम्स अफ इन्डियालगायत सञ्चारमाध्यमले पनि बाढीको क्षति, उद्धार र पर्यटकको सुरक्षालाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गरेका छन्।

काठमाडौं प्रवेश गर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडक बुधबार बिहान भासिएको छ। यसअघि धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन ठप्प छ।
रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीको कटानका कारण धादिङस्थित पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक भासिएको हो।

भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार ११४ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार बिहानसम्म विभिन्न जिल्लाबाट उक्त संख्यामा शव फेला परेका हुन्।
प्राधिकरणका अनुसार ९५ शवको सनाखत भई आफन्तले बुझेका छन्। अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् भने २९२ जना घाइतेको उद्धार गरिएको छ।
हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा लेदोसहितको बाढीले पुरिएको तीनतले घरबाट सुरक्षाकर्मीले २४ जनाको शव निकालेका छन्।
भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीपछि उक्त घर पुरिएको थियो। निकालिएका शवलाई हेलिकोप्टरमार्फत त्रिशूली पठाइएको छ।
तस्बिर : घनश्याम श्रेष्ठ/रासस

भोटेकोसी बाढीले क्षति पुर्याएका पुलका स्थानमा तत्काल यातायात सञ्चालन गर्न सरकारले तीन स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया सुरु गरेको छ। थप २० स्थानमा सम्भाव्यता अध्ययन भइरहेको छ।
बाढीबाट प्रभावित क्षेत्रमा ३१ वटा मोटरेबल पुल बगेका छन्। देवीघाटको तादी नदी, त्रिशूली बजार र बेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ। भारतले थप सात र चीनले ३० वटा बेलिब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
बाढीले गल्छी–वेत्रावती–रसुवागढी सडक र पृथ्वी राजमार्गमा समेत ठूलो क्षति पुर्याएको छ। सडक विभागका अनुसार पूर्वाधारमा करिब ३० अर्ब रुपैयाँको क्षति भएको छ भने पुनर्निर्माणमा ५० अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान छ।

रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको बाढीपछि नेपाललाई विभिन्न देश तथा अन्तर्राष्ट्रिय संस्थाले राहत, उद्धार र पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
छिमेकी भारतले ६८.५ टन राहत सामग्री र २४ जना विज्ञ प्राविधिक नेपाल पठाएको छ। डीएनए पहिचानमा सहयोग गर्न १९ सदस्यीय फोरेन्सिक टोली पनि परिचालन गरिएको छ। चीनले ३० करोड रुपैयाँ, ५० टन राहत सामग्री, टनेल उद्धारका लागि ९ सदस्यीय टोली र शव पहिचानमा सहयोग गर्न ४ सदस्यीय फोरेन्सिक टोली पठाएको छ।
पाकिस्तानबाट ८६ टन, यूएईबाट ८३ टन राहत सामग्री प्राप्त भएको छ। यूएईले थप एक करोड अमेरिकी डलर बराबरको सहयोग घोषणा गरेको छ। श्रीलंकाले १० लाख, अमेरिकाले ५ लाख र अस्ट्रेलियाले १० लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
यसैगरी स्विट्जरल्यान्ड, कतार, बंगलादेश, बेलायत, जापान, ईयू र संयुक्त राष्ट्रसंघका निकायबाट पनि सहयोग भइरहेको छ। एडीबीले ५० लाख अमेरिकी डलर अनुदान, विश्व बैंकले १६ करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण र एडीबीले १ लाख ५० हजार अमेरिकी डलर प्राविधिक सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीलाई सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने, “यो पीडा रसुवा, नुवकोट र धादिङको मात्र होइन, यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो ।”
सम्बोधनका क्रममा उनले अहिले शरीर थकित भयो भनेर विश्राम लिने छुट नभएको बताए ।
“मन भक्कादिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन । संकटको यो घडीमा देशको यो नेतृत्वले आशु होइन जनतालाई हिम्मत, आड, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौँ,” प्रधानमन्त्री शाहले भने ।

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भोटेकोसी बाढीबाट उत्पन्न विपत्तिसँग दृढ संकल्प र साहसका साथ लड्नुको विकल्प नभएको बताएका छन्।
प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले संकटका बेला देशको नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्ने बताए।
उनले भोटेकोसी बाढीलाई ‘देशकै छातीमा वज्रपात’ भएको उल्लेख गर्दै सरकार विपत्तिसँग जुधिरहेको बताए।

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भदौ १० गते बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि बिहान ९:४५ बजे नै नेपाली सेनाको हेलिकोप्टर उडेको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले उक्त उडान उद्धारका लागि गरिएको पहिलो हवाई उडान भएको जानकारी दिए। त्यसलगत्तै निजी हेलिकोप्टरलाई पनि स्ट्यान्डबाइमा राखिएको उनले बताए।
उनका अनुसार सोही दिन बिहान १० बजे नेपाली सेनाको मनसुन कमाण्डको आकस्मिक बैठक बसेर प्रभावित क्षेत्रमा खोज तथा उद्धार र स्रोत परिचालन गर्ने निर्णय गरिएको थियो।

नेपाल प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले भोटेकोसी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ सहयोग गर्ने भएका छन्।
सोमबार बसेको प्रहरी उच्च अधिकारीहरूको बैठकले विभिन्न तहका कर्मचारीको निश्चित दिनको तलब कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार कार्यालय सहयोगीको २ दिन, प्रहरी जवानदेखि वरिष्ठ हवल्दारसम्मको ५ दिन, प्रहरी निरीक्षकदेखि वरिष्ठ नायव निरीक्षकसम्मको ६ दिन, इन्स्पेक्टरदेखि एसएसपीसम्मको १२ दिन र डीआईजीदेखि आईजीपीसम्मको १५ दिनको तलब सहयोग गरिनेछ।
प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले बाढीपीडितको राहत तथा उद्धारका लागि रकम कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए।

रसुवा बाढीबारे प्रतिनिधिसभाले विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएपछि बाढीमा ज्यान गुमाउनेहरूप्रति एक मिनेट मौनधारण गरिएको थियो।
बैठकमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भदौ १० गते आएको रसुवा बाढी र उद्धार तथा राहतबारे सदनलाई जानकारी गराएका थिए।

चिनियाँ अनुसन्धानकर्ताहरूले भदौ १० गते नेपाल–तिब्बत सीमामा आएको विनाशकारी लेदोयुक्त पहिरोबारे नयाँ अध्ययन सार्वजनिक गरेका छन्। अध्ययनले विपद् तत्कालअघि भएको ठूलो वर्षा मात्र यसको कारण नभएको निष्कर्ष निकालेको छ।
अनुसन्धानअनुसार असामान्य रूपमा तातो मौसमका कारण उच्च हिमाली क्षेत्रमा हिउँ पग्लिने र परमाफ्रोस्ट क्षयीकरण बढ्दा हिमनदी र चट्टानबीचको स्थिरता कमजोर भएको हुन सक्छ। दीर्घकालीन प्रक्रियापछि हिम–चट्टान संरचना अचानक अस्थिर भएको अनुसन्धानकर्ताको अनुमान छ।
विपद्को विनाशकारी शक्ति भने सुरुआती हिम–चट्टान पहिरोमा मात्र सीमित नभई २२ किलोमिटर लामो खोँच हुँदै तलतिर बग्दा नदीकिनार कटान र थप गेग्य्रान मिसिँदै जानु रहेको अध्ययनले देखाएको छ। यस प्रक्रियाले प्रारम्भिक हिमपहिरोलाई ठूलो लेदोयुक्त पहिरोमा परिणत गरेको निष्कर्ष छ।
अनुसन्धान टोलीले मुख्य घटना हुनुअघि केही असामान्य गतिविधि र साना हिम–चट्टान खस्ने संकेत समेत देखिएको जनाएको छ। यस्ता संकेतको थप अध्ययनले उच्च हिमाली क्षेत्रमा विपद्को अनुगमन र पूर्वसूचनाका लागि नयाँ आधार दिन सक्ने अनुसन्धानकर्ताको भनाइ छ।
चाइनिज साइन्स बुलेटिनमा प्रकाशित अध्ययनले हिमाली विपद्को जोखिम मूल्यांकन गर्दा उत्पत्ति क्षेत्र मात्र नभई बहावको बाटोमा थप पदार्थ मिसिने सम्भावना, जनसंख्या र पूर्वाधारको जोखिमसमेत समेट्नुपर्नेमा जोड दिएको छ।

रसुवाको भोटेकोसी बाढीमा बेपत्ता भएकाका आफन्तहरूले कुशको प्रतिमा बनाएर अन्त्येष्टि गर्न थालेका छन्।
बुधबार पशुपति आर्यघाटमा आफन्तहरूले परम्पराअनुसार कुशको प्रतिमा बनाएर सामूहिक रूपमा अन्त्येष्टि गरेका हुन्। पशुपति विकास कोषले कुशको प्रतिमा बनाएर निःशुल्क अन्त्येष्टिको व्यवस्था गरेको जनाएको छ।
आर्यघाटमा बिहानैदेखि भीड लागेको थियो। कतिपय आफन्तले बेपत्ताको तस्बिरजस्तो प्रतिमा बनाएर श्रद्धाञ्जली दिएका छन्। पशुपतिस्थित क्रियापुत्री घरसमेत भरिएको जनाइएको छ।

भदौ १० गतेको हिमपहिरो र त्यसपछि आएको भोटेकोसी–त्रिशूली बाढीले २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ। आयोजनाका बाँध, हेडवर्क्स, कार्यालय तथा आवास क्षेत्र पूर्ण रूपमा बगेका छन्।
आयोजनामा कार्यरत १ हजार ४३३ जनामध्ये ८७६ जनाको उद्धार भएको र करिब ५५७ जना अझै सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण छ। तीमध्ये करिब ११५ जना हेडवर्क्स तथा मुख्य सुरुङभित्र फसेको आशंका गरिएको छ।
अत्यन्त विकट भूगोल, सुरुङभित्रको जोखिम, व्यापक क्षति र थप पहिरोको सम्भावनाका कारण खोजी तथा उद्धार चुनौतीपूर्ण बनेको छ। नेपाली सेना, सुरक्षा निकाय, चिनियाँ तथा कोरियाली विज्ञ, तालिमप्राप्त कुकुरसहितका टोली, ड्रोन र अन्य उपकरण प्रयोग गरी खोजी जारी राखिएको छ।
आयोजना कम्पनीले सरकार तथा सम्बन्धित निकायसँग समन्वय गर्दै स्थल र हवाई दुवै माध्यमबाट खोजी तथा उद्धारलाई तीव्रता दिएको जनाएको छ। सम्पर्कविहीनका परिवारसँग नियमित सम्पर्क राख्दै आवश्यक मनोसामाजिक सहयोगसमेत उपलब्ध गराउने प्रयास भइरहेको छ।

भोटेकोसी बाढीपछि प्रभावित ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र पुग्ने उद्धार कार्यले गति लिएको छ।
सुरुङको प्रवेशद्वारमा थुप्रिएका दुई दर्जनभन्दा बढी ठूला ढुंगा विस्फोट गराएर हटाइएको छ। पाँच दिनमा दुईवटा एक्साभेटर प्रयोग गरी करिब २० हजार घनमिटर लेदो, बालुवा, ढुंगा तथा बाढीले बगाएर ल्याएका संरचनाका अवशेष हटाइएको छ।
हाल सुरुङको प्रवेशद्वारको करिब ५० मिटर क्षेत्र सफा गरिएको छ। बाँकी अवरोध हटाएर पानी निकास र पहुँचमार्ग तयार भएपछि सुरुङभित्र जम्मा भएको लेदो हटाउने तयारी छ।
सुरुङबाट करिब २ लिटर प्रतिसेकेन्डका दरले पानी बाहिर निस्किरहेकाले भित्र ठूलो मात्रामा पानी जमेको अवस्था नरहेको प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, उद्धार टोली सुरुङभित्र प्रवेश गरेपछि मात्रै वास्तविक अवस्था स्पष्ट हुनेछ।
सडक पहुँच नहुँदा आवश्यक उपकरण र सामग्री हेलिकोप्टरमार्फत ढुवानी गर्नुपर्ने भएकाले उद्धार कार्यमा चुनौती कायमै छ।

जलवायु परिवर्तनका कारण हिमालयका हिमनदी खुम्चिँदै र अस्थिर बन्दै जाँदा हिमपहिरो तथा आकस्मिक बाढीको जोखिम बढ्दै गएको वैज्ञानिकहरूले बताएका छन्।
भदौ १० मा नेपाल–तिब्बत क्षेत्रमा भएको हिमनदी भत्किने घटनाले ठूलो बाढी निम्त्याएपछि हजारौँ मानिस अझै बेपत्ता छन्। वैज्ञानिकहरूका अनुसार तापक्रम वृद्धि, हिउँ तथा परमाफ्रोस्ट पग्लिनु र चट्टान–बरफको अस्थिरताले यस्ता घटना बढाइरहेको छ।
संयुक्त राष्ट्रसंघका अनुसार नेपालका हिमनदी पछिल्लो ३० वर्षमा करिब एकतिहाइ घटेका छन्। हिन्दु कुश हिमालय क्षेत्रमा हिमनदीजन्य बाढीका घटना पनि पछिल्ला दशकमा तीव्र रूपमा बढेका छन्।
स्विट्जरल्यान्डको ब्लाटेनमा २०२५ मा पूर्वसूचनाका कारण ठूलो जनधनको क्षति रोक्न सकिए पनि हिमालय क्षेत्रमा हजारौँ हिमनदी र दुर्गम भूगोलका कारण यस्तो निगरानी चुनौतीपूर्ण छ।
विशेषज्ञहरूले स्याटेलाइट, भूकम्पीय गतिविधि, हिमनदी तथा ढलान निगरानी, नदी मापन र स्वचालित चेतावनीलाई जोडेर एकीकृत पूर्वसूचना प्रणाली विकास गर्नुपर्नेमा जोड दिएका छन्। साथै, जलवायुजन्य जोखिम घटाउन हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउनु पनि उत्तिकै आवश्यक रहेको उनीहरूको भनाइ छ।

https://baahrakhari.com/uploads/posts/betrawati7-1788169136.jpg
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुरुङभित्र फसेकाहरूको उद्धारलाई तत्काल पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले मानिसको जीवन रक्षा नै अहिलेको मुख्य प्राथमिकता भएको बताए। उनले सुरुङभित्र फसेकाहरूको उद्धारका लागि उपलब्ध सबै स्रोत, उपकरण र जनशक्ति तत्काल परिचालन गर्नुपर्नेमा जोड दिए।
‘सुरुङमा फसेकाहरूलाई उद्धार गर्न स्पेसल प्रविधि भन्ने हुँदैन, काम नै गर्ने हो त्यहाँ,’ घिसिङले भने, ‘हामीले इक्विपमेन्ट पुर्याउनुपर्यो र प्राविधिकहरू लगेर समयमा काम गर्नुपर्यो।’
उनका अनुसार प्रधानमन्त्री शाहले पनि सुरुङभित्र फसेकाहरूको उद्धारबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्। उद्धार कार्यलाई प्रभावकारी बनाउन स्वदेशी प्राविधिक परिचालन गर्नुका साथै आवश्यक परे विदेशी विज्ञ तथा प्राविधिक ल्याउन सरकार तयार रहेको प्रधानमन्त्रीले बताएको घिसिङले जानकारी दिए।
घिसिङले उद्धारमा ढिलाइ नगरी आवश्यक उपकरण र दक्ष जनशक्ति तत्काल घटनास्थलमा पुर्याउनुपर्ने बताएका छन्।

रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २५२ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न जिल्लामा शव तथा मानव अंग भेटिएको हो।
प्राधिकरणका अनुसार चितवनमा सबैभन्दा धेरै ३५५ जनाको शव तथा मानव अंग भेटिएको छ। यस्तै, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, नुवाकोटमा १७७, रसुवामा १२७, गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ जनाको शव तथा मानव अंग भेटिएको छ।
बाढी प्रभावित क्षेत्रमा अझै ४ हजार २१६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेमा सुरक्षाकर्मी, सरकारी कर्मचारी, स्थानीय बासिन्दा, विदेशी नागरिक, जलविद्युत् आयोजनामा कार्यरत व्यक्ति तथा विदेशी पर्यटकसँगै गएका नेपालीसमेत छन्।
सम्पर्कविहीन हुनेमध्ये ४५ जना नेपाली सेना, २५ जना नेपाल प्रहरी, १३ जना सशस्त्र प्रहरी, १४ जना भन्सार कार्यालयका कर्मचारी र तीन जना अध्यागमन कार्यालयका कर्मचारी छन्। त्यस्तै रसुवाका ८६५, नुवाकोटका १ हजार ५५८, विदेशी नागरिक ८८३ र विदेशी पर्यटकसँगै गएका १६४ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
जलविद्युत् आयोजनामा कार्यरत ९०० जना, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन, क्वारेन्टाइन कार्यालयका तीन, जनप्रतिनिधि सात, स्थानीय तह वा मातहतका ३२ कर्मचारी तथा निजी विद्यालयका एक शिक्षक पनि सम्पर्कविहीन छन्।
प्राधिकरणका अनुसार हालसम्म ५ हजार १३५ जना घाइतेको उपचार गरिएको छ भने बाढी प्रभावित क्षेत्रबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको छ।
उद्धार तथा खोजी कार्यका लागि बाढी प्रभावित क्षेत्रमा २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ। तीमध्ये ७ हजार ९१२ नेपाल प्रहरी, ९ हजार २८७ नेपाली सेना र ४ हजार २०३ सशस्त्र प्रहरी छन्।
यस्तै, विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल ३ हजार ९४८ जना रहेका छन्।

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको बिहीबार (भदौ १८) नौ दिन पुगेको छ। तर, बाढी प्रभावित क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार कार्यले अझै अपेक्षित गति लिन सकेको छैन।
लगातारको वर्षा, कठिन भौगोलिक अवस्था र आवश्यक प्रविधि तथा उपकरणको अभावका कारण सुरुङभित्रको उद्धार कार्य चुनौतीपूर्ण बनेको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न जलविद्युत् आयोजनामा कार्यरत करिब ९०० जना अझै सम्पर्कविहीन छन्। उनीहरूमध्ये अधिकांश सुरुङभित्र रहेको अनुमान गरिएको छ।
नेपाली सेनाका अनुसार अहिले चारवटा जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार कार्य जारी छ।
लाङटाङ हाइड्रोमा विदेशी प्राविधिकसहित २५ जनाको संयुक्त टोलीले सुरुङभित्र करिब १५० मिटरसम्म प्रवेश गरेर दुई स्थानमा साना होल बनाई खोजी गरिरहेको छ।
यस्तै, चिलिमे हाइड्रोमा पनि विदेशी प्राविधिकसहितको संयुक्त टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ।
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा ९३ जनाको संयुक्त उद्धार टोली परिचालन गरिएको छ। पाँचवटा स्काभेटरको प्रयोग गरी रातभर सुरुङको आउटलेटमा थुप्रिएको लेदो र माटो हटाउने काम भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार राति करिब २ बजे आउटलेटको होल ठूलो बनाउन क्राउन ब्लास्टिङ गरी सफा गर्ने कामसमेत गरिएको छ।
त्यसैगरी, त्रिशूली–३ ‘बी’ मा नेपाली सेनाका ८९ जना, तीन गैरसैनिक कर्मचारी तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोली उद्धारमा खटिएको छ।
उद्धार टोलीले आयोजनाको कार्यालय तथा कर्मचारी निवास रहेको क्षेत्र पहिचान गरी त्यहाँसम्म पुग्ने बाटो निर्माण गरिरहेको छ। एक्साभेटर र बबक्याटको प्रयोग गरेर माटो तथा अवरोध हटाउने काम भइरहेको नेपाली सेनाले जनाएको छ।
बाढी आएको नौ दिन बितिसक्दा पनि ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेकाले सुरुङभित्रको खोज तथा उद्धारलाई तीव्र बनाउन थप उपकरण, प्रविधि र दक्ष जनशक्तिको आवश्यकता देखिएको छ।

रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको बाढीपछि हराइरहेकाहरूको खोज तथा उद्धारमा नेपालसहित पाँच देशका विज्ञ टोली परिचालित भएका छन्। भारत, चीन, दक्षिण कोरिया, सिंगापुर र इजरायलका विज्ञ टोलीले बाढी प्रभावित क्षेत्रमा नेपाललाई खोज, उद्धार तथा मानव अवशेष पहिचानमा सहयोग गरिरहेका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार बाढीपछि उत्पन्न केही जटिल परिस्थितिमा उच्चस्तरीय तथा विशेष प्राविधिक क्षमताको आवश्यकता देखिएपछि नेपालले विशिष्ट क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग मागेको थियो।
नेपालले मुख्यतः दुई क्षेत्रमा विदेशी सहयोग खोजेको थियो। पहिलो, बाढी प्रभावित क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार र दोस्रो, फेला परेका शव तथा मानव अवशेषको पहिचानका लागि फोरेन्सिक सहयोग।
परराष्ट्रमन्त्री खनालका अनुसार भारत, चीन र दक्षिण कोरियाका विशेष सुरुङ उद्धार टोली नेपाली सेनाको समन्वयमा परिचालित छन्। लाङटाङ र चिलिमे जलविद्युत् आयोजनामा भारतीय सुरुङ उद्धार टोली, माथिल्लो त्रिशूली–३ ‘ए’ मा चिनियाँ टोली र माथिल्लो त्रिशूली–१ मा दक्षिण कोरियाली टोलीले काम गरिरहेका छन्।
त्यसैगरी, इजरायलको टोली तल्लो तटीय क्षेत्रमा शव तथा मानव अवशेष पत्ता लगाउने कार्यमा परिचालित छ।
बाढीका कारण सुरुङ तथा आसपासका क्षेत्र लेदो, भग्नावशेष र ठूला ढुंगाले भरिएकाले उद्धार कार्य निकै कठिन बनेको छ। उद्धारलाई थप तीव्र बनाउन आवश्यक उपकरण तथा लजिस्टिक सहयोगसमेत ल्याउने प्रक्रिया अघि बढिरहेको परराष्ट्रमन्त्री खनालले बताएका छन्।
मानव अवशेष पहिचानमा पनि विदेशी सहयोग
खोज तथा उद्धारसँगै फोरेन्सिक तथा पहिचान कार्यमा पनि विभिन्न देशका विज्ञले नेपाल प्रहरीलाई सहयोग गरिरहेका छन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार भारतबाट १९ सदस्यीय र चीनबाट पाँच सदस्यीय विशेष फोरेन्सिक टोली नेपाल आएको छ। दुवै टोली नेपाली विज्ञसँग समन्वय गरी मानव अवशेष पहिचानमा जुटेका छन्।
सिंगापुरबाट आएको २४ सदस्यीय विपद् पीडित पहिचान (डीभीआई) टोलीमध्ये १९ सदस्यले नेपाली टोलीसँग मिलेर काम गरिरहेका छन्। उनीहरूले अहिले भइरहेको डीएनए नमुना संकलन, विश्लेषण तथा प्रतिवेदन तयार गर्ने कामलाई तीव्र बनाइरहेका छन्।
सिंगापुरको डीभीआई टोलीका बाँकी सदस्यहरू ड्रोन तथा आवश्यक उपकरणसहित बिहीबार र शुक्रबारसम्म नेपाल आइपुग्ने प्रवक्ता क्षेत्रीले जानकारी दिएका छन्।
यस्तै, दक्षिण कोरियाका दुई फोरेन्सिक अधिकारी आवश्यक उपकरण तथा औजारसहित उद्धार तथा पहिचान कार्यमा जोडिएका छन्।
सरकारले भोटेकोसी बाढीपछिको खोज, उद्धार र पहिचान कार्यलाई प्रभावकारी बनाउन नेपालभित्र उपलब्ध जनशक्ति तथा स्रोतसाधनसँगै अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध विशेषज्ञता र प्रविधिको समेत अधिकतम उपयोग गरिरहेको जनाएको छ।

रसुवाको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट एकजनालाई जीवितै उद्धार गरिएको छ। रास्वपाका सांसद तथा सुरुङविज्ञ श्रीराम न्यौपानेका अनुसार उद्धार गरिएका व्यक्ति सञ्जय साह हुन्।
सुरुङभित्र अझै अन्य व्यक्ति रहेको जानकारी प्राप्त भएको छ। नेपाली सेनाले थप खोज तथा उद्धार कार्य जारी राखेको छ। भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीपछि आयोजनाका ४२ कर्मचारी तथा कामदार सुरुङ क्षेत्रमा फसेका थिए।

रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शुक्रबार (भदौ १०) बिहान दुईजनाको उद्धार गरिएको छ । दुईजनालाई जीवित उद्धार गरिएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ ।
उद्धार गरिएका व्यक्तिहरूमा सञ्जय साह र कबीर महर्जन हुन् । साह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा त्यहाँ कार्यरत रहेको सचिवालयले जनाएको छ ।

रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुईजनाको सकुशल उद्धार गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार उद्धार हुनेमा ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जन छन्।
सप्तरीका साह मेकानिकल फोरम्यान र काठमाडौंका महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए। दुवैजनालाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ।
भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि आयोजनामा ४२ कर्मचारी तथा कामदार फसेका थिए।

रसुवाको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप आवाज सुनिएपछि उद्धार टोली भित्र प्रवेश गर्दैछ। गृहमन्त्री सुधन गुरुङको सचिवालयका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ।
यसअघि सुरुङबाट सञ्जय साह र कबीर महर्जनलाई सकुशल उद्धार गरी हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो। भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीपछि आयोजनामा ४२ कर्मचारी तथा कामदार फसेका थिए।

दुई जनाको सकुशल उद्धार भएको माथिल्लो त्रिशूली ‘थ्री ए’मा प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर सन्जोग केसीसहितको नेपाली सेनाको टोली पावर हाउस प्रवेश गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार थप जनशक्तिहरुको उद्धारकालागि माथिल्लो त्रिशुली ३ ‘ए’ को पावर हाउस भित्र प्रवेश गरिसकेको जनाएको छ ।
यसअघि उक्त आयोजनामा अमिर महर्जन र सन्जय साहको सकुशल उद्धार गरिएको छ ।

भोटेकोसीमा आएको बाढीपछि त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक भासिएर यातायात प्रभावित भएको छ।
नागढुंगा–मुग्लिङ सडक आयोजना पूर्वी खण्डका इन्जिनियर राजीव मानन्धरका अनुसार मलेखुभन्दा अगाडिको कृष्णभीरमा करिब १२० मिटर सडक कटान भएर भासिएको छ। त्यस्तै, मलेखुबाट काठमाडौंंतर्फ करिब एक किलोमिटर दूरीमा रहेको परेवाभीरमा पनि करिब १०० मिटर सडक कटान भएको छ।

रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ ।

रसुवाको भोटेकोसीमा आएको बाढीपछि विभिन्न जिल्लामा १ हजार २८७ जनाको शव तथा मानव अंग फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा ३५९ जनाको शव तथा मानव अंग भेटिएको छ।
बाढी प्रभावित क्षेत्रमा ५ हजार ८३ जना सम्पर्कविहीन छन् भने ५ हजार ३९७ जना घाइतेको उपचार गरिएको छ। हालसम्म १३ हजार ९३ जनाको उद्धार गरिएको छ।
खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित २१ हजार ४२१ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

भोटेकोसी बाढीका कारण केरुङमा रोकिएका करिब १,७०० नेपाली चीनको सहयोगमा सिन्धुपाल्चोकको छोटो बाटो हुँदै स्वदेश फर्किन थालेका छन्। व्यापार, व्यवसाय तथा भ्रमणका लागि केरुङ पुगेका उनीहरू भदौ १० गतेको बाढीपछि उतै रोकिएका थिए। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार नेपालीको स्वदेश फिर्ती क्रमशः भइरहेको छ।

दार्चुलाको अपिहिमाल गाउँपालिका–१, भट्टारस्थित चौलानी नदी पहिरो खस्दा आधा थुनिएको छ। नदीमा पहिरो खस्ने क्रम अझै नरोकिएकाले नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम बढेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै सम्भावित जोखिमबाट बच्न तथा धनजनको क्षति न्यूनीकरण गर्न चौलानी नदीको तटीय क्षेत्रका बासिन्दा र सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी बर्तराज पौडेलले आपत्कालीन वा विपद्को अवस्था सिर्जना भए सहयोगका लागि प्रशासनले उपलब्ध गराएका हेल्पलाइन तथा सम्पर्क नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन्।
प्रशासनले नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन र नदी किनारमा आवतजावत गर्दा विशेष सावधानी अपनाउनसमेत आग्रह गरेको छ।

भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको १०औँ दिन रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुईजनाको जीवितै उद्धार भएको छ।
नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्धार टोलीले शुक्रबार बिहान ५ः५५ बजे सुरुङबाट ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जनलाई जीवितै बाहिर निकालेको हो।
उद्धार गरिएका साहको अवस्था सामान्य रहेको छ। महर्जनलाई उपचारका लागि काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा भर्ना गरिएको छ। उपचारमा संलग्न चिकित्सकले उनको अवस्था पनि क्रमशः सामान्य हुँदै गएको परिवारलाई जानकारी दिएका छन्।
उद्धारपछि दुवैजनालाई हेलिकोप्टरमार्फत रसुवाबाट काठमाडौं ल्याइएको थियो। सप्तरीका साह आयोजनामा मेकानिकल फोरम्यान र काठमाडौंका महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए।
बाढीपछि त्रिशूली–३ ‘ए’ आयोजनामा कार्यरत ४२ जना सम्पर्कविहीन भएका थिए। उद्धारका क्रममा सशस्त्र प्रहरी बलका जवान अमर तामाङले साह र महर्जनलाई शरीरको केही भाग डुबेको अवस्थामा फेला पारेका थिए। उनीहरू आयोजनाको अन्तिम अर्थात् सातौँ तलामा भेटिएका हुन्।
तामाङका अनुसार महर्जन बाढीसँगै सुरुङभित्र पसेको लेदोमा थिचिएको अवस्थामा भेटिएका थिए भने साह सुरुङभित्रको स्ल्याबमा बसेको अवस्थामा सकुशल फेला परेका थिए।
“म टनेलको अन्तिम विन्दुसम्म पुगेर बाहिर फर्किएको हुँ। उद्धार गरिएका दुवैजनासँग बिहानै सम्पर्क भएको थियो। अन्य व्यक्तिसँग भने सम्पर्क हुन सकेको छैन,” तामाङले भने।
सुरुङभित्र खटिएको सशस्त्र प्रहरी टोलीका कमाण्डर डीएसपी अमृत थापाका अनुसार सुरुङका सात तहमध्ये पाँच तला गेग्रानसहितको हिलोले पूरै डुबेको छ। सातौँ तलामाथि एकजनाको शवसमेत फेला परेको छ। शवको पहिचान भने हुन सकेको छैन।
६० मेगावाट क्षमताको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो क्षति पुगेको थियो। बाढी आएको १० दिनसम्मको निरन्तर प्रयासपछि उद्धार टोली शुक्रबार सुरुङभित्र प्रवेश गर्न सफल भएको हो।
भोटेकोसी बाढीमा परी शुक्रबार मध्याह्नसम्म मृत्यु हुनेको संख्या १ हजार २८७ पुगेको छ। रसुवा, नुवाकोट, गोरखा, चितवन र नवलपरासीमा उनीहरूको शव भेटिएको जनाइएको छ। अझै ५ हजार ८३ जना सम्पर्कविहीन रहेको बताइएको छ।

रसुवाको भोटेकोसी बाढीपछि विभिन्न जलविद्युत् आयोजनामा थुनिएकाहरूको खोज तथा उद्धार जारी छ।
शुक्रबार दिउँसोसम्म त्रिशूली–३ ‘ए’को सुरुङबाट दुईजनाको जीवितै उद्धार गरिएको छ भने एकजनाको शव निकालिएको छ। उद्धार गरिएका दुवैलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याई उपचार भइरहेको छ।
त्रिशूली–३ ‘बी’, लाङटाङ, चिलिमे र माथिल्लो त्रिशूली–१ आयोजनामा पनि नेपाली सेना, प्रहरी, आयोजनाका प्रतिनिधि तथा विज्ञसहितको टोलीले खोज तथा उद्धार गरिरहेको छ। लाङटाङ आयोजनाको सुरुङमा दुई शव फेला परेका छन् भने अन्य आयोजनामा सुरुङभित्रको माटो, लेदो र पानी हटाउने तथा फसेकाहरूको खोजी जारी छ।

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले वर्षा हुने मौसमविद्ले बताएका छन्।
दिउँसो कोसी, वाग्मती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना छ। राति सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

नेपालमा आएको विनाशकारी बाढीले नेपाल–भारतबीचको सीमापार बाढी जोखिम उजागर गरेको छ। नेपालका कोसी, गण्डकी र कर्णालीलगायत नदीले भारतका बिहार, उत्तर प्रदेशलगायत क्षेत्रमा बाढीको जोखिम बढाउँछन्। विज्ञहरूका अनुसार बाढीको प्रभाव वर्षासँगै नदीको जलस्तर, तटबन्ध र ढल निकासमा निर्भर हुन्छ। जलवायु परिवर्तनका कारण यस्तो जोखिम झन् बढ्दै गएकाले नेपाल–भारतबीच तथ्यांक आदानप्रदान र पूर्वसूचना प्रणाली मजबुत बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।

रसुवा भोटेकोसी बाढी र पहिरोमा परी हालसम्म १,३४४ जनाको मृत्यु भएको पुष्टि भएको छ। नेपाल प्रहरीका अनुसार भदौ २० गते बिहानसम्म ४,८९८ जना बेपत्ता छन्।
मृतकमध्ये ५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरुष र ५०१ आंशिक अंग फेला परेका छन्। हालसम्म १,०३० शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।

भदौ २० गते पनि देशका विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ। वर्षाका कारण साना–ठूला नदीमा पानीको बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
रसुवा र नुवाकोटका भोटेकोसी, त्रिशूलीलगायत नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको छ। यस्तै, देशका विभिन्न पहाडी जिल्लामा रहेका साना नदीमा मध्यम जोखिम रहेको छ।
सप्तकोसी, तमोर, अरुण, दूधकोसी, तामाकोसी, सुनकोसी, पश्चिम सेती र महाकालीलगायत ठूला नदीमा पनि बहाव बढ्ने पूर्वानुमान गरिएको छ।

रसुवा–भोटेकोसी बाढीबाट नेपालमा करिब २ अर्ब ५६ करोड अमेरिकी डलर बराबरको सम्पत्ति तथा भौतिक पूर्वाधारमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा करिब ७,५०० घर पूर्णरूपमा ध्वस्त भएका छन् भने थप २० हजार घर पुनर्निर्माण गर्नुपर्ने देखिएको छ। सडक, अस्थायी आवास, खानेपानी र विद्युत् सेवा पुनःस्थापनाका लागि करिब ५ करोड २६ लाख डलर आवश्यक पर्ने अनुमान छ।
बाढीपछि नेपालमा १,३४४ जनाको मृत्यु पुष्टि भएको छ भने ४,८९८ जना अझै बेपत्ता छन्। तिब्बतमा पनि ३० भन्दा बढीको मृत्यु र ५०० भन्दा बढी बेपत्ता रहेको बताइएको छ।
