जिज्ञासा नै सफलताकाे सूचक : सुरूङकाे बाटाे | Hamro Patro

ब्लग - साहित्य / बाल साहित्य

जिज्ञासा नै सफलताकाे सूचक : सुरूङकाे बाटाे




   श्रीसद शिवाकोटी - Jan 20 2023

विषय प्रवेशः
सुरुङको बाटो ब्रजेश खनालद्वारा लिखित एक बाल उपन्यास हो । उपन्यासमा तीन जना साहसी बालकहरूले गरेको भ्रमण र खोजको बारेमा छ । ब्रजेश खनाल एक अभिनेता एवम् साहित्यकार पनि हुन् । यो बाहेक उनको अरु पुस्तक यायावर, जुनेली र साइड हिरो पनि प्रकाशित भइसकेका छन् । सुरुङको बाटो चाहिँ उनले बालबालिकाहरूको लागि लेखेकाे पुस्तक हो । पुस्तकमा चित्रहरू देवेन्द्र पाण्डेले बनाउनुभएकाे छ । परिचय पब्लिकेसनकाे प्रकाशन गरेकाे छ ।

विषयवस्तुः
यो कथाको सुरूमा सुत्रधारले सबैको परिचय दिन्छ | गाडी कमलकान्त नामक व्यक्तिले चलाइरहेका हुन्छन् र उनको छेउमा उनकी पत्नी मधु हुन्छिन् | पछाडी उनीहरूका छोरा इशान र इशानको सानोमामीको छोरा अभिषेक र छोरी अनिशा हुन्छन् | उनीहरूसँगै एउटा कुकुर जख्खु पनि हुन्छ | उनीहरू छुट्टि भएर घुम्नको लागि मुस्ताङ गएका हुन्छन् | त्यसपछि दुई वर्ष अगाडिको घटना सुत्रधारले भन्छ जब त्यही मुस्ताङको होटेलमा कसरी इशानले जख्खुलाई भेटाएर र पालेको थियो भनेर | फेरि सुत्रधार दुई बर्षपछि आएर बाँकी घटना भन्छ | उनीहरू मुस्ताङको होटेल पुग्न लागेका हुन्छन् जब इशानले एउटा कटेज देख्छ र बुबालाई गाडी रोक्न भन्छ | डाँडाको माथि ढुङ्गाले छोपिएको राम्रो कटेज देख्दा उनीहरू अचम्ममा पर्छन् र त्यहाँ को बस्छ भनेर उनीहरूमा जिज्ञासा पलाउँछ । त्यसैले उनीहरूले त्यहाँ हिडिरहेका एकजना स्थानप्य बासिन्दालाई त्यो कटेजको बारेमा सोध्छ्न् | ती मानिसले त्यहाँ कोही बस्दैन भन्छन् र थप जानकारीका लागि पासाङ बाजे कहाँ जाऊ भन्छन् | उनीहरू गाडीमा चड्ने बेला इशानले त्यो कटेजको झ्यालबाट अनौठो उज्यालो देख्छ र उसमा अझ जिज्ञासा पैदा हुन्छ | कमलकान्त र मधु तीनजना केटाकेटीलाई होटेलको म्यानेजर ओम काकाको जिम्मामा छोडेर कामको लागि अन्तै जान्छन् | भोलिपल्ट तीन जना पासाङ बाजे कहाँ जान्छन् र कटेजको बारेमा खोजखबर गर्छन् | उनले त्यहाँको चाबी त्यो कटेज सफा गर्ने दावा काकीसँग छ भन्छन् | यो जानकारीको आधारमा उनीहरू दावा काकी कहाँ गएर चाबी मागेर त्यहाँभित्र एक झलक हेर्छन् तर त्यहाँ कोही हुँदैन | तिनै जना शान्त हुन्छन् र होटेल फर्कन्छन् | होटेलमा उनीहरू खान बस्दा उनीहरूले विदेशीहरूले कटेज र दावाको बारेमा कुरा गरेको सुन्छन् | पछि उनीहरूले ती विदेशीहरूको रूमको झ्यालमा गएर सुन्दा कटेज आजै पुग्नु पर्ने कुरा गरे | उनीहरूको नियत राम्रो थिएन त्यसैले तीनजना बालकहरू रातारात जख्खुलाई लिएर कटेज जान्छन् | कटेजभित्र जाने उपाय खोज्दा जख्खुले सुरुङको बाटो भेटाउँछ र तिनै जना त्यहाँबाट भित्र कटेजमा जान्छन् र त्यहाँ एक सहवीर नामक मानिस भेटाउँछन् | केही कुराकानी हुनु अगाडि नै ती विदेशीहरू कटेजमा आइपुग्छन् | सहवीरले बालकहरूलाई अमूल्य कुरा दिने आँट्दा विदेशीहरू कटेजभित्र आएर सहवीर लगायत इशान, अभिषेक र अनिशालाई डोरीले बाँधेर मूर्ति लिएर भाग्छन् | तर इशानले त्यो हुनु पहिले नै जख्खुलाई “जा ओम काकालाई बोलाएर आ” भनेको हुन्छ | ३ -४ मिनेटपछि ओम काका आइपुग्छन् र पुलिसलाई खबर गर्छन् | सहवीर र केटाकेटीहरूको डोरी खोलेर होटेल लिएर जान्छन् र सहवीरलाई सबै कुरा भन्न लागाउँछन् | १० बर्ष पहिले सहवीर टुक्चेमा चाबी बनाउने काम गर्दा रहेछन् | ऊ हराएको चाबीको नक्कली चाबी बनाउन सक्दा रहेछन् | एक दिन जोजेफ नाम गरेको एक विदेशी आएर उसलाई ‘ तिमी र म मिलेर मालामाल हुन सक्छौँ’ भनेको रहेछ | सहवीरले कसरी भनेर सोध्दा उसले तल एउटा घरमा महँगो मूर्ति छ । म तिमीलाई त्यसको आधा पैसा दिन्छु तिमी त्यहाँको चाबी बनाएर मूर्ति ल्याऊ भन्छ | सहवीरले भने जस्तै गर्छ तर त्यहाँ दुईटा मूर्ति हुन्छन् | उसले जोजेफले साँचै मलाई पैसा देला कि नदेला भन्ठानेर उसले नक्कली मूर्ति लग्छ | पैसा दिए सक्कली पनि दिने बिचारले ऊ जोजफकहाँ पुग्छ तर जोजेफले उसलाई रडले हानेर बेहोस पारेर मूर्ति लिएर फरार हुन्छ | सहवीर जेलमा १० बर्ष बस्नुपर्छ र १० बर्ष बसेर बाहिर निस्किदा जोजेफ उसलाई कुरिरहेको हुन्छ | त्यसैले ऊ भागेर त्यो कटेजमा गएर लुकेको हुँदो रहेछ | पछि पुलिसले जोजेफलाई पकड्छ र केटाकेटीहरू खुसी हुन्छन् | त्यति नै खेर इशानको बुबाआमा आउँछन र ओमलाई ‘ बच्चाहरूले बिघ्न त गरेनन् नि ’ भनेर सोध्छन् तर सबैजना हाँस्छ्न् |

परिवेशः
यो कथामा काठमाडौँका पात्रहरू घुम्नको लागि मुस्ताङ जान्छन् त्यसैले यो कथाको परिवेश मुस्ताङगको होटेल र त्यहाँको कटेज वरिपरि छ | मुस्ताङ भनेको नेपालको हिमाली क्षेत्रमा पर्ने एक धार्मिक र पर्यटकीय स्थल हो | यस कथामा मुस्ताङमा भएकाे भौगोलिक विविधता, र त्यहाँको रमणीय दृश्यको बारे वर्णन गरिएको छ | त्यसैगरी मुस्ताङका विभिन्न ठाउहरू जस्तै जोमसोम, लेते, लार्जुङ, कोबाङ, टुक्चे, मार्फा आदि ठाउँको बारे पनि लेखिएको छ |

पात्रः
उपन्यासमा आएका पात्रहरू इशानको परिवार जसमा मधु (आमा), कमलकान्त (बुबा), अभिषेक (सानोमामीको छोरा) र अनिशा (अभिषेकको बहिनी) छन् | अमानवीय पात्रका रूपमा इशानको कुकुर जख्खु पनि छ | त्यसैगरी मुस्ताङको होटेलका मालिक ओम काका पनि छन् | यो कथामा सहायक पत्रको रुपमा पासाङ बाजे, दावा काकी, सहवीर छन् | यो कथाको खलपात्रको रूपमा बिदेशी जोजफ र उसको गाइड बलबहादुर छन् |

मूलभावः
यो कथाले हामीलाई कसरी साहसी भएर काम गर्ने र कस्तो परिस्थितिमा के गर्ने भनेर ज्ञान दिन्छ | यदि इशान र अभिषेकले हिम्मत नगरेको भए जोजफको जीत हुन्थ्यो र सहवीरले कहिले पनि न्याय पाउदैनथे | यो कथाले कुकुर पाल्नुको महत्त्व पनि राम्ररी भनेको छ | त्यो कुकुर नभएको भए इशान र उसका साथीहरू त्यही कटेजमा फस्ठे र नराम्रो घटना घट्न सक्थ्यो | केटाकेटीहरूको स्वभाव जिज्ञासु हुन्छ र त्यो जिज्ञासा पुरा नभएसम्म उनीहरूलाई खुल्दुली भइराख्छ भन्ने कुरा पनि यो कथाले दर्शाएको छ | यो कथाले सत्यको सधैँ जीत हुन्छ पनि भन्न खोजेको छ |

निष्कर्षः
बिदाको बेलामा अभिभावकले आफ्ना केटाकेटीलाई मनोरञ्जनको लागि घुमाउन लैजानु पर्ने, आफ्नो छोराछोरीको इच्छा बुझ्नु पर्ने, विदेशभन्दा पहिले स्वदेश घुम्नुपर्ने, मानिस र कुकुरबिचको सम्बन्ध, घुम्न जाँदा गरिने अवलोकन आदिको बारेमा खुलस्त रूपमा लेखिएको यो बाल उपन्यास मलाई सारै राम्रो लाग्यो | यो कथा पढेर मैले केही कुरामा कौतुहलता भए निडर भएर त्यसको बारेमा सोधखोज गर्नुपर्छ भन्ने कुरा सिक्ने अवसर पाएँ | यो कथा पढिसकेपछि एकपटक मुस्ताङ घुम्न जसरी भए नि जानुपर्छ भन्ने विचार सबै पाठकको मन मा आउँछ | मैले यो ‘सुरुङको बाटो’ भन्ने किताब विद्यार्थी र अभिभावकले पनि पढ्नु पर्ने सुझाव दिन्छु | यो किताब रमाइलो हुनुको साथै हामीलाई ज्ञान पनि दिन्छ |

श्रीसद शिवाकोटी
कक्षा ८ ‘गाैरिशङ्कर’
डियरवाक सिफल स्कुल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.