‘साँझको सङ्गत’ कवि प्रकाश रम्घालीद्वारा रचित सुन्दर गद्य कविता सङ्ग्रह हो । ४४ वटा कविताहरूले सजिएकाे यो कविता सङ्ग्रहमा हरेक कविताका आआफ्नै विशेषता रहेका छन् । बिम्ब प्रतीक र अलङ्कारको सुन्दर प्रयोगले पनि उत्तिकै सजिएकाे छ । सरल सुत्रात्मक भाषाशैली प्रयोग गरेर बाल बालिका, युवयुवतीलाई, तथा वृद्ध हुने गरी लेखिएको यो कविता सङ्ग्रहले विशेषगरी राष्ट्र र व्यक्तिगत आत्मिक प्रेमलाई प्राथमिकता दिँदै शासक, प्रकृति, नारी शक्ति आदि विविध विषयहरूलाई केन्द्र मानेर कविता सिर्जना गरिएको छ। यो कविता सङ्ग्रहको हरेक कविता पाठकका लागि त्यति नै रोचक र आनन्दमय भाव साथ रचिएको छ। कवि रम्घालीद्वारा लेखेको यो कृतिहरुले बिम्ब र प्रतीकको पुलबाट विभिन्न ज्ञानको मिठासहरू प्रस्तुत गरेको छ ।
साँझको सङ्गत कविता सङ्ग्रहमा विशेषगरी प्रेमका कविता छताछुल्ल रुपमा पाउन सकिन्छ । कविद्वारा लेखिएका कविताहरूमध्ये प्रेमका कविताहरू यी हुन्: तिमी भएर, तिमीले नसम्झिए पनि, प्रेमका अक्षरहरू, तिमी जस्तो हुनु छैन, अप्राप्ति सम्झँदा सम्झँदै, तिम्रो अञ्जुलीभरि आदि। अर्थात् मैले एकदमै रुचाएका दुईटा प्रेमका कविताहरूलाई तल विश्लेषण गरिएको छ:थाहा हुँदैन तिमीलाई सम्झिएको दिन-
कति बेला पैतालामा पुगेर अस्ताउँछ घाम ?
कति बेला खाटबाट खसेर टुक्रन्छ आकाश ?
(पृष्ठ:४२, कविता: तिमीलाई सम्झिएको दिन )
उपर्युक्त कवितांशमा प्रेम र सम्झनाका कारण उत्पन्न हुने भावनात्मक पक्षलाई गहिराइसँग मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । मेरो विचारमा यस कवितांशमा कविको व्यक्तिगत आत्मिक प्रेमको सम्झनालाई एकदमै प्रतिकात्मक मनमोहक रूपमा संवेदनशीलता साथ झल्काइएको छ । यी पङ्क्तिहरूमा प्राकृतिक रूपमा आफ्ना भावनाहरूलाई अभिव्यक्त गरिएको छ । उदाहरणमा पैतालामा पुगेर अस्ताउँछ घामले मनमा हुने विभिन्न विचलनलाई सङ्केत गर्दै सूर्यको माध्यमबाट भावनालाई अभिव्यक्त गरिएको छ । अर्थात् यो कवितांश तिमीलाई सम्झिएको दिनबाट साभार गरिएको हो ।
हृदयको अप्ठ्यारो बाटो हिँडेर
न तिमी आउन सक्छ्यौ /न म आउन सक्छु
- बाटो हो प्रेम
नहिँडेपछि झार पलाउँछ
झन् हिँड्दै नहिँडेपछि बाटो नै हराउँछ ।
(पृष्ठ:४२, कविता:अप्राप्ति)
उपर्युक्त कवितांशमा प्रेम वा सम्बन्धलाई बाटोसँग तुलना गरेर प्रेम वा सम्बन्धलाई सुरक्षित रहने क्रममा धेरै चुनौतीहरू आउन सक्छ भनेर पनि सङ्केत गरिएको छ । प्रेमको महत्त्व र कठिनाइहरूको वर्णन माथिका पङ्क्तिहरूमा गरिएको छ। यस पङ्क्तिमा
"हृदयको अप्ठ्यारो बाटो हिँडेर न तिमी आउन सक्छ्यौ /न म आउन सक्छु "
हृदयको कठिन मार्गको बारेमा वर्णन गरिएको छ । जसले प्रेमको यात्रा बाधाहरू भरिएको छ भन्ने सङ्केत गर्दछ । तिमी र म दुवैले आफ्नो अवस्थाका कारण एकअर्कासम्म पुग्न नसक्दा कठिनाइको सामना गर्नुपर्ने भाव देखिन्छ ।
“नहिँडेपछि झार पलाउँछ झन् हिँड्दै नहिँडेपछि बाटो नै हराउँछ”,
पङ्क्ति प्रभावको बारेमा हो, जुन तब आउँछ जब व्यक्तिले आफ्नो गल्तीको कारण आफ्नो प्रेमको बाटो बचाउन सक्दैन। प्रेमको बाटो छोडियो भने झारपात बढ्छ, बाटो अवरुद्ध हुन्छ । अझ हिँड्दै हिँडेन भने प्रेमको बाटो पनि हराउनेछ भन्ने कुरा यो पङ्क्तिले विश्लेषण गर्छ । अन्त्यमा, यो कविता प्रेमको महत्त्व र त्यसमा आउने कठिनाइहरूको बारेमा हो। अर्थात् यो कविता अंश अप्राप्तिबाट साभार गरिएको हो ।
त्यसैगरी राष्ट्रप्रेम कविताहरू यो कविता सङ्ग्रहमा छताछुल्ल छ । जस्तै: बहिनीको मान्छे, मोर्चाबाट, लाहुरे सङ्गीत, राष्ट्रिय गीत, असुरक्षित सहर आदि । अर्थात् मैले एकदमै रुचाएका दुईटा राष्ट्रिय सम्बन्धी कविताहरूलाई तल विश्लेषण गरिएको छ:
यसो त-
आफ्नै छायाँको काँधमा हात राखेर
पर्खिरहेको छ बूढो घर
र,
आमा सम्झिएर-
दम, सुगर र प्रेसरका रोगहरू छोराछोरीहरूझै भेट्न आउँछन् ।
(पृष्ठ :३०,कविता: गाउँसँग अब गाउँका गीतहरू छैनन् )
उपर्युक्त कवितांशमा विभिन्न बिम्ब र प्रत्येकहरूको माध्यमबाट समकालीन केवल गाउँका मात्र नभईकन राष्ट्रका अवस्थाहरू बारेमा गहिरो संवेदनशीलता साथ वर्णन गरिएको छ । यो पंक्ति "आफ्नै छायाँको काँधमा हात राखेर" घरको प्रतीकको माध्यमबाट आफ्नै छायाँमा डुबेका र विदेशमा रहेका आफ्ना छोरा छोरीहरूको पर्खाइमा बस्ने वृद्ध समूहको एक्लोपनको अनुभूतिलाई व्यक्त गरिएको छ। "पुरानो घर" ले देश र मानिसहरूको पुरानो र जीर्ण अवस्थालाई जनाउँछ, जसले विदेशमा रहेका उनीहरूको परिवारको लामो पर्खाइलाई पनि जनाउँछ। यो कविताको श्लोकले हाम्रो मौलिक संस्कृति र सभ्यता लोप भएको र बिस्तारै बिस्तारै देश पनि लोप हुँदै गएको विगत अवस्थालाई मार्मिक ढङ्गले प्रस्तुत गर्दछ। अर्थात् माथिको कवितांश गाउँसँग अब गाउँका गीतहरू छैनन् कविताबाट साभार गरिएको हो।
ओइलिएर झर्दैछन् गुराँसका फूलजस्ता ताराहरू
निषेध गर्दैछ बाटोले मानिसका आदिम पाइला
चराहरूको पखेटाजस्ता विचारहरू काटेर
कुन युगलाई सम्बोधन गर्दैछ यो नपुङ्सक समय ?
(पृष्ठ :२९, कविता:राष्ट्रिय गीत )
उपर्युक्त, कवितांशमा राष्ट्रियको यथार्थलाई वर्णन गरिएको छ l राष्ट्रमा भएको विसङ्गतका प्रसङ्गहरू, संस्कृति लोप हुँदै गएको कुराहरू र संस्कृतिलाई अपचलन गरेको यो निष्क्रियता समयको बारेमा संवेदनाशीलता साथ प्रस्तुत गरिएको छ । माथिका पङ्क्तिहरूले समसामयिक परिप्रेक्ष्यमा जनताको क्रूरता र प्राकृतिक नियमहरू विरुद्धको व्यवहारले प्रकृतिलाई पनि विभिन्न विपत्तिहरू ल्याएर विद्रोह गर्न बाध्य तुल्याएको छ । साथै अनैतिक क्रियाकलापका कारण मानिसले सांस्कृतिक प्रभाव र सिकाइलाई नष्ट गरेको सन्दर्भ पनि वर्णन गरिएको छ । अर्थात् त्यो माथिको कवितांश राष्ट्रिय गीतबाट साभार गरिएको हो।
निष्कर्षः
यो कविता सङ्ग्रहले हरेक पाठकलाई कविता मध्यका पद्य कविताहरूका अस्लि मिठास, कविता भित्र लुकेको हुने भाव आदिलाई पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्छ । यस कविता सङ्ग्रहले पद्य कविताअन्तर्गत रहेका विम्बो प्रतीक अलङ्कार र काव्य अन्तर्गत कविताका विभिन्न गहनाहरू बारे अध्ययन गर्ने र सिक लिने अवसर पनि दिन्छ। यसको साथसाथै साहित्य अन्तर्गत कवितामा रुचि राखेका पाठक वृन्दहरूलाई गद्य शैलीमा कविता कसरी रचना कसरी गर्न सकिन्छ भन्ने ज्ञान पनि यो कविता संग्रहले दिन्छ । मेरै उदाहरण लियो भने, म साहित्यअन्तर्गत कवितामा रुचि राख्ने व्यक्ति भएकाले यो कविता सङ्ग्रहलाई दृष्टान्त लिएर मैले पहिलो गद्य कविताको रचना गरेँ ।
अन्त्यमा विषय विविधता भएको यो पुस्तकले विशेषगरी राष्ट्र र प्रेम बारेमा छताछुल्ल पारेको छ । यो पुस्तक प्रत्येक उमेर समूहका लागि पढ्न योग्य छ । फलस्वरूप यो पुस्तक म सबैलाई सिफारिस गर्दछु ।
श्वेता घिमिरे
कक्षा : १२ ‘लाेबुचे’
डियरवाक सिफल स्कुल
Liked by: