विषय प्रवेश:
कृष्ण धरावासीद्वारा लिखित राधा उपन्यास २०६२ सालमा साझा प्रकाशनद्वारा प्रकाशित एक लीला लेखन हो । यस उपन्यासमा पौराणिक विषयवस्तुलाई आधुनिक चश्माले हेर्ने प्रयास गरिएको छ। यस उपन्यासले २०६३ सालको मदनपुरस्कार प्राप्त गरेको थियाे । उपन्यासमा कृष्ण, सूर्यजस्ता दैविक पात्रलाई कथामा सामान्य व्यक्तित्वको रूपमा लिइएको छ। पुराणहरूमा बिचमा छोडी राम्रोसित पनि उल्लेख नगरिएकी राधाको लेखकले यस उपन्यासमा उसको जन्म, बालापन र यौवन एवम् मनोविज्ञानलाई प्रस्तुत गर्दै राधाको आत्मकथा लेखेका छन् । अरु थुप्रै इतिहासमा दबिएका, हेपिएका, उल्लेख नगरिएका तर महत्त्वपूर्ण भूमिका रहेका नारी पात्र जस्तै यशोदा, कलावती, रुक्मिणी, द्राैपदी, एकनंशाको कथा र उनीहरूको मनोविज्ञान, तपस्या, त्याग, समर्पणलाई उपन्यासमा देखाइएको छ । यो उपन्यास पाँच अध्यायमा विभाजित छ ।
कथावस्तु:
झापाको कीचकवध एक ऐतिहासिक ठाँउमा उत्खननबाट एउटा बक्सा फेला पर्यो । त्यो उत्खनन हेर्न लेखक पनि झापा पुग्छन्। उत्खनन बक्सामा पत्रहरू भेटिन्छन् र त्यी पत्रहरूमा लेखिएको अक्षर कसैले बुझ्न् सक्दैनन। केही दिनले त्यहीँ बसिरहेका एक ज्ञानी बाबालाई लेखकले बोलाउँछन् र पत्र पढ्न लगाउँछन् । अचम्म! कसैले नबुझेको त्यो पत्र भने त्यी बाबाले खररर.. पढ्न सके। सबै स्थानीय, पत्रकारहरू बसेर बाबाले पढेको त्यो पत्रको कथा सुन्न थाल्छन् र कथा यस प्रकारको छ।
कृष्ण चन्चले, चकचके र बाठो स्वभावका थिए । उनी एकदमै आकर्षक व्यक्तित्वका थिए, जो गोप र गोपिनीहरूबिच अत्यन्त प्रिय थिए । उनको बोलीले सबै गोपिनीहरू उनीप्रति मोहित हुन्थे । त्यसमध्य एक थिई, व्रजका मुखिया वृषभानुकी छोरी राधा | राधा एकदमै सोझी, लजालु प्रवृत्तिकी थिइन्, जो कृष्णलाई आफ्नो सर्वस्व ठान्थी। कृष्णले चैत्रशुकल त्रयोदशीको रात गोपिनीहरूलाई मात्र आमन्त्रण गरी रात्रीवनभोजको आयोजना गरे। सबै गोपिनीहरू आफ्नो परिवारलाई छलेर त्यहाँ पुग्छन् । त्यस रातका केन्द्रिय पात्र थिए, कृष्ण । जो कोही उनको नजिक हुन चाहन्थे। कृष्ण र राधाको नजिकता राधाकी प्रिय सखी सुशीलाले भने खपन सक्दिन र भोलिपल्ट नभएको नभएको कुरा थपेर राधाको चरित्रमाथि औँला उठाउदै कृष्णसँग उसको नाम जोड्दै रातको सब कुरा आफ्नो आमालाई बताउँछे । आमाले यही कुरा बुबा चन्द्रभानुलाई सुनाउँछिन् र बिस्तारै व्रजभरी पनि फैलिन्छ। चन्द्रभानुले यही कुरालाई अवसर बनाउदै व्रजका केही पुरुषसँग मिलेर वृषभानुलाई गोकुलको राजाको पदबाट हटाउन सक्दो दबाब दिए । राधाको चरित्र माथि भने औंला उठे । गोपिनीहरूलाई अभिभावहरूले घर मै बन्दी बनाएर राखे र राधालाई पनि घरमा बन्दी जस्तै गरी राखियो । उसलाई सबै साथीहरूबाट बञ्चित गराइयो।
केही दिनपश्चात् कृष्णले एक कसैले नचिन्ने सुन्दरीको भेष लिएर राधाको साथी भनि दरबार प्रवेश गरी राधालाई भेट्न थाले । बिस्तारै यो कुरा पनि व्रजमा फैलियो । यो पटक व्रजका पुरुषहरूले राधा माथी मात्र नभएर कृष्णकी आमा यशोदाको सतीत्वमाथि औँलो उठाए । कृष्ण निरास भएर बाँसुरी बजाइरहेको बेला गर्ग ऋषि आएर कृष्णलाई उसको जन्मकथा बताए । वास्तवमा कृष्ण नन्दराय र यशोदाको पुत्र नभएर वसुदेव र देवकीको पुत्र रहेछन् । वसुदेव र देवकीको आठौं पुत्रले कंसलाई मार्ने थाहा पाएपछि कंसले आफ्नै बहिनी-ज्वाइँ देवकी र वसुदेवलाई बन्दी बनायो र उनीहरूको जन्मिसकेका हरेक सात पुत्रलाई मार्यो। उनीहरूको आठौं पुत्र कृष्णलाई वसुदेवले देवकीलाई थाहै नदिई आफ्नो साथी नन्दरायको भर्खर जन्मिएकी पुत्री एकनंशासँग साटेछन्। नन्दरायले पनि यशोदालाई यो कुरा थाहै दिएनन्। एकनंशालाई दया गरेर कंसले त्यही दाशीहरूको लालनपालनमा राखिदिएछ।
परिस्थितिको विचार गर्दै, साथै छोराहरूको विद्या अध्ययनको लागि नन्दरायले कृष्ण र बलरामलाई मथुरा पठाए । उनीहरू गएपछि कंसले कृष्ण र कृष्णको परिवारलाई दरबारमा आमन्त्रण गर्यो । राधाबाट सुनेकी कृष्णको जन्मकथा जब कलावतीले वृषभानुलाई सुनाइ, वृषभानुलाई त हृदयघात नै आयो । वृषभानु पक्षघात भई थला परे । यशोदालाई भने ठूलो अघात पुग्यो । आफ्नो सन्तान भनेर हुर्काएको बच्चा अर्काको रहेछ भने आफ्नी छोरी मृत्युको मुख छे भनेर थाहा पाउँदा त ऊ छानाबाट नै झरी । वृषभानुको पद सम्मालने स्थिति नभएकोले राधाले कंससँग भेटगरी वृषभानुको सट्टा उसले व्रज सम्हाल्ने निर्णय गर्छे। उता भने कंसको मन्त्री अक्रुजी र ऋषि गर्गले कृष्ण र बलरामको मद्दत गर्दै कंस विरुद्ध युद्धको तयारी गरिरहेका थिए । गोकुलका प्रायः सबै युवायुवतीले युद्धमा भाग लिए । त्यसमा सुशीलाले आफूले कृष्ण प्राप्तको लागि राधालाई गरेको व्यवहारको प्रायश्चित गर्नका लागि युद्धमा भाग लिई । युद्धका क्रममा सुशीलाले बहादुरीका साथ लडेर वीरगति प्राप्त गरी । अन्त्यमा कृष्णले कंस माथि जित हासिल गरेर आफ्नो बन्दी भएका बुबा आमालाई पनि मुक्त गराए । सबै गोकुलवासी कृष्णलाई भेट्न गए तर कृष्णले धेरै चोटी बोलाउँदा पनि राधा गइनन् । युद्धकालमा कृष्ण वृन्दावन वरिपरि आउँदा पनि राधासँग भेटेका थिएनन्। कृष्ण पनि सत्ता सुखमा मग्न भए र आफू जन्मेको, हुर्केको ठाँउ एकचोटि पनि गएनन्।
कृष्णले द्वारिका नगरको निर्माण गरेर उतै राजधानी सारे । उनले राधाको यादमा 'राधाभवन' भनेर द्वारिकामा छुट्टै भवन निर्माण गराएका थिए । सबै वज्रका मान्छे द्वारिका घुमेर आए तर राधा चाहिँ कृष्णलाई कुरेर वृन्दावनमा नै बसिन्, द्वारिका गइनन् । कृष्णले उत्ता रुक्मिणीलाई मन पर्याई,रुक्मिणीको बिहेको दिन उसलाई अपहरण गरी बिहे गरे । कृष्णलाई कुरेर बसेकी राधालाई यसले ठूलो चोट पुर्यायो। संसारी मोह त्यागी राधाले वैष्णवी धारण गरी विशाखा साथ तीर्थ यात्रामा लागिन्।
अनेकौं दुःख कष्ट पार गरी उनीहरू एकदिन सासु बुहारीको घरमा वास बसे। पिल्ली (बुहारी) लाई टाढाबाट पतिले लिएर आएको रहेछ। बाबुछोरा जङ्गलमा सिकार गर्दा मरेछन् र उनीहरू दुई सासु बुहारी एकलै बसिरहेका रहेछन् । बुहारी भने सासुलाई कुरेर हेरचाह गरि बसिरहेकी रहिछ तर सासुले बुहारीको राम्रो भविष्यको लागि जबरजस्ती र बुहारीलाई राधाको साथ जान आग्रह गर्छिन् ।यसरी राधा, पिल्ली र विशाखा सिद्धाश्रम हुँदै द्वारिका जान्छन् । उनीहरूले त्यहीँ सिद्धाश्रम धाममा कृष्णलाई भेटछन् र कृष्णसँगै द्वारिका जान्छन्।
कृष्ण राधालाई द्वारिकामा व्यस्त भएको र भेट्न नसकेको, १६१०८ पत्नि बिहे गर्नुको कारण, सबै कुरा खुलाउँछन् र राधाभवनमा सधैको लागि बस्न आग्रह गर्छन् । एकदिन एकनंशा आफ्नो कृष्णमाथिको आक्रोश राधालाई बताउँछिन र राधालाई त्यहाँ द्वारिकाबाट जाँदा नै उचित हुन्छ भनेर बताउँछिन्। राधा पनि त्यहाँ अरु स्त्री नबन्ने र कृष्णको १६१०९ पत्नि हुन नचाहने भएकाले त्यहाँबाट फेरि पिल्लीसँग आफ्नो तीर्थ यात्रा सुरु गर्छिन्। द्वारिकाबाट हस्तिनापुर हुँदै राधाको तीर्थयात्रा सुरु हुन्छ । कोपनगरमा राधाले यो सम्पूर्ण वृतान्त लेखिन्। धेरै वर्षपछि कृष्णको पत्र पाएपश्चात् उनीसँग भेट गर्न राधा राजा वीरसिंहसँग कुरुक्षेत्र जान्छिन्। बाबाले सबै पत्रहरू सुनाएपछि आफै पनि केही पत्र नहेरी कथा सुनाउन थाल्छन् । कुरुक्षेत्रको रूप देखेर राधा बेहोस भइन्। बाबाले महाभारतको कथा पनि सुनाएँ । त्यी अरु कोही नभई आठौं चिरञ्जीवी द्रोण पुत्र अश्वत्थामा रहेछन् ।
मूलभाव:
उपन्यासमा पितृप्रधान समाजमा रहेका नारीको अवस्थाको चित्रण गरिएको छ । नारीहरूलाई खेलौना र घरको गहनाका रुपमा लिइन्छ। जसरी कंसले देवकीको आठौँ पुत्र नजन्मेर पुत्री जन्मदा पुत्री हो भनेर दया गरि छोडिदिन्छ । त्यस्तै नन्दरायले छोराको लोभमा आफ्नै भखर जन्मेकी सन्तानलाई कंसको मृत्युको मुखमा लगेर छाडिदिन्छन् । त्यही एकनंशा जसले कृष्णलाई मृत्युको मुखबाट बचाएकी थिई । उसैलाई मृत्युको मुखमा कृष्णले धकेलिदिन्छ। कृष्ण चाहिँ छानी छानी १६०१०८ पत्नीसँग बिहे गर्छ भने कृष्णले एकनंशालाई नसोधी, उसको इच्छा नबुझी एक अत्यन्तै क्रोधी ऋषि दुर्वासा जस्ले आफ्नै पत्निले तर्कमा हराएकाले उसलाई जलाएको र जो श्राप दिन एकदमै प्रख्यात छन् । त्यहीँ व्यक्तिसँग बिहे गराइदिन्छ। एकनंशा जो मथुरामा हुँदा शान्त, केही पनि चेतना नभएकी थिई, ऊ पछि एकदमै आक्रोशजनक भएकी छ । एकनंशासँग त जन्मिदै अत्यचार हुँदै गयो । यसरी नारीहरूमाथी जन्मसाथ अत्याचार गरिन्छ।
राधा यस कथाको मुख्य पात्र हुन् । राधा सानैदेखि सोझी र लजालु प्रवृतिकी छिन् । उसले कुनै पनि छल नगरी आफ्नो जीवन कृष्णको लागि समर्पण गरेकी थिई। कृष्णलाई भेट्न जाने कि नजाने जस्ता विविध कुरा लिएर राधाको मनमा धेरै उतावचढाव आएको छ। यो पढ्दा पहिला राधाले किन कुनै निश्चित निर्णय नलिएको वा उसको मन किन स्थिर नरहेको भनेर रिस नै उठ्छ तर गहन तरिकाले हेर्ने हो भने यी राधाको अस्थिरता सामान्य लाग्छ । जसरी हामी नै कुनै निर्णय लिने बेला हाम्रो मनमा कति प्रश्नहरू उठ्छन् र कहिलेकाहीँ त कुनै निश्चित निर्णय पनि लिन सक्दैनौँ । राधा पनि एक मानव हो र उसको मनमा यी अन्तर्द्वन्द हुनु सामान्य नै हो । त्यस्तै राधा पुरुष प्रधान समाजमा जन्मेकी छ, उसको हरेक निर्णयलाई समाजले मूल्याङ्कन गरी नै रहेको हुन्छ । राधाले नारी भएर सम्मानजनक जीवन बिताउन धेरै सोच विचार त गर्नु नै पर्छ । समयसँगै राधाको चरित्रमा धेरै नै परिवर्तन आएको छ। समयसँगै राधामा धैर्यता र स्थिरताको विकास भएको छ र समाजलाई पनि गम्भीर रुपले हेर्ने भएकी छ ।
निष्कर्ष:
हामी पुराणहरू पढ्दा यदि नारीहरूमाथि अत्यचार भएको छ भने कति सामान्य तरिकाले हेर्ने गर्छौँ । जस्तै महाभारतमा द्रौपदी पाँच पुरुषको पत्नी हुन बाध्य हुन्छिन् । तर कसैले पनि यस माथि प्रश्न उठाउने ज्येष्ठा गर्दैन । नन्दरायले आफ्नो सन्तानलाई मृत्युको मुखमा लगेर कृष्णको ज्यान बचाँउछ । यदि नन्दरायको छोरा भएको भए उसले आफ्नो सन्तानलाई मृत्युको मुखमा छोड्थ्यो होला र? आफ्नै सन्तानलाई मृत्युको मुखमा लग्ने बुबाको हामी कसरी कृष्णको ज्यान बचाउने महान पुरुषका रुपमा लिन सक्छौँ । आफ्नै सन्तान भनेर हुरकाएको सन्तान अर्काको रहेछ भनेर थाहा पाउँदा त्यो आमामा के बित्यो कसैले सोच्यो ? हाम्रै पौराणिक ग्रन्थहरूले नारीको विचार र धारणा प्रस्तुत गर्दैन र उनीहरूलाई कमजोर ठहराउछ तर पनि हामी त्यसैलाई अवलमबन गर्छौँ । जब हामी यस्ता कुरालाई सामान्य रुपमा लिइरहेका छौँ भने तब सम्म हाम्रो सोचमा परिवर्तन आउने छैन । हुन त बितिसकेका घटना र पौराणिक विष्यवस्तुले समाजमा के चाहिँ असर पर्ला र ! तर हाम्रो समाज इतिहासकै चालचलन, संस्कृति कै प्रतिफल हो हम्रो समाज । त्यही भएर यस्ता विष्यवस्तुलाई अध्ययन गर्न जरुरत छ । यस उपन्यासले हामीलाई कुनै पनि कुरालाई सामान्य रुपमा नलिएर त्यसको सत्यताको खोजी गर्न प्रेरणा दिन्छ ।
मीमांसा आचार्य
कक्षा १२
डियरवाक सिफल स्कुल
Liked by: