परिचय
प्रस्तुत “लक्ष्य किन बोल्दिन” किशोर उपन्यास आन्विका गिरीले लेख्नुभएको हो । यसमा दीपमाला महर्जनले चित्रद्वारा सजावट गर्नुभएकाे हाे । पुस्तककाे प्रकाशक साङ्ग्रिला बुक्स हो । यसको आवरण टाइम्स क्रियसनबाट संयाेजन भएको हो । यसको पहिलो संस्करण २०७८, फागुनमा भएको हो। यसमा १२ वटाअध्यायहरू छन् र ९३ पानाहरू छन् । मलाई यो पुस्तक निकै मन पर्याे । यसमा विद्यालय र घरमा छाेराछाेरीमा हुने लैङ्गिक विभेदकाे चित्रण गरिएकाे छ भने अर्काेतर्फ एक अर्कामा नाम जाेडेर साथीहरूले विद्यालयमा जिस्काउँदा किशाेरकिशाेरीमा देखिएकाे असरकाे चित्रण गरिएकाे छ । विद्यालयजस्ताे पवित्र सरस्वतीकाे मन्दिर विभेदरहित हुनुपर्छ भन्ने सन्देश दिन खाेजिएकाे छ ।
पात्र
यस कथाको मुख्य पात्र लक्षु र सुदीप हुन् । त्यसैगरी यस कथामा भएका सहायक पात्रहरू देवराज, लक्षुकाे काका, मिलन, सुदीपकी दिदी,चक्र र कवि हुन्। यसरी यस कथाका गौण पात्र सुदीपका बुबाआमा, विश्वास सर, शान्ति बहिनी, विश्वराज सर, अनुसा, रन्जना, प्रवीण, सुरज, रामदेव सर, शम्भु, अमित, सन्ताेष, सुजन, कुमार हुन्। यसमा सबै मानवीय पात्रहरू छन् भने कुनै पनि मानवेतर पात्रहरू रहेका छैनन् ।
कथावस्तु
सुदीपकाे र लक्षु मिल्ने साथी भएकाे र सुदीपले आफ्नी साथी लक्षु र आफ्नाे कथा बताउन सुरुवात गरेकाे अवस्थाबाट यस किशाेर उपन्यासमा कथावस्तुकाे सुरुवात भएकाे छ। लक्षु निकै चलाख र निडर पात्र हुन् । तर १, २ वर्षपछि लक्षुमा विस्तारै परिवर्तन आउन थाल्छ । विस्तारै निडर लक्षुले अरुको अगाडि निन्याउरो मुख लगाउँन थाल्छे । अरुको दोष पनि आफूले स्वीकार्छे। लक्षुमा यस्ताे परिवर्तन हुनुको कारण उसको बिहे रहेछ। उसलाई पढ्न मन थियो तर उसको परिवारले उसको बिहे गर्ने कुरा गरेका थिए । ८-१० दिनदेखि लक्षुकाे शम्भुसँग नाम जोडिएको थियो र बाेर्डमा पनि उनीहरूकाे नाम पनि लेखिएको थियो। एकदिन लक्षुले सहन नसकेर सबै कुरा उसले शिक्षकलाई बताई । शिक्षकले धेरैजनालाई केरकार गर्नुभयो तर कसले गरेको हो पत्ता लगाउन सक्नुभएन। त्यसपछि लक्षुकाे साथी कवि आफैले आएर माफी माग्यो। त्यसपछि विद्यालयमा लैङ्गिक विभेद अन्त्य भयो । लक्षु, सुदीप र दिदीकाे लामाे समयकाे सङ्घर्षपछि र शिक्षकले अभिभावकसँग कुरा गरेपछि लक्षुको घरमा पनि विवाहको कुरा अन्त्य भयो। त्यसपछि लक्षु पुरानै अवस्थामा फर्की। त्यसपछि सुदिप र उसकी दिदीलाई साइकल रेसमा पनि जित्न थालेकाे घटनापछि कथावस्तुकाे अन्त्य हुन्छ ।
परिवेश
यस कथामा मुख्य रुपमा तराईको ग्रामीण परिवेश आएको छ त्यसमा पनि लक्षुकाे घर र कोठा, विद्यालय र कोठा, सुदीपकाे घर, गाँउ र कोठा आदि स्थलगत परिवेशका रूपमा आएका छन् । लक्षु र सुदिप मिल्ने साथी हुनु सानाेमा भाँडाकुटी खेल्नु, सानीमा लक्षु निकै चलाख हुनु, तर पछि बिहेका कारण उ जहिले निन्नाउराे बन्नु, कविले शम्भुको नाम लक्षुसँग जोड्नु र गल्ती स्वीकार्नु आदि अवस्थागत परिवेशका रूपमा आएका छन् । यो घटना ३ देखि ४ वर्षको अन्तरालमा भएको हुँदा कालगत परिवेशकाे रूपमा ४ वर्ष अनुमान लगाउन सकिन्छ ।
निष्कर्ष तथा सिफारिस
यस किशाेर उपन्यास लक्षु किन बोल्दिनमा निकै मार्मिक कथावस्तु रहेको छ। यसमा सरल भाषा भएको हुनाले हामी सबैले बुझ्न सकिन्छ। हाम्रो समाजमा अहिले पनि लैङ्गिक विभेद जल्दाेबल्दाे छ । ग्रामीण दुर्गम समाजमा छोरीहरूलाई अलिकति ठुली भएपछि बिहे गरेरै दिनुपर्छ भन्ने धारणा छ। अभिभावकमा भएको अज्ञानताले उनीहरूले यस्तो कुरा सोच्न बाध्य भएका हुन्। यसका लक्षित पात्रकाे रूपमा लक्षु आएकी छ तर सुदिप र सुदीपकी दिदीकाे प्रयासबाट लक्षु आफ्नो लक्ष्यमा पुगेकी छे। अतः ग्रामीण समाजमा घटेको घटनालाई जस्ताको तस्तै टिपेर रोचक रुपमा समेट्न सक्नु यसको बलियो पक्ष हो र आधुनिक समाजका लागि कताकता अमिल्दो हुनपुग्नु यसको कमजोरी पक्ष हो तर पनि यो उपन्यास पढ्दा रोचक छ, सम्पूर्ण अभिभावक र किशोरकिशोरीले उपन्यास पढेपछि बुझेर दैनिक व्यवहारमा लागू गर्न आवश्यक छ त्यसैले म सम्पूर्ण अभिभावक वर्ग र किशोरकिशोरीलाई यो उपन्यास पढ्नको लागि सिफारिस गर्दछु।
संविद ढकाल
कक्षाः ६
डियरवाक सिफल स्कुल
Liked by: