हिजोका मानव आज महामानव बन्ने यात्रामा छलाङ मार्दै
छलाङ्ग’ दिलिप ढकालद्वारा लिखित एक औपन्यासिक कृति हो । यो पुस्तक एक काल्पनिक उपन्यास मात्र नभएर नेपाली समाजको प्रतिबिम्ब र देशले समता र समृद्धिको वास्तविक छालङ्ग मारोस् भन्ने चाहनाको अभिव्यक्ति हो । चार जात र छत्तीस वर्णमा वर्गीकृत भएका नेपालीहरूमा संस्कृति र परम्पराको हिसाबले धेरै विविधता छ तर भिन्नतासँग, भेदभाव उत्पन्न हुन्छ ।
नेपाली जनसङ्ख्या विभिन्न वर्गमा बाँडिएपछि विभेदको उत्पत्ति हुन धेरै समय लागेन र केही समयपछि यसले विचित्र रूप धारण गर्यो । एकले अर्कोलाई फरक जातको ठानेको कारण मानिसहरूले एकअर्कालाई छुन पनि अस्वीकार गर्न थाले ।”
यो हाम्रा बाउबजेले मानी आएको गरेको चलन हो” भन्ने मानिसहरूको कारण छुवाछुत र भेदभावले समाज भित्र गहिरो जरा फैलायो तर परम्पराको नाममा यस्ता घिनलाग्दो प्रचलनलाई नमान्नेहरूले चाहिँ विद्रोह गर्न थाले । प्रभात कथाको यस्तो पात्र हो जसले विद्रोह गर्न रोज्छ र मानवी समाजले तोकेको सीमाना विरुद्ध लड्न खोज्ने नारी प्रभातबाट प्रेरित छिन् र उनी पनि समाजले कोरेको सीमानामा बस्न रोज्दिनन् ।
जसलाई हामीले हाम्रा सपनाहरू प्राप्त गर्ने कुञ्जी ठान्थ्यौं, जसले अन्ततः हाम्रो आशालाई धोका दियो र नेपालीहरूले फेरि एकपटक आफ्ना सपनाहरू भंग गरे। यो उपन्यासले हाम्रो देशको परिवर्तनको सबैभन्दा महत्त्वपूर्ण अवधिको कथा बताउँछ, जहाँ माओवादीले सबै कुरा आफ्नो हातमा लिएको थियो र त्यसको परिणाम र अपेक्षाहरू पूरा गर्न नसकेका थिए।
पुस्तकमा लैङ्गिक भेदभाव, जातीय भेदभाव र छुवाछुतजस्ता संवेदनशील विषयमा धेरै चर्चा गरिएको छ । कथाका दुई मुख्य पात्र, प्रभात र मानवी सधैँ आफ्नो विश्वास र समाजले तय गरेको सीमाको बीचकाे घेरामा लडिरहन्छन्, जुन म आफै पनि एक नेपाली भएको कारण निकै सान्दर्भिक लग्यो ।
बाहुनले कामीलाई छुनु हुन्न, घरमा कामीलाई कोठा दिनु हुन्न जस्ता सोचाइलाई अझै पनि हाम्रा हजुरआमा हजुरबुबाको मानसपटलबाट हटाउन गार्हो पर्छ । यस्ता विचारहरू विरुद्ध लड्न खोजेमा त्यही पुरानो “पुर्खाहरूले मान्दै आएको चलन क छोड्नुहुन्छ ” भनेर कुरा टारिन्छ । पुस्तकले मुख्यतः पोखरा, स्याङ्गजा र वरपरका स्थानहरूका यस्तै राजनीतिक र सामाजिक अवस्थाहरूकाे अन्वेषण गरेको छ ।
एउटै गाउँका तर फरक जातका प्रभात र मानवीले समाजले तोकेको रूढीवादी सीमाबाट मुक्त हुन चाहने युवा नेपाली पुस्ताको प्रतिनिधित्व गर्छन् । यी पात्रहरूले पटक पटक आफ्नो चाहना र आफ्नै समाजको मापदण्डहरू बीच कुनै एकलाई रोज्नु पर्ने दोधारमा पाउँछन् ।
प्रभात उच्च जात र सम्मानित परिवारको छोरो हुन्छ, जसले आफूले चाहे सजिलै आरामदायी जीवन बिताउन सक्थ्यो । पढाइमा अब्बल र मिलनसार प्रभातलाई कष्टपूर्ण जीवन बिताउन केही बाध्यता थिएन तर प्रभातका विचारले उसको जीवनलाई जटिल बनाउछन्। मानिसहरू केवल मानिसहरू हुन् र "उच्च जाति" र "निच जाति" को उपाधिले कोहि ठुलो र कोहि सानो हुदैन वन्ने चेतना उसमा बाल्यकाल देखिनै छ। बाल्यकालमा उसले आफु वरिपरिको भेदभावको बारेमा केवल प्रश्न मात्र गरिरह्यो तर तन्नेरी भएपछि उसले यस विरुद्ध लड्न थाल्यो। समानताको यो लडाइमा उ धेरै पटक पराजित भयो, तर उसले कहिल्यै हरेस खाएन र समतामुलक समाजको आफ्नो सपनालाई पछ्याउन जारी राख्यो । समाज विरुद्धको यो लामो लडाइँमा मनवी प्रभातको सहयोगी बनेर उभिएकी छिन् । प्रभात सँधै समाजमा भेदभाव नदेखेको नाटक गर्ने र समाज परिवर्तन नहोस् भन्ने चाहना राख्नेहरूका विरुद्ध ज्यान दिएर लडेको छ । मानवीले प्रभातलाई एक आदरणीय दृष्टिले हेर्छे र प्रभातको लागि चिन्तित हुन्छे।
यो उपन्यासले हाम्रो नेपाली समाजमा विद्यमान सामाजिक समस्याको धेरै चर्चा गरेको छ । हाम्रो देश सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बेला धेरै परिवर्तनहरू आयो । तर दशक लामो माओवादी विद्रोहले ल्याएको परिवर्तनले जनताको आशालाई सम्बोधन गर्न सकेन । माओवादीले वाचा गरेको समानताको समाजको कल्पना गर्ने प्रभातजस्ता जनताको सपना सरकार विरुद्धको लडाइँ जित्दा पनि यथार्थमा परिणत हुन सकेन । यसले आम जनतामा ठूलो निराशा ल्याएको छ ।
आर्थिक अवस्थाका कारण नेपालीहरू कसरी विदेश जान बाध्य छन् भन्ने पनि पुस्तकले देखाएको छ । आफ्नो देश र आफन्तबाट छुट्टिन नचाहने भए पनि परिवारको हेरचाहका लागि मानवीयजस्ता हजारौं नेपालीले आफ्नो र आफ्नो परिवारको पाल्नका लागि रोजगारीको खोजीमा विदेश जान बाध्य छन् । आफ्नो देशको सेवा गर्न, गरिब र असहायको लागि आफ्नो देशलाई राम्रो ठाउँ बनाउन चाहनेहरू आफ्नो परिवारको खातिर अधुरा सपना लिएर जान बाध्य छन् । मानवीको कथा जस्ता धेरै अकथित कथाहरू छन्, जहाँ देशको सेवा गर्न चाहनेहरूले आफ्नै परिस्थितिले गर्न सकेनन् ।
विकास सम्भव बनाउनका लागि आवश्यक पर्ने सीप र स्रोतहरू हामीबीच पहिलेदेखि नै रहेको हुँदा सबैले मिलेर काम गरे विकास सजिलै हुन सक्छ भन्ने कुरा कथाले राम्रोसँग बुझाएको छ । हामीलाई के चाहिन्छ एक उचित नेतृत्व हो, जुन मानवीले उनको टोलको विकासको लागि खेलेको भूमिका थियो । उचित योजना र सङ्गठनको माध्यमबाट उनले आफ्नो टोललाई अन्य गाउँलेहरूका लागि अनुकरणीय स्थानमा परिणत गर्न सक्षम भइन् जुन गाउँका लागि मात्र होइन हाम्रो देशको लागि पनि सत्य हो। हाम्रो देश विकासका लागि वैदेशिक सहायता र सहयोगमा धेरै निर्भर देखिन्छ तर हाम्रो सरकारले विकासका गतिविधि सञ्चालनका लागि उपयुक्त योजना बनाएको भए हामीले आफ्नै रगत पसिनाले धेरै प्रगति गर्न सक्थ्यौं ।
जब मानवी विदेशीसँगकाे सहवासमा गर्भवती हुन्छे, पाठकहरूलाई पात्रहरू बीचको नैतिक दुविधाको परिचय गराइन्छ । गैर सम्बन्धबाट सन्तान लिएर फर्केकी मानवीलाई गमवीरले आफ्नो नैतिकता त्यागेको व्यक्तिको रूपमा अस्वीकार गरिन् । गम्भीरले यसैकारण मानवीसँगको नाता पनि तोड्यो । समाजबाट हार खाएकी मानवी प्रभाततिर फर्कन्छिन्, जसलाई उनले बुझेकी छिन् । प्रभातले समाजले तोकेको सिमानालाई सधैं इन्कार गर्ने व्यक्ति भएकाले आफ्नी साथी मानवी एक्लो अवस्थामा र सामाजिक बहिष्कार भएको अवस्थामा रहेको देखेर सामान्य जीवन जिउन सकोस् भनेर उनीसँग विवाह गर्ने प्रस्ताव राख्छ।
र अन्त्यमा,
यो कथा पात्रहरूको दुविधाको कथा हो, जनताको आशाले भरिएको कथा हो र के हुनुपर्थ्यो र के भयो भन्ने कुराको विश्लेषण हो । यस पुस्तकको कथा रोचक भए पनि यसका केही कमजोरीहरू छन् । कथा बारम्बार दोहोरिएको शृङ्खलामा गएको देखिन्छ । यति लामो समयदेखि बहिनीको रूपमा रहेकी मानवीलाई प्रभातले आफ्नी श्रीमतीको रूपमा स्वीकार गरेको व्यवहारिकतामा निकै शङ्कास्पद छ । यी कमजोरीहरूको बाबजुद पुस्तकले पाठकहरूलाई बलिया सन्देशहरू प्रदान गर्दछ । मेरा उमेर समूहका लागि आजभन्दा लगभग ३० वर्ष अगाडि देशकाे राजनीतिक र सामाजिक अवस्थाकाे अनुभूत गर्न सहयाेग गर्दछ ।
यावत मल्ल
कक्षा १२ ‘याला’
डियरवाक सिफल स्कुल
पुस्तकानुभूति : छलाङ उपन्यास
Liked by: