Kati Dhunu Gadhaharulai | Hamro Patro

ब्लग - साहित्य / बाल साहित्य

पुस्तक समीक्षा : कति धुनु गधाहरूलाई




   अमु शाक्य - Jul 14 2023

विषय प्रवेश
कति धुनु गधाहरूलाई नामक पुस्तक लक्ष्मण गाम्नागेद्वारा लिखित हाँस्यव्यङ्ग्य निबन्ध सङ्ग्रहको पुस्तक हो । यस पुस्तकलवई मञ्जरी पब्लिकेशन द्वारा प्रकाशित गरिएको हो । यसको आवरण सज्जा टाइम्स क्रियेशनद्वारा बनाइएको हो र आवरण चित्र दीपक गौतमद्वारा बनाइएको हो । यस पुस्तकको कृति स्वामित्व अर्थात् सर्वाधिकार लेखकमा रहेको छ । यस निबन्ध सङ्ग्रहमा २८ पाठ रहेका छन् भने १३६ पृष्ठहरू रहेका छन् । यस पुस्तकको भाषाशैली व्यङ्गात्मक रहेको छ ।

 विषयवस्तु
गोडा फाट् ! स तर्क !
यस निबन्धमा देशको अकिञ्चनको साथसाथै मानिसले जीवनमा भोग गर्ने कष्टहरूको चित्रण गरिएको छ । यस निबन्धमा सूर्योदयपछि सूर्यास्त पनि आउँछ भनेरसमेत भन्न खोजिएको छ । अर्थात क्षणिक सुखपछि क्षणिक दुःख पनि जीवनमा आउँछन् । तर जति दुःख आए पनि खुशी हुनैपर्छ । जति रुन मन लागे पनि हास्नु नै पर्छ र जति अन्धकार भए पनि उज्यालो अवश्य आउँछ भन्न खोजिएको छ । दुःखको जीवन नरहे जीवन आनन्ददायी नहुने पनि भनिएकाे छ ।

बेकुफ अनुहारहरूः
यस निबन्धमा ३ जना प्रमुख पात्रहरू रहेका छन् । स्वयम् लेखक, घनश्याम दाइ र ज्ञानबहादुर गुरागाई । लेखकले ती सबैको संक्षिप्त कथा लेख्दै छ । प्रारम्भमा लेखकले आफ्नै थोरै कुरा राख्छ । उनी शुरुमा त आफू जन्मेकोमा नै खुशी छैनन् र बाआमाले पढाइ लेखाइ गराएकोमा झन् खुशी छैनन् । धेरै पढेलेखेका भए तापनि उनले बाआमाको हातमा रु १००० पनि दिन सकेका छैनन् । पेसाले उनी एक लेखक थिए । उनी पनि घनश्याम दाइ र ज्ञानबहादुर जस्तो आनन्ददायी जीवन बिताउन चाहन्थे तर उनका लागि त्यो अप्राप्य नै छ । मात्र उनले उनको कथा मात्र लेख्न सक्छ । घनश्यामको कथा यस्तो छ ।
घनश्याम गाउँभरिको फटाहा राजा हो । उनको कसैप्रति पनि आदरको भाव छैन । कक्षा ९ मा पढ्दै गर्दा कक्षा ७ की किशोरीलाई नकरात्मक लोचनले समात्ने प्रयत्न गरेको होम सरले देखेका थिए । उनलाई सजायका रुपमा आफ्नो घुडामा टेकाएका थिए । त्यसको बदला लिन एकान्तमा होम सरको घुडाँमा इट्टाले हानेर उनी फरार भएका थिए । त्यसको १५ वर्षपछि उनलाई काठमाडौंमा भेटेका थिए । १२ वर्ष दिल्लीमा सुनको काम गर्नाले उनको प्रतिष्ठा अर्कै रहेको थियो । त्यसपछि खातेपिते, आतेजाते सबै उनकै घरमा हुन्थ्यो ।
ज्ञानबहादुर पनि उस्तै थियो । न उनले तास खेल्न छोड्छ, न मद्यपान गर्न छोड्छ, न त श्रीमतीलाई कुटपिट गरी महिला हिंसा गर्नै छोड्छ । उनलाई केही कुराको पनि परवाह हुँदैन । सधै लम्पसार परी आनन्ददायी जीवन बिताउँछ ।
लेखकलाई पनि यी नमुनाहरू जस्तो आनन्ददायी जीवन बिताउन मन लाग्थ्यो तर उनका लागि त्यो क्षण उड्दो चरो खसाल्नु सरह हो ।

असफल दाम्पत्य जीवनः
 यस निबन्धमा प्रमुख पात्रमा लोग्ने र स्वास्नी नै रहेको छ । यस निबन्धमा यथार्थता केही दर्साइएको छैन । यो एक कल्पनात्मक निवन्ध मात्र हो । यसमा लोग्नेले श्रीमतीसँग झगडा गर्न पाउँदा कति बेस हुँदो हो भन्ने थान्छन् । १५ वर्षको अवधिसम्म पनि द्वन्द्व झगडा नभएको कारण गतिहीन, प्राणहीन् दाम्पत्य जीवन भएको लोग्नेले ठान्छ ।

हाम्रो प्यारो बालभरियाः
एक बाबुले आफ्नो छोरालाई प्रेमपूर्वक म्वाई खान चाहन्छ, आफ्नो गोडमा उठाउँ जस्तो लाग्छ तर त्यसको अवरोध छोराको होमवर्क हो । त्यो छोरा दिनभर पढाइलेखाइमा नै व्यस्त रहन्छ । अरु बच्चाले बालपनमा गर्न पाएको मज्जा उसले गर्नै पाएको थिएन । बिहान ५ बजे बाध्य भई उठ्नुपर्छ । दुध पिउनुपर्छ, आमाको हातबाट कोच्याई, कोच्याई खाना खानुपर्छ, ड्रेस लगाउनुपर्छ र बसमा बसेर स्कुल जानुपर्छ । स्कुलमा पुगेर घोट्टिनुपर्छ र शीघ्रातिशीघ्र स्कुलको खाना खाई फेरि पढ्न बस्नुपर्छ । फेरि घोट्टिनुपर्छ र घर फर्कि दर्जनौ गृहकार्य समाप्त गर्नुपर्छ ।
उनको मेहेनतलाई देखेर उनको बुबा विस्मित हुन्छन् र सोच्छन् कि उसैले जन्माएको हो कि कोही यन्त्रमानवले जन्माएको ।

आत्माको शान्तिको लागिः
निबन्धमा लेखकले देशको स्थितिको कल्पना गरेका छन् । आत्माको मोक्षभूमि वा निमार्णको वासस्थानको निमित्त राष्ट्रको समुन्नति अपरिहार्य थानेका छन् । बागमति र अन्य नेपालका प्रमुख नदीहरूको विषेश चित्रण यसमा गरिएको छ । उनले यस निबन्धमा गरेको कल्पना झै यर्थातमा पनि राष्ट्रको त्यस्तै विकास भए सर्वोत्तम हुन्छ भन्ने लेखकले यस निवन्धमा समाविष्ट गरेका छन् । देश ऐश्वर्य, प्रभुत्वको प्रतीक मानिने राजनीतिज्ञ, कार्यकर्ताहरू नभए पनि सीमित मात्रामा देश र पूर्वाधारको विकास भए सारा जनताको मुहारमा प्रफुल्लताको भाव आउने उनले यस निबन्धमा बताउन गरेका छन् ।

भोले, डोले, चिरे र हाम्रो चौर
विद्यालयले पर्यावरण सन्तुलनको कार्यक्रम सञ्चालन गरेको हुन्छ । सो कार्यक्रम सफल बनाउन संलग्न हुने विद्यार्थीहरू निकै कम हुन्थे । अरु सबै विद्यार्थीहरू अनावश्यक काममा नै अस्तव्यस्त थिए । त्यस विद्यालयको विद्यार्थीहरूको वर्णन यसमा गरिएको छ । कोही विद्यार्थीहरू महिलालाई छेड्ने, जिस्काउने गर्दथे भने कोही विद्यार्थीहरू अरुको नाममा लभ लेटर लेखेर महिलाको व्यागमा टाँस्ने काम गर्थे । इमान्दार विद्यार्थीहरू बिरलै भेटिन्थ्यो भने १०१ विद्यार्थीहरू खत्तम खालका हुन्थे । यहाँ पर्यावरण सन्तुलन कार्यमा तैनाथ नहुने प्रवृतिले देशमा भाषण मात्र छाड्ने राजनीतिक कार्यकर्तालाई व्यङ्गय गरिएको छ ।

सिध्याउने भए मलाई
यस निबन्धमा मूलतः सोझासीधा जनताकहरूलाई ठग्ने प्रवृतिको चित्रण गरिएको छ । म पात्र आफ्नो कार्यकक्षमा काम गर्दै हुन्थ्यो र मान्छेहरू आई चन्दा माग्ने, इच्छा विपरीत सामान भिडाउने, आफू अकिञ्चन भएको नाटक गरी पैसा असुल्ने गर्दछन् । म पात्रले सबैमा करुणाको भावले अरुसँग मागीमागी अन्यलाई सहयोग गर्छन् । अन्त्यमा केही सामान किन्न भुल्छन् जसले गर्दा उनको घरमा गृहद्वन्द्व हुन्छ । यसरी देशको सोझो जनतालाई लुटी राजनीतिक दलका ठूला पदका मान्छेहरू र सत्तासीनहरू मोज लुटिरहेका छन् । अकिञ्चन व्यक्तिहरूको सार्वभौमसत्ता संविधानमा मात्र स्थित भएको यस निवन्धको मूल व्यङ्य हो ।

यो घर हो
यस निबन्धमा धुलै धुलोले भरिपूर्ण एक घरको चित्रण गरिएको हुन्छ । त्यस घरको धाराले मेलन्ची पानीको अपेक्षा गरिरहेको हुन्छ । फोहर भ्यालढोकाले आफू सफा हुन इच्छा राखिरहेको हुन्छ । घरको तल क्यारमबोर्ड खेल्ने युवकले देशमा स्वरोजगारीको अपेक्षा गरिरहेको हुन्छ । यस आत्मपरक निबन्धमा लेखकले घरलाई देश र घरको मालिकलाई देशका अपेक्षाशील जनताहरूको भूमिका दिइएको छ ।

चाइन्जो के रे
यस निबन्धमा मूलतः मानिसहरूको ठेगोको वर्णन गरिएको छ । मानिसको ठेगो नै मानिसको व्यक्तित्व निर्धारण गर्ने तत्त्व हो भनेर यसमा समाविष्ट गरिएको छ । विशेषगरी राजनीतिमा लागेका राजनीतिज्ञहरूको ठेगोको प्रयोगले नेपाली भाषा भण्डार त उज्वल पारे तर देशको स्थिति समुज्वल पार्नुको सट्टा झन् खस्काएको यस निबन्धको मूल व्यङ्गय राजनीतिक कर्मचारीहरूमा मात्रै लागु नभईकन देशका सारा जनताहरूमा लागु हुन्छ ।

डाक्टरको बिगबिगी
डाक्टर भन्ने आधुनिक शव्द यस निबन्धको शीर्षक भए तापनि प्रचीन समाजमा रहेको प्रथाहरूको हालैको सम्पन्नतासँग तुलना गरिएको छ । म पात्रको एउटा बच्चा जन्मिन्छ । प्रारम्भमा छोरा जन्मिएको भनेर एक छिमेकी हर्षित हुन्छ जसले लैगिंक असमानता प्रकाश छर्दछ । मध्य भागमा बच्चालाई घाममा राख्न नहुने र प्राकृतिक घाम नहुने भएकोले कृत्रिम घामको सहाराले हुर्काउन पर्छ भन्ने जस्ता सामाजिक प्रथाहरूको प्रतिविम्व हो यो निबन्ध ।

आलाेचनात्मक विश्लेषण
निबन्धका जम्मा दुईवटा प्रकारहरू हुन्छन् भनेर हामी विद्यार्थीलाई पहिलादेखि ज्ञान भएको कुरा हो । ती हुन् आत्मपरक र वस्तुपरक निबन्ध । यस पुस्तकको बाहिरी आवरणमा अर्जुन पराजुलीले भने सरह लेखक गाम्नागेले पुष्प, भाष्कर, नक्षत्र जस्ता बस्तुहरूको निबन्ध लेख्दैनन् । यिनी उल्टा र व्यङ्यात्मक कुरा गर्ने भएकाले व्यङ्यात्मक निवन्ध लेख्दछन् । यसले प्रारम्भमा त हामी विद्यार्थीहरूलाई व्यङ्य र आत्मपरक निबन्धको प्रत्यक्ष सम्वन्ध भएकोले यस पुस्तकका निबन्धहरू पनि आत्मपरक नै होलान् भन्ने लाग्यो तर किताब भित्रका पानाहरू पत्ल्टाउँदै जाँदा न त आत्मपरक निबन्ध थियो । बस्तुपरक त दुरको कुरा भयो । यस पुस्तकले हामी विद्यार्थीहरूलाई निबन्धको बारेमा अन्वेषण गर्न अभिप्रेरित गरायो, उत्कण्ठाल जगायो । अन्तिममा यस पुस्तकका लेखक नै हास्यव्यङ्यात्मक निबन्धका निर्माता भनेर हाामीले निष्कर्ष टुङ्यायौं ।

निष्कर्ष तथा सिफारिस
यस हाँस्यव्यङ्ग्य निवन्धमा देश स्थिति, अकिञ्चनता, ठगी, सोझा जनताहरूका अपेक्षा, विकास, धर्म आदिलाई चित्रण गरिएको छ । यस पुस्तकको शीर्षक “कति धुनु गधालाई” ले नै उपकल्पना गर्न सकिन्छ कि भारी बोक्ने गधाहरू जति जनता र काम नगरी बस्ने गधा चाहिँ नेता । यसको तात्पर्य सबै राजनैतिक कार्यकर्तालाई गधा भन्न खोजिएको हैन यद्यपि अधिकांश राजनीतिकज्ञहरूको प्रवृति यस्तै छ । त्यसकारण म यो पुस्तक विशेषगरी युवावर्गहरू माझ सिफारिस गर्दछु । यसले बाैद्धिक पलायन निर्मूल पारी देशको हितका लागि केही गर्नुपर्छ भन्ने एक प्रकारको साहस युवावर्गहरूमा उत्पन्न हुन्छ ।

अमु शाक्य
कक्षा ९ ‘साइपाल’
डियरवाक सिफल स्कुल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.